‘सबैभन्दा मूल कुरा देश र जनता कृषि र किसान अनि यहाँको बेरोजगारी र गरिबीको अवस्थाबारे केही सोचिरहने र उपायको परिपाटी र कस्तो व्यवस्थाले यो राष्ट्र सबल र सफल बन्न सक्छ?’भनेर चिन्तन गर्ने खोज्ने अरू कोही नभएर ‘सादा जीवन उच्च विचार’का साधक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ। एक दशक अघि उहाँले आफूभित्रको जिजीविषालाई ‘कृषि क्रान्ति र समाजवाद’नामक पुस्तकमा उतार्नु भएको हो।
‘एउटा राजनीतिकर्मीका मनमा भुटभुटीहरूको सँगालोको रूपमा छ, यो पुस्तक’उहाँ लेख्नुहुन्छ, ‘म लामो जेल बसाई पछि ०३३ सालमा छुटे। गाउँको घरमा गएर बस्दा परिवारका सदस्यहरू सामु ‘बिनाउपति त्यसै हल्लेर खान्छ, भन्ने गाल टार्न मैले कृषिऋण लिएर फलफूल बगैँचा सुरु गरेको थिएँ। त्यो बेलाका केही र ०४९ सालमा कृषि तथा स्थानीय विकास मन्त्री भएपछिको अनुभवका आधारमा पुस्तक तयार हुन पुगेको छ।’
पटकपटक मन्त्री भएको अनुभव र प्रसङ्ग पुस्तकमा समावेश छन्। तर यतिवेला उहाँ मुलुकको सर्वोच्च पद अर्थात् राष्ट्रपति पदमा विराजमान हुनुहुन्छ। उहाँका सोच र चिन्तन मात्र नभएर वैचारिक आस्था र अनुभवका कैयौँ प्रसङ्ग पुस्तकमा समावेश छन्। त्यसैले पनि पुस्तक पठनीय बन्न पुगेको छ। उहाँले आफू किसान परिवारमा हुर्किएको र पछि कृषि मन्त्रीका हैसियतमा हिमाल, पहाड तराईको कृषक जीवनलाई प्रत्यक्ष सम्पर्क र एफ.ए.आ देखि यू.एन.ओका सेमिनार सम्मेलनसम्मका सुने बुझेका कुराहरूको प्रभावको परिणाम स्वरूप पुस्तक तयार भएको स्पष्ट पार्नु भएको छ।
उहाँले आफ्ना भावनालाई देश विकासको सपनाका रूपमा उतार्नु भएको छ,‘हामीले नयाँ संविधान निर्माण क्रममा रोजगारी आवास र खाद्य सुरक्षालाई जनताको मौलिक अधिकार ग्यारेन्टी गरेका छौँ। मौलिक अधिकार भनेको जनताले राज्यबाट प्राप्त गर्ने अनिवार्य अधिकारको ग्यारेन्टी हो। हामीले घोषणा मात्र गरेर पुग्दैन। त्यसको कार्यान्वयन पनि गर्नुपर्छ। जसबाट जनताले साँच्चैकै अधिकार पाउन सकुन्। प्रत्येक व्यक्तिले भरपेट खान पाओस्। सुरक्षित घर पाओस्। हामीले कैयौँ फाल्तु कुराहरूमा राष्ट्रको अर्बौँ खर्बौँ सम्पत्ति खर्च गर्ने गरेका छौँ। यदि त्यही सम्पत्ति गाँस, बास र कपास जस्ता अति आवश्यक सवालमा लगानी गर्न तयार भयौँ भने बल्ल हामी इमानदार ठहर्नेछौँ। स्थानीय जनतालाई नै त्यसका लागि परिचालन गरियोस्। यसो गर्न सके नेपाल पाँच वर्षभित्र विश्वमा नमुना बन्नेछ।’ यतिवेला उहाँको कल्पना र सपनाले मूर्तरूप खोजिरहेको छ।
