सुनसरी : कोशी प्रदेश सभाका सभामुख अमिर विष्टले अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र राष्ट्रको सम्पत्ति बन्नुपर्ने बताएका छन्। उनले वृत्तचित्रलाई पुस्तकका रूपमा प्रशासन गर्न निर्माता एवं निर्देशक सुनिलबाबु पन्तलाई सुझाव दिए।
अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र हेरेपछि सभामुख विष्टले नीति निर्माण गर्ने तहमा बस्नेहरूलाई देखाउन सके भावी दिनमा एउटा पुँजी हुन सक्ने बताए। ‘एउटा पुस्तक नै प्रकाशन गर्न सकियो भने यो देशकै सम्पत्ति हुन सक्छ। राष्ट्रको सम्पत्ति हुन सक्छ भन्ने मलाई लाग्छ,’उनले भने,’नीति निर्माण गर्ने तहमा बस्नु भएका प्रदेश सभा, गाउँ नगरपालिकाका जनप्रतिनिधिहरू, पत्रकार, अरू बुद्धिजीवीहरू राखेर यो वृत्तचित्रलाई अलि बढी व्यापक गर्न सक्यौ भने भावी दिनमा एउटा पुँजी हुन सक्नेछ।’
महिलाहरू त्यसमा पनि अल्पसङ्ख्यक यौनिक हिसाबले पछाडि परेका थर्डजेण्डर(तेस्रोलिंगी)का मानिसहरूसँग सम्बन्धित वृत्तचित्र ज्ञानवर्धक रहेको उनले बताए। ‘हामी पनि प्रदेश स्तरीय नीति निर्माण गर्ने, कानुन बनाउने ठाउँमा भएको नाताले केही न केही यसबाट ज्ञानवर्धक कुराहरू सिकिएला र उपलब्धि मूलक कुराहरू हुन सक्ला,’उनले भने,’यसले समाजलाई, राष्ट्रलाई काम दिने होला भनेर समय निकाल्दै आउने अवसर प्राप्त भयो।’
सभामुख विष्टले वृत्तचित्र हेरेपछि बुझेका तीन कुरा :
१. एउटा सांस्कृतिक धरोहरले भरिएको देश। धेरै जातिहरू, धेरै वर्गहरू, आआफ्नो संस्कारहरूलाई एकताको सूत्रमा बाँधेर अपनाउँदै आएको कुराहरू यो डकुमेन्ट्रीले देखाउन खोजेको छ।
२. दोस्रो परम्पराकालमा पनि खासगरि महिलाहरू र यौनिक हिसाबले पछाडि परेको वर्गहरूलाई हेपिने, थिचिने, अलि हेपाहा प्रवृत्ति देवीदेवताको पालामा पनि चल्दै आएको तर, त्यसको प्रतिकार त्यो बेलामा पनि हुने गरेको देखियो। यो डकुमेन्ट्रीबाट अहिले पनि त्यो वर्गमा रहनुहुने दिदीबहिनीहरूले आफू तल परिरहँदा, हेपिँदा थिचिदा, पिसिँदा आफ्ना अधिकारहरूका लागि र आफ्नो भाग्य भविष्य आफैँ निर्माण गर्ने कुरामा अलि दरो भएर प्रतिकार गर्न सक्नुपर्छ। उठ्नुपर्छ, जाग्नुपर्छ भन्ने सन्देश दिन खोजेको मैले बुझेँ।
३. तेस्रो हाम्रो जस्तो देशहरूमा तन्त्र मन्त्रहरूको पनि एउटा प्रभाव छ। यसमा हामीले कति विश्वास गर्ने नगर्ने यो एउटा छलफलको विषय छदै छ। म आफैँ पनि धामी, झाँक्री, बोक्सी, तन्त्र मन्त्रमा विश्वास गर्ने मान्छे होइन। तर, पनि त्यो पनि एउटा विधि छ। त्यो पनि एउटा शक्ति हो र त्यो शक्तिलाई हामीले एउटा उपासना गर्ने गरेका थियौँ। त्यो अहिले पनि काठमाडौँ उपत्यकामा र हाम्रो नेपालका धेरै ठाउँमा चलन छ भन्ने ढङ्गको तीन वटा शक्तिलाई यसमा देखाउन खोजेको मैले देखे। यसमा खासगरी यौनिक हिसाबले कसैले छुट्टाएको होइन। जन्मँदै हामी मेल, फिमेल, तेस्रोलिंगीका साथसाथै अरू पनि तीन वर्ग तर, अरू पनि वर्गको जन्म भएको छ, त्यसलाई सबै जातिहरूको, सबै वर्गहरूको उत्थान गर्नेतिर राज्य लाग्नु पर्छ, समाज लाग्नु पर्छ भन्ने देखाउन खोजेको छ। यो बनाउनु भएको छ, धन्यवादको पात्र हुनुहुन्छ।
वृत्तचित्र भित्रका चरित्रहरू फरक
वृत्तचित्र अवलोकनपछि दर्शकहरूले सांस्कृतिक परम्परागत धरोहरहरू सरसरती आँखाले हेर्दा भन्दा वृत्तचित्रभित्र बग्दै जाँदा त्यो भित्रका चरित्रहरू फरक देखिने प्रतिक्रिया दिए।
