काठमाडौँ : राजावादीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव बल्ल आफन्तले बुझेका छन्।
रजकको पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन्। पोस्टमार्टम रिपोर्टमा कतै पनि गोली नलागेको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए। पोस्टमार्टमअघि गरिएको भिडिओ एक्स-रेका क्रममा पत्रकार रजकको निसासिएर मृत्यु भएको देखिएको छ।
रजकको हत्या भएको आशङ्कामा छानबिनको माग उठिरहेका बेला पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको हो। प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका सबिन महर्जनको भने मङ्गलवार अन्त्येष्टि गरिएको छ।
प्रहरीको गोली लागेर घाइते भएका दिनेश कुमार खत्री र बहिनी रेबिका बुधवार अस्पतालबाट डिस्चार्ज भएका छन्। ६ दिनको अस्पताल बसाइपछि घर फर्किएका दिनेशले आफूलाई कसरी गोली लागेको भन्ने स्पष्ट हुन नसकेको बताए।
नेपाल प्रहरीले तीनकुनेमा भएको राजावादी आन्दोलनको फेहरिस्त सार्वजनिक गरेको छ। बुधवार पत्रकार सम्मेलन गर्दै घटना भएको दिनको ६ घण्टा ४० मिनेट लामो सीसीटिभि फुटेज प्रहरीले सार्वजनिक गरेको हो।
राजनीतिक कार्यक्रम भनेर अनुमति लिए पनि राजावादीहरूले उत्तेजक गतिविधि गर्ने उद्देश्यका साथ प्रदर्शन आयोजना गरेको नेपाल प्रहरीको निष्कर्ष छ। प्रहरीले बुधवार थप ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल प्रहरीका डिआइजी एवम् प्रवक्ता दिनेश आचार्यका अनुसार प्रहरीले कार्यक्रम बिथोल्न नखोजेको तर प्रदर्शन अराजक भएपछि नियन्त्रणमा लिइएको हो।
आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई भने दोस्रो पटक म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको हो।
प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजक र सर्वसाधारण महर्जनका परिवारलाई सरकारले १०–१० लाख दिने भएको छ। क्षतिपूर्तिबापत १०–१० लाख उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पठाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयबाट सहमति आइसकेपछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनेछ।
भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले राजावादीको हिंसात्मक प्रदर्शनपछि सुपरमार्केटमा लुटपाट गर्न पुगेकाहरुविरुद्ध प्रतिकार गर्ने सुरक्षा गार्डहरूलाई पुरस्कृत गरेको छ। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार प्रदान गरे।
गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सबिन महर्जनको परिवारलाई ३ लाख दिने घोषणा गरे। उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा पनि दिए।
पूर्वराजाले अराजकता मच्चाएको आरोप
संसदीय समितिले राजावादीको आन्दोलन अराजक बन्नुको कारण खोज्ने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रवार गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई बोलाउने निर्णय गरेको हो।
समितिको बुधवार बसेको बैठकमा सदस्यहरूले राजावादी आन्दोलनमा सरकारको जवाफ खोजे। त्यसैले शुक्रवार गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाउने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए।
पूर्वराजा ज्ञानेन्द्र शाह अराजकता मच्चाएर गद्दीमा आसीन हुन खोजेको गणतन्त्रवादी दलहरूको निष्कर्ष छ। पूर्वराजाको चुरीफुरीले सत्तारुढ र प्रतिपक्षी दुबैलाई एउटै बोली बोल्न बाध्य पनि बनाएको छ।
एक-अर्काप्रति आरोप प्रत्यारोप गरेर नथाक्ने नेताहरू पूर्वराजाविरुद्ध एकोहोरिएका छन्। नारायणहिटीमा प्रवेश गरिहाल्ने त्रासले नेताहरूको मनमा ढ्याङ्ग्रो बजिरहेको छ।
पूर्वराजा गणतन्त्र आएको दुई दशक पुग्न लाग्दा सेलिब्रेटी बनेका छन्। राजावादीहरूले मात्र नभएर नेताहरूसँग असन्तुष्ट गणतन्त्रवादीहरू पनि आन्दोलनमा लागेका छन्।
नागरिक तहमा रहेको असन्तुष्टि कम गर्न असफल बनेका नेताहरू गणतन्त्रको विकल्प राजतन्त्र नहुने दाबी सुनाइरहेका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै अब राजालाई संवैधानिक बनाउन नसकिने सुनाए। अब के बनाउने हो त? महामन्त्री थापाले प्रस्ट भने पारेनन्।
काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने प्रदर्शनमा गल्ती स्वीकार गर्न पूर्वराजालाई चुनौती दिए। पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको शर्माको जिकिर छ।
गद्दीमा बसेको राजा हटाउन सम्भव नहुने बताउँदै उनले नेतातन्त्र प्रति आफूहरूको पनि असन्तुष्टि रहेको सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.