"/>

विदेशीले दिएको पैसामा गर्व गरेर अरूलाई धमास दिने अवस्था होइन… (भिडियो)

विदेशीले दिएको पैसामा गर्व गरेर अरूलाई धमास दिने अवस्था होइन… (भिडियो)

केटीहरूलाई धेरै चिठी पठायो भनेर तीन पटक गुल्टाइदिए....

3k
SHARES

राज्यका स्थानमा अर्थपूर्ण सहभागिता हुनका लागि विभिन्न व्यक्तिहरू हुँदा पनि आफ्नो धारणा राख्न पाइएको थिएन। म्याग्दीमा जन्मेको तेस्रोलिंगी (थर्डजेण्डर) भएको कारणले काठमाडौँमा छु।

जन्मको आधारले म्याग्दीको विकट ठाउँको मान्छे। सामान्य परिवारको मान्छे। तर, फरक जेण्डरका कारणले नै काठमाडौँमा छु। ५० वर्ष उमेर पुग्दासम्म हाम्रो औचित्य खोज्दा कपाल फुलिसक्यो। तर, त्यो औचित्य संविधान लेखिसकेपछि आयो।

अब केही भयो। मक्ख पर्दै नाक फुलाएको थिए। संविधानमा लेख्दाको दिन सहिद गेटको अगाडी भयङ्कर नाचेँ। हाम्रो पनि एउटा सांसद जानु भएको थियो। हाम्रो सबै कुराहरू उहाँ (सुनिलबाबु पन्त) मार्फत गएको थियो र हाम्रो कुराहरू पनि लेखिएको थियो। त्यो एउटा इतिहास बन्यो र म यसरी नाचेको भनेर जवाफ दिएको थिए।

समयले कोल्टे फेर्दै आयो। सबै ऐनले थुन्दैथुन्दै ढोका बन्द गर्दै आउँदा साँच्चै भन्ने हो भने यतिबेला म भयङ्कर निराशामा छु। जहाँ गए पनि ठोक्किएको छु। जागिरमा जान्छन् मेरा साथीहरू ठोक्किएर फर्किनुहुन्छ।

सानोदेखि राजनीति गरेको मान्छे। चैतमास खडेरी, छोरी बेची छोरालाई घडेरी गीत गाएको आधारले शौचालय (ट्वाइलेट) मा थुनिएको थिए, ८ क्लासमा पढ्दा। मलाई साह्रै नराम्रो व्यवहार गरे पछि राजनीतिमा लागे। राजनीतिलाई अनेकौँ डिग्री गरेर अनुभव गरेको त होइन। तर, रोडबाट आएको फरक हुँदो रहेछ। क्वालिटी नै फरक हुने रहेछ।

सिंहदरबारलाई छाम्न त पाएको छैन। सिंहदरबारको राजनीतिलाई महसुस गरेको छु। बुझेको छु। मान्छेको सबैभन्दा परिवर्तन भनेको राजनीतिबाट गएर निर्णायक तहमा आफू पुग्नु रैछ। जबसम्म आफू पुगिँदैन, नियम ऐन लगाएर भए पनि हामीलाई छेकिहाल्छ।

संविधानमा लेखेर के गर्नुहुन्छ? ऐन, नियममा राखिएको छैन। त्यहीबाट गुल्टाएको छ। म नेकपा एमालेमा दक्खल राख्ने जिल्लाको सिपाही हुँ, मेहनती कार्यकर्ता। तर, जुन थर्डजेण्डरको नागरिकता झिकेँ।

थर्डजेण्डरको नागरिकता लिनुभन्दा अघि पोलिटिक्समा छवि फरक थियो। पोलिटिक्समा पनि विभेद छ। म गेम खेल्ने मान्छे। त्यो विभेद गेममा पनि छ। राज्य नै मौन छ हाम्रो लागि। अनेक बहानाबाट छेकेको छ। हामी दुई-चार जना मान्छे उफ्रेर केही हुने छैन। हो, तपाई हामीहरूले नै यो बाटोमा धुलो उडाउँदै आएका हौँ। पहिचान पाएका हौँ।

पहिचान एउटा ढड्डा दिएर के गर्नुहुन्छ? हामीले त कर तिर्ने मात्र हो। कर तिर्न फ्रिडम छ। सबैले कर तिर्नुपर्छ भन्ने छ। कर तिरेर के गर्ने? त्यो कर तिरेको सुविधा हामीले पाएका छैनौ। त्यही भएर अबको आवश्यकता भनेको कुनै विदेशीले दुईचार पैसा दिएको भरमा त्यहाँ अल्झिने अवस्था होइन।

विदेशीले दिएको पैसामा गर्व गरेर अरूलाई धमास दिने, हुङ्कार गर्ने अवस्था यो होइन। तपाईँको बोलीले हामीलाई अलिअलि दिने पैसा पनि थुनिन्छ भन्छन्, थुनिए थुनिन्छ। जो सँग पहुँच थियो, त्यसले युएसएआइडीको पैसा ल्याएर खाएको थियो। मैले के खाइदिएको छ?

