कविता: वृद्ध पक्षी

कविता: वृद्ध पक्षी

2.2k
SHARES

एउटा वृद्ध पक्षी
बाक्लो बस्तीबीच -एक टहराको
माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
कुज्जिएका खुट्टा र पखेटा स्याहार्दै
आफ्ना उत्तरार्धका दिन काटी रहेछ

उसलाई बिल्कुलै सन्चो छैन
शारीरिक रूपमा निर्बल छ
मानसिक रूपमा जीर्ण छ
विगत प्रेतसरह एक भूत भएको छ
वर्तमान कहालीलाग्दो धुसामा बेरिएको छ
भविष्य हुस्सेले ढाकेको खोला गड्तिर जस्तो-
सुसाउँछ तर केही देखिँदैन
ऊ अपुरा सपनाका किर्कौलाहरू
एकान्तमा बसेर भावनाका नाङ्लामा
छिन्की रहन्छ

पक्षी न हो- एकनास बस्न पनि सक्तैन
ऊ बेलाबेला घिस्रँदै गुँडबाट निस्किन्छ
र, सकी नसकी बार्दलीको एउटा आटमा बस्छ
बार्दलीबाट घरी घरी टहरा आसपास
अनि, पर परसम्म देखिने
बोट-बिरुवा अनि पोथ्रा पोथ्रीहरुमा
निर्धक्क रमाइरहेका अनेकन् प्रजातिका
चराहरू देख्छ

ऊ, मनमनै उड्छ
चहार्छ अनेकन् वन जङ्गल
पहरा पखेरा, समतल मैदान अनि कुना कन्दरा
ऊ रमाउँछ प्रफुल्लित भई-
मानौँ ऊ वर्षौंपछि पुनः छुटेको छ
जन्जिरयुक्त पिञ्जराबाट

उसका खिइसकेका नङ्ग्रा
कुज्जिएका पखेटा जब कटक्क दुख्छन्
ऊ भरङ्ग हुन्छ र पाउँछ आफूलाई
कमिला सल्बलाई रहेका त्यही टहराको बार्दलीमा-
ऊ झस्किन्छ, उसको मन चस्किन्छ
भ्रम या यथार्थ- ऊ छुट्याउन सक्तैन – एकोहोरो
टोहोलाउनु, एकान्तमा छट्पटाउनु
सम्झँदै कहालीलाग्दो मृत विगतसँग तड्पिनु
वृद्ध पक्षीको दिनचर्या!

ऊ सकी नसकी घिस्रँदै पुग्छ उही पुरानो गुँडमा
कसैले जुटाइदिएको चारो टिप्न खोज्छ
त्यो विगतमा पिञ्जराका दिवाल कोट्याउँदा
मठुरिएको चुच्चोले टिपेको चारो- कतिचोटि

मुखमा नपुग्दै झर्छ;
मानौँ उसका सयौँ सपना त्यसरी नै
योजनाका मुखमा पुग्दा नपुग्दै- ऊ
शिकारी गिद्धका फन्दामा परेको थियो
जङ्गलमा चराहरूलाई खतरा हुँदा
ऊ चिच्याएर कराएको थियो;
उसले गिद्धका विरुद्ध करायो
अरू चरा तितरबितर भए;
कति अनाहकमा मरे
कति कसो कसो बाँचे
दश दिशान्तर भागे-
अरू चराका लागि ऊ कराएकै कारण
धेरै दशकअघि –
गिद्धका पिञ्जडामा परेको थियो

ऊ एक निडर पक्षी हो!
गिद्धका पिञ्जरामा ऊ गल्दै गलेन
वनमै आगो लाग्दासमेत ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर पिञ्जराबाट मुक्त भो-
लामो श्वास लियो!
लरबर- लरबर गर्दै- घिस्रिँदै
कुज्जिएका पखेटा फट्कार्दै
निरस अनि त्यो उजाड जङ्गल नियाल्यो
सुनसान थियो वन!
ती वर्षौँअघि दश दिशान्तर भागेका
चरा सम्झँदै उसले पनि त्यो वन छोड्यो

एक दूर जङ्गलमा बासस्थान खोज्दै ऊ पुग्यो
ती तितरबितर भएका चराहरू
एक नदी बगर छेउछाउ
बोट बिरुवाका छहारीमा
एकीकृत भएको भेट्यो-
एकाध ऊ खुसीले गदगद भो
मानौँ ऊ गुमेका सपना बटुल्न सक्ने भो
उसमा जोस पलायो
भित्र जस्तो भए पनि बाहिरी ऊ बहुतै रमायो!

समय, जीवन र सपना- केवल पल भरका
भने झैँ-
उसको खुशी लामो समय टिकेन
सपना चकनाचुर भए-
ती तितरबितर भएका चराले चिन्नै छोडे
ऊ फेरि एक्लो भो!

गिद्धका पिञ्जराबाट छुटेको ऊ
फेरि परिबन्धको शिकार भो
उसका आफ्ना ठानिएका चराहरू
पुनः आकाशमार्ग हुँदै अरू नै वनतिर लागे
उसका आफ्नैले पनि सात समुद्र तरे!
ऊ भने स्वार्थप्रेरित कौवाका परिबन्धमा पर्‍यो
फेरि उसको सपनाको धरहरा
भूकम्पले ढाले झैँ गर्ल्याम-गुर्लुम ढल्यो
अर्को पिञ्जरामा उसको जीवन सुरु भयो!

ऊ एक निडर पन्छी हो!
कौवाका पिञ्जरामा पनि ऊ गल्दै गलेन
लगाइएको डढेलोमा पनि ऊ जल्दै जलेन
कसो कसो प्राण बोकेर कौवाको पिञ्जराबाट मुक्त भो
तैपनि उसको मेरो भन्ने केही रहेन

ऊ एक टहराको माथिल्लो भागमा
त्यसअघि कोही बसेर बसाइँ सरेको- वा
कसैले जुटाइदिएको- पुरानो गुँडमा
पिञ्जराकै सरह जीवन बाँची रहेछ
आजभोलि ऊ घरी घरी मन मनै बोल्छ-
‘मेरो छैन भन्ने केही छैन
मेरो आफ्नो भन्ने सबै थोक छ-
मसँग छ भन्ने केही छैन
मेरा आफ्ना सबै छन्
म सँग आफ्ना कोही छैनन्!’

ऊ मानसिक रूपमा यति जीर्ण छ
ऊ आज पनि उही गिद्धको इशारामा
जीवन बाँची रहेछ,
ऊ एकान्तमा पनि कसैले बोलेको सुन्छ
यसो गर उसो गर भनेको उसलाई याद छ
उसलाई सुत् भन्ने अर्कै छ
उसलाई उठ् भन्ने अर्कै छ
हिजोआज ऊ बिपनामा समेत सपनामा झैँ तर्सिन्छ
मानौँ ऊ एउटा कुनै अदृश यन्त्र मार्फत नियन्त्रित छ
ऊ गिद्ध र कौवाको जन्जिरभित्र
चेपिनसम्म चेपिएको छ!

(अमेरिका निवासी रूपनारायण पोखरेल भुटानका प्रसिद्ध कवि हुन्)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.