उहाँले शपथ गराएका कार्यकारी प्रमुख सहित योजना आयोगका पदाधिकारीले एक पटक स्वप्नशील यस पुस्तक पढ्न सके अन्यथा हुने छैन। यतिवेला सामान्य परिवारका सदस्य राष्ट्र प्रमुख (राष्ट्रपति)र सामान्य परिवारका सदस्य कार्यकारी प्रमुख (प्रधानमन्त्री) भइरहँदा मुलुकमा लोकतन्त्रको अभ्यास र कार्यान्वयन भएको मान्न कर लाग्छ। तर उल्लेखित गरिमाको जगमा जनताको बलिदान, त्याग र तपस्या छ। त्यो त्याग र तपस्यालाई लोकतन्त्रका हिमायती नागरिकले विकासको रूपमा अनुभूत गर्न चाहेका छन्। मुलुकका लागि मार्ग निर्देशन गर्ने स्थानमा विराजमान राष्ट्रपतिको कल्पना र सपनाले सार्थकता पाउन सके अवश्य पनि कोही भोकै,नाङ्गै र बेरोजगार हुनुपर्ने छैन।
सामाजिक सुरक्षाका अन्य पक्षहरू जस्तै रोजगारीको प्रबन्ध राज्यले मिलाइदिने सिद्धान्त हामीले अग्निकार गरेका छौँ भने गाँस, बाँस र कपासको कुरालाई समेत कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ। लोकतान्त्रिक समाजवादी बाटो पनि यही नै हो, भन्ने ठहर पुस्तकमा गरिएको छ। कृषि र किसानलाई मध्यनजर राख्दै कार्य सम्पादन गर्ने हो भने नेपालको सर्वाङ्गीण विकासको ठोस जगको निर्माण हुन पुग्दछ। कृषि क्रान्तिको उद्देश्य पुरा भई नेपाल र नेपालीको गरिबी र बेरोजगारीको समस्या पनि समाधान हुनमा ठुलो मद्दत पुग्नेछ। तथा समस्त नेपालीले गुणस्तरीय जीवन बाँच्न पाउने छन्। यतिवेला दुई ठुला पार्टीले सरकार सञ्चालनको जिम्मेवारी वहन गरिरहेका बेला राष्ट्र प्रमुखका चिन्ता र चासोलाई कतिसम्म ध्यान दिन सक्लान् जिज्ञासाको विषय भएको छ।
म यस्तो व्यवस्था चाहन्छु, जहाँ राज्य जनता प्रतिको कर्तव्यबाट विमुख र उदासीन पनि नरहोस् साथै राज्य समाजमा आधिपत्य जमाउने जनता उपर नियन्त्रण थोपार्ने र शक्तिका रूपमा पनि नरहोस्। समाजको राज्यसँग पाइला पाइलामा स्वार्थ गाँसिएको होस। समाजले वा जनताले राज्यका विरुद्ध नै विद्रोह गर्ने र राज्यलाई नै ध्वंस गर्ने कुरा सोच्दै नसोच्ने स्थिति होस्। तर त्यहाँनेर पनि अतिसारो होइन, ‘कोक्रो देखि चिहानसम्म’राज्यले जनतालाई पाइलै पिच्छे सहारा दिँदा बढ्दै जाने पराश्रयीपनबाट पनि समाजलाई जोगाउनु पर्छ। ‘सरकारले जनतालाई बाटो देखाई दिने हो’, घिसार्ने हैन, भन्ने भनाई तर्फ पनि थोरै ध्यान दिनु पर्छ भन्ने महामहिम राष्ट्रपतिको सङ्कल्प विचार छ। एउटा न्यायपूर्ण, गतिशील र सभ्य समाजको जग बसाल्ने एक मात्र उपाय कृषि क्रान्ति भएको ठहर सहित प्रस्ताव गर्नु भएको छ। ‘नेपालमा कृषि क्रान्ति र लोकतान्त्रिक समाजवाद’, प्रस्तुत गरेको छु। विवेचना र बहसको अपेक्षा महामहिमले गर्नु भएको छ। राज्य र नागरिकले महामहिमका विचार र प्रस्तावमा चर्चा चलाउन सके मुलुक साँच्चै समाजवाद तर्फ अग्रसर हुन सक्नेछ।
