नेपालको नियन्त्रणमा रहेका भुटानी शरणार्थीलाई राख्ने कि नराख्ने?

नेपालको नियन्त्रणमा रहेका भुटानी शरणार्थीलाई राख्ने कि नराख्ने?

2.5k
SHARES

झापा : अमेरिकाले निष्कासित गरेका थप एक जना भुटानी नागरिक झापाको मेचीनगरमा फेला परेका छन्। भुटानले भारतमा ल्याएर छोडिदिएका भुटानी नागरिक अशोक गुरुङलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले उनलाई अध्यागमन कार्यालयको जिम्मा लगाएको छ। भुटानले अमेरिकासमक्ष आफ्ना नागरिक स्वीकार गरे पनि अमेरिकी अधिकारीहरू फर्कने बित्तिकै देशमा बस्न नमिल्ने भन्दै निकालेका दश मध्ये चार जना अध्यागमन कार्यालय झापाको जिम्मामा छन्।

अशोकसँगै यसअघि नियन्त्रणमा लिइएका आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी फेला परे पनि ६ जनाको केही पत्ता लाग्न सकेको छैन। अमेरिकी अधिकारीले जिम्मा लगाउँदा भुटानको पारोमा स्वागत पाएका दश भुटानी नागरिक मध्ये ६ जनाको अवस्था अज्ञात छ।

अध्यागमनको नियन्त्रणमा रहेकाहरूले दश जनालाई भुटानका अधिकारीले सरकारी सवारी साधनमा नेपाल भारत सीमा क्षेत्रमा ल्याएर छोडिदिएको भनेका छन्। बिचौलियालाई घुस दिएर नेपालको पूर्वी नाका मेचीनगर प्रवेश गरेको बताएका उनीहरूको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

परिचयपत्र विहीन अवस्थामा अध्यागमनको जिम्मामा रहेका उनीहरू तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका थिए। उनीहरू अमेरिकी कानुन उल्लङ्घनको अभियोगमा मुद्दा खेपिरहेका थिए।

तर, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भए लगत्तै उनीहरू अवैध आप्रवासी निकाल्ने नीतिको सिकार भए। अमेरिकाले फिर्ता गरेका उनीहरू भुटानले पुन निकालेपछि दोस्रो पटक राज्यबिहीनताको अवस्थामा पुगेका छन्।

भुटानले निकालिरहने र नेपालमा शरण दिइरहनु पर्ने अवस्था आउने त होइन भन्ने शङ्का नेपाली अधिकारीहरूले व्यक्त गरेका छन्। उनीहरूलाई बस्न दिए, भुटानले निकालेका अरू पनि आउन सक्ने शङ्का नेपाली अधिकारीहरूको छ। भुटानसँग शरणार्थी समस्यालाई लिएर वार्ता समेत नभएको अवस्थामा थप परिचयपत्र विहीन भुटानी शरणार्थी नेपाल प्रवेश गरेपछि अन्योल सिर्जना भएको छ।

अध्यागमन कार्यालयले उनीहरूको परिचयपत्र खोजिरहेको छ। तर, परिचय खुल्ने कुनै कागजात पाउन नसकिएको अध्यागमन अधिकृत तुलसी भट्टराईले जानकारी दिए। ‘उनीहरूलाई राख्ने कि नराख्ने? निर्णय भएको छैन,’अध्यागमन अधिकृत भट्टराईले पहिचानसँग भने,’अहिले चार जनाकै अनुसन्धान भइरहेको छ।’

बेलडाँगी शिविर स्तब्ध : भुटानी शरणार्थीलाई राज्यविहीनता हुने स्थितिबाट बचाउन अपिल

नेपालसहित तेस्रो देश पुनर्वास भएका भुटानी शरणार्थीहरूले भुटानमा आफ्ना नागरिक स्वीकार गरी सुरक्षित बस्न पाउने अधिकार सुनिश्चित गराइदिन अन्तर्राष्ट्रिय निकायसँग हारगुहार गरिरहेका छन्।

भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्न सक्ने वातावरण सिर्जना गर्न भुटानी शरणार्थीहरूले विश्व समुदायसँग जोडदार माग गरेका छन्।

सन् १९९० को दशकमा भुटानले निकालेका १ लाख भन्दा बढी नागरिक नेपालको शरणमा आएका थिए। उनीहरूलाई आफ्नै देश फर्काउन नेपाल र भुटानबीच चरण-चरणका वार्ता निष्कर्षमा नपुगेपछि सन् २००७ मा तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएको थियो।

क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, संयुक्त राज्य अमेरिका, डेनमार्क र बेलायतमा पुनर्वास गरिएका भुटानीहरू मध्ये दश जना अमेरिकाबाट पहिलो पटक निष्कासित हुन पुगे। भुटानले अमेरिकासँग अपनाएको दोहोरो चरित्रको सिकार बने उनीहरू।

भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रत्यक्ष उल्लङ्घन भएको भुटानी शरणार्थीहरूले उल्लेख गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.