नेपालमा कोही भोकै भएर मरेको देख्नु भएको छ? नेपालमा अनिकाल लागेर खान नपाएर मरेको इतिहास छैन। मैले सुनेको छैन। हामीलाई के हुन्छ? माखा नि मर्दैन।

हरियो-परियो, फलफूल र घाँस खाएर पनि बाच्न, प्राण धान्न प्रकृतिले साथ दिएको देशमा छौँ। अनि हामीलाई डोनाल्ड ट्रम्पले यो गर्‍यो, त्यो गर्‍यो भनेर किन डराउने? किन हप्किनु, किन दप्किनु?

हामीलाई त्यो मुलुकले दिएको दुईचार वर्षको पैसाले कहाँ हुन्छ? खास भन्ने हो भने हामीले लिनै नहुने। किन भने हामी त यहीको उत्पत्ति हो नि त। मौलिक हकलाई युज गरेर हाम्रो अधिकार थाप्ने, माग्ने, खोस्ने बेला हो।

विदेशी डोनरलाई फकाएर दुईचार पैसाले कति दिन चल्छ? त्यो चल्ने अवस्था होइन। कसैले पाएन भनेर चित्त दुखाउनु छैन। कसैले दियो भनेर घमन्ड फुक्नु पनि छैन। यो गलत परिपाटी हो।

इक्वेल राइटमा लड्दै आएको मान्छे। सबैलाई समावेश गरी ८ १० जना निर्णायक तहमा, संसदमा पुग्नुपर्छ। समुदायको कमजोरी भनेको मेहनत नगर्ने। राजनीतिमा समुदायको मान्छे अल्छी र कन्जुस्याइँ गर्ने।

राजनीतिमा हिँड्दा भोको पनि हिँड्नुपर्छ। रातदिन भन्न पाइँदैन। त्याग गरेर मात्रै आउने हो माथि। हाम्रो समुदायको मान्छेले त्याग गर्न सक्दैन। डोनरहरूले अलिअलि दिएको खाएका बानी बिग्रेर यतातिर त्याग गर्नै नमान्ने। त्यही भएर हाम्रो कमजोरी छ।

हाम्रो मौलिक अधिकार स्थापित गर्नलाई तपाई हामीले ठुलो सङ्घर्ष गर्ने बेला हो। सङ्घर्ष गर्नुहोस्। ५० को उमेरसम्म सङ्घर्ष गर्दै आएको छु। मेरो लाइफ चानचुने छैन।

गाउँदेखि काठमाडौँसम्मको सङ्घर्ष

गाउँमा एकजना महिलाले पनि स्कुल पढ्न नपाउने अवस्थामा फाइट गरिगरी बागलुङ आएर १० कक्षा पढेर काठमाडौँ आए। तीन पटक त रेष्टिकेटमा परेका मान्छे म। किन भन्दा धेरै केटीहरूलाई चिठी लेख्यो भनेर। मेरो फिलिङस नै त्यो जमानामा त्यही थियो।

प्राकृतिक रूपमा मागेको कुरा के अनौठो भयो र। एउटा पुरुषले एउटी महिलालाई एक ट्रक चिठी लेख्न हुने, केटीहरूलाई धेरै चिठी पठायो भनेर तीन पटक त गुल्टाइदिएको थियो।

राष्ट्रिय खेलाडी। गेममा गयो। धेर केटीहरूसँग आकर्षण गर्ने भनेर कोठा छुट्टाइदिने। सबभन्दा पहिला मेरै व्यवस्था हुन्थ्यो। किन भने त्यो पुरुष व्यवहारको छ, भनेर।

सङ्घर्ष गर्दै आएको भएर यो दुख जस्तो लाग्दैन। मलाई घरकोले पनि भन्छन्, तँलाई थकाई लाग्दैन? यति व्यवधान आउँदा पनि सामना गरेको गर्यै। हिँडेको हिड्यै, के गरेको यस्तो? समस्यासँग थाक्ने मान्छेले प्रगति गर्न सक्छ र? सक्दैन। समस्यासँग फेस गर्न सक्नुपर्छ।