मातृसत्ता, पितृसत्ता र तान्त्रिक परम्पराका कुराहरू वृत्तचित्रमा रहेको उनीहरूले बताए। त्यसले लुकेको चरित्रलाई प्रस्तुत गरेको छ। ‘जुन प्रकारको मातृसत्ताबाट इतिहास उदाएको थियो,अहिले त्यो सत्तालाई पितृसत्ताले कसरी कब्जा गरेको छ,भन्ने सन्देश वृत्तचित्रले दिएको उनीहरूको प्रतिक्रिया थियो।
मातृसत्ता र पितृसत्तालाई समायोजन गरेर तान्त्रिक परम्पराले समाज र सांस्कृतिक धरोहरलाई जोगाइरहेको छ भन्ने सन्देश पनि वृत्तचित्रले दिन खोजेको उनीहरूले बताए। अहिले महिला र पुरुषको मात्रै अवधारणामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको कुराहरू पनि तान्त्रिक रूपमा पहिलेदेखि नै अङ्गालिएको वृत्तचित्रले देखाएको उनीहरूको प्रतिक्रिया थियो।
संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका निर्माता पन्तले उत्साहजनक प्रतिक्रिया प्रतिक्रिया सुनेर हर्षित भएको बताए। ‘मातृसतात्मक प्रथा यो काठमाडौँ केन्द्रित भयो। तर, यस्ता खालका इतिहासहरू, यस्ता खालका संस्कृतिहरू हिमाली भेगतिर अझ धेरै बाँकी नै छन्,’पन्तले भने,’त्यसमा थप काम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु।’
पन्तले सुदूरपश्चिममा वृत्तचित्र देखाउँदा महिनावारी भएका देवीहरू, रजस्वला भएका देवीहरूको पूजा नै हुने रहेछ भनेर थाहा पाएको प्रतिक्रिया प्राप्त भएको सुनाए। ‘अहिले हामीलाई किन छाउपडी राख्छन्?यो हामीलाई पितृसत्ताले नराम्रो खालको प्रचलनमा गाँजेको रहेछ,’दर्शकको प्रतिक्रिया सुनाउँदै पन्तले भने,’यसले हामीलाई धेरै ज्ञान प्राप्त गर्यो। यस्ता खालका कुरीतिविरुद्ध लड्नुपर्छ भन्ने प्रतिक्रियाहरू आए असाध्यै खुसी लाग्यो।’
८० मिनेट लामो यो वृत्तचित्रको इटहरीस्थित इलाइट सिनेमा हल र सिटी सिनेमा विराटनगरमा विशेष स्क्रिनिङ भएको छ। वृत्तचित्र अवलोकनका लागि सभामुखसँगै समाजसेवी सङ्गीता पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ देवीका भण्डारी, लिभ नेपाल अध्यक्ष सुशील पौडेल (स्वेच्छा), लिभ नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी प्रतिनिधि सिता राजधानी, महिला सञ्जाल सुनसरीकी अध्यक्ष योषा गुरागाईँ, इटहरी नगरका सचिव एडी राज लगायतको उपस्थिति थियो।
दमक नगरपालिकाका प्रतिनिधिहरू रिना आचार्य, समीक्षा रम्तेल, नेत्र न्यौपाने, स्मिता अधिकारी, सृजना थापा, बिपना बास्तोला, निश्चल दाहाल लगायतका व्यक्तित्वहरूले वृत्तचित्र अवलोकन गरे। स्क्रिनिङपछि वृत्तचित्रबारे आफ्नो धारणा राख्ने वक्ताहरूमा इटहरी उपमहानगरपालिका सामाजिक शाखा प्रमुख सङ्गीता पोख्रेल, लिभ नेपालका अध्यक्ष सुशील पौडेल स्वेच्छा र प्रमुख अतिथि सभामुख अमर बहादुर विष्ट रहेका थिए।
मायाको पहिचान नेपाल संस्थाले आयोजना गरेको यो स्क्रिनिङ निःशुल्क रहेको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन, युरोपियन युनियन इन नेपाल र स्विजरल्याण्ड राजदूतावासको सहयोगमा सम्पन्न कार्यक्रमले नेपालमा रहेका विविध सांस्कृतिक पक्षहरूको अध्ययन तथा लैङ्गिक पहिचानबारे थप अन्तर्दृष्टि प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।
यो वृत्तचित्र विराटनगरको सिटी सिनेमा हलमा पनि विशेष स्क्रिनिङ भएको छ। यसअघि काठमाडौँ, ललितपुर, कास्की, मकवानपुर, बाँके, कैलाली, सुर्खेत, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा यो वृत्तचित्र प्रदर्शन भइसकेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.