"/>

तेस्रोलिंगीको वास्तविकता ‘नसुनिएको आवाज’ मञ्चन

तेस्रोलिंगीको वास्तविकता ‘नसुनिएको आवाज’ मञ्चन

2.8k
SHARES

काठमाडौँ : एक जोडी तेस्रोलिंगी घरबाट बजार निस्कँदै छन्। केही समान किनेर ल्याउन निस्किँदै गरेको जोडीमाथि अपशब्दको वर्षा हुन्छ। केटीको लुगा लगाएका केटाको आवाज भएका….।

कुरा काट्न बसेका छन् तीन जना महिला। उनीहरूले यसअघि कहिल्यै केटीको भेषमा केटाको आवाज भएका व्यक्ति नदेखेको झैँ गरे। तथानाम गाली दिए। त्यो सहन नसकेर तेस्रोलिंगी जोडी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्ने अफिसमा पुग्छन्।

सडकमा निस्कँदा गालीगलौजको सामना गर्नुपरेकाले सम्झाइदिन अनुरोध गर्छन्। अफिसबाट गएका प्रतिनिधिले सम्झाउँछन्। राम १४ वर्ष वनवास जाँदा तेस्रोलिंगीलाई सम्बोधन नगरेको कुरा गर्छन्। फर्केर आउँदा पनि रामले जहाँ छोडेको त्यही बसेको देखेपछि पुरुष र महिलालाई सम्बोधन गर्दा बसेको थाहा पाउँछन्। तेस्रोलिंगीको अस्तित्व रामायणको पालादेखि नै थियो, कुरा नकाट्न अफिसका प्रतिनिधिले सम्झाउँछन्।

महिलाहरू पनि तेस्रोलिंगीको पहिचानबारे जानकार हुन्छन्। भन्छन्,’अब कुरा काट्दैनौ।’ तेस्रोलिंगी जोडीको वास्तविकता कुरा काट्नेमा मात्रै भने सीमित छैन।

उनीहरू बजार निस्कन्छन्। त्यहाँ उनीहरूको समलिङ्गी जोडीसँग देखादेख हुन्छ। होटेलमा गएर बस्ने कुरा हुन्छ। त्यसै बेला प्रहरी पुग्छ। र, विकृति, विसङ्गति गरेको आरोपमा चौकीमा लगिन्छ। रातको समयमा सडकमा उभिएर यौन पेसा गरेको अभियोग उनीहरूमाथि लाग्छ।

उनीहरूको गुनासो फेरी अफिससम्म पुग्छ। अफिसबाट प्रहरीलाई फोन जान्छ। प्रहरीले अब आइन्दा सडकमा उभिएर अरू नागरिकलाई दुख नदिने सर्तमा कागज गराएर रिहा गर्छ। तेस्रोलिंगी जोडीको सङ्घर्ष यतिमा मात्रै सकिदैन।

उनीहरू अब रोजगारी गर्ने भन्दै बजारमा निस्कन्छन्। होटेलमा काम पनि पाउँछन्। होटेल सञ्चालिकाको राम्रो व्यवहारले उनीहरू ढुक्क हुन्छन्। तर, श्रीमान्, छोरा र छिमेकीले तेस्रोलिंगीलाई काममा नराख्न दबाब दिन्छन्। तेस्रोलिंगी भएकै कारण कामबाट निष्कासित हुन्छन्।

मङ्गलवार कीर्तिपुर नगरपालिकाको कार्यालय अगाडि ‘हाम्रो नसुनिएको आवाज’ नाटक मञ्चनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वास्तविकता देखाइयो।

नाटकका निर्देशक सम्झना केसीले राज्यबाट कतै पनि सहयोग नपाउँदा समुदायका व्यक्तिहरू मर्ने अवस्थामा पुगेको बताइन। उनले राज्यले आफ्नो समुदायको वास्तविकता बुझेर सहयोग गर्नुपर्ने माग गरिन्।

कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा सडक नाटक मञ्चन गरेर तेस्रोलिंगी समुदायको वास्तविकता उजागर गरिएको आयोजक संस्था समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले बताए। उनले नाटक मञ्चन गर्न सहयोग गरेकोमा कीर्तिपुर नगरपालिकालाई धन्यवाद दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.