अबको संसद्को टेबलमा ८/१० जना पुग्नुपर्छ। तबसम्म उही विदेशीलाई भिख माग्ने। जसले पायो त्यसले नाक फुलाउने। नपाएकोले गालामा हात लगाउने गरेर बस्यौ भने हुने वाला केही पनि छैन।

विदेशीको पैसामा नहौसिनुहोस्। हामी यहीबाट उत्पत्ति भएकाले यही जीवनयापन गर्न सहज हुने वातावरण हुनुपर्छ भन्ने इन्क्ल्युशिप फोरम हो। अरूको कति डोनरहरू छ, तिमीहरूको आउँदै आउँदैन भन्छन्। उनीहरूको लड्ने स्टायल र समावेशी मञ्चले लड्ने फरक छ। इस्यु नै फरक छ। हामी मौलिक हकमा स्थापित हुने लडाई गर्छौ। उनीहरू व्यक्तिगत पेट भर्ने लडाइ गर्छन्।

अब तपाईँहरू राजनीतिमा अगाडी सर्नुपर्‍यो। पहिलेको स्थानीय चुनावमा एमालेबाट उम्मेदवार हुन्छु भन्दा तेस्रोलिंगीको नागरिकता भएको मान्छे, उम्मेदवार भइस् भने हाम्रो बेइज्जत हुन्छ भन्या हो नि त। उसले भन्दैमा म कुनामा बस्नु? बसिन नि।

माधवकुमार नेपालसँग जोडिँदै जोडिँदै आए। अहिले माधवकुमार नेपालको पार्टीले समावेशिताको लागि लेटेरहेडमा रेन्बोको कलर राखेको छ। विधानमा राख्नु भएको छ। निर्वाचनमा घोक्रेठ्याक लगाउँदा पार्टीले नै मुद्दा लडेर विधानमा संशोधन भएको छ।

हाम्रो पार्टी राष्ट्रिय पार्टी भएको भए म एउटा माननीयज्यू भएर तपाईँहरूको अगाडी उभिने थिए। तर, के गर्नु राष्ट्रिय पार्टी भइदिएन। जहाँ थिए, यथास्थानमा भइयो। तर, पनि मन हारेको छैन। भविष्यमा कुनै न कुनै पार्टीले अगाडी ल्याउँला नि। म नभए अरू आउँला।

दुईचार जना भएन भने साँच्चै हाम्रो जति मेहनत हुन्छ नि, त्यो खरानी हुन्छ। मेहनत गरेको बेकार हुन्छ। बुझ्ने मान्छे थोरै छन् नेपालमा। बुझेर पनि आँखा चिम्म गर्ने धेरै छन्। बुझ्न चाहिँ धेरैले बुझेको छ, आँखा चिम्म गरेको छ।

जसरी भए पनि संसद्को टेबलमा, निर्णायक तहमा, सिंहदरबारभित्र दुई-चार जना, आठ-दश जना आएनौ भने गाह्रो हुन्छ। त्यही भएर सबैले आफ्नो अनुकूलको, आफ्नो बिचार मिल्ने पार्टीमा आबद्ध हुनुहोस्।

हुन त भाइ, भतिजो, साल साली हाल्छन्, त्यहाँ पनि विद्रोह गर्न सक्नुपर्छ। विद्रोह गर्दै अगाडी सर्नुहोस्। स्थानीय तहदेखि निर्वाचनमा भिड्दै आउनु भयो भने गर्व गर्ने, छाती ठोक्ने ठाउँ हुन्छ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्दा हाम्रो समुदायका संस्थाहरूले केही बोलेनन्, विवेकहीन। बेइमानीको त दबाई नै छैन भनेर चित्त बुझाएर निरन्तर अगाडी बढिरहेको छु।

हाम्रो अनुभवलाई आत्मसात् गर्दै नयाँ मोडलमा ढाल्दै युवाहरूले अगाडी बढ्न जरुरी छ। राजनीतिमा जसरी पनि जानु पर्छ। आफू अनुकूलको पार्टीमा जाने प्रयास गर्नु। धैर्यता, मेहनत, त्याग भन्ने कुरा पार्टीमा गर्नै पर्छ।

(नेपालमा म्याग्दी जिल्लाबाट पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता पाउने बद्री पुन समावेशी मञ्चका अध्यक्ष हुन्। पुनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वर्तमान अवस्था र अबको बाटो विषयक मायाको पहिचान नेपालले गरेको कार्यक्रममा व्यक्त धारणाको सम्पादित अंश)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.