‘लोकतन्त्रलाई सबल बनाएर, जनतालाई सशक्तीकरण गरेर समाजमा न्याय स्थापित गर्न, कानुनको राज स्थापित गर्न र शासन व्यक्तिको होइन विधिको हुन्छ भन्ने सिद्धान्त स्थापित गराएर लोकतन्त्रका माध्यमले समाज बदल्न चाहन्छौँ।’ उल्लेखित विचारलाई मनन गर्दा हामीले मन, विचार र दृढ सङ्कल्पले लोकतन्त्रमा विश्वास राख्ने राष्ट्रपति पाएका छौँ भन्न कर लाग्छ। हत्याहिंसाका माध्यमबाट जसले समाज बदल्ने कुरा गरे ती कहीँ पनि सफल भएका छैनन् भन्ने उहाँको मान्यता छ। उहाँ भन्नु हुन्छ, नेपालमा त्यत्रो ठुलो हिंसा भयो, त्यत्रो विध्वंस भयो, त्यसले नेपाली समाजलाई के दियो? के समाजवाद दियो? समाजवादी समाज दियो? आज समाज कुन ठाउँमा छ?रु कस्ता प्रवृत्तिहरूले मुन्टो उठाइरहेका छन्? आजको अवस्था महामहिमले आजभन्दा एक दशक अघि नै चिन्ता गर्नुले दुर्दृष्टि चिन्तक भन्न कर लाग्छ। नभन्दै यतिवेला सडकमा विरासत भैसकेको संस्थाका पक्षमा जबरजस्त माहौल बनाउन केही तत्त्व उद्यत छन्। अनुमान गर्न सकिन्छ,शीतल निवासमा रहेर, सडकमा देखिएका अराजक भीड र समाचारका हेडलाइन पढिरहँदा महामहिममा कति चिन्ता भइरहेको होला?
‘कसरी राजनीतिमा अपराधीकरण भइरहेको छ? कसरी अराजकता र दण्डहीनतातिर समाज अघि बढ्दैछ? हिंसा कति सहज बनेको छ? हत्या कति साधारण बनेको? औद्योगिक वातावरण कति खलबलिएको छ? राष्ट्रियता कति कमजोर बनेको छ? वैदेशिक लगानी कति टाढिएको छ? जनताको आत्मबल कति टुटाइएको छ? के यही थियो क्रान्तिको लक्ष्य? कहाँ जान भनेर हिँडेको? कहाँ पुगियो? क्रान्तिको नाउँमा कति जनधनको क्षति राष्ट्रले बेहोर्यो? शान्तिको लागि भनेर फेरि कति अरब खरब राष्ट्रले एउटा वर्गलाई भर्नु परिरहेको छ? त्यसको हिसाब निकालौँ र त्यसबाट प्राप्त भएको र हुने उपलब्धिको पनि हिसाब निकालौँ? कति निराशाजनक तस्बिर सामुन्ने आउँछ?’ भन्ने उहाँको सम्यक् जिज्ञासा छ। पछिल्ला दिनमा पटक पटक कार्यकारी प्रमुखसँगका भेटका समाचार आइरहेका छन्। पक्कै उहाँले नागरिकका अपेक्षा र असन्तुष्टिलाई सम्बोधन गर्न अविलम्ब उपाय खोजी गर्न चिन्ता जाहेर गरेको अनुमान गर्न सकिन्छ। सरकारले ल्याउने अध्यादेशमा उहाँले विलम्ब नगरी स्वीकृत गरिदिँदै आउनु पनि भएको छ।
पुस्तक अध्ययन गर्दा उहाँमा ज्ञानको उच्चतम महिमा प्रकट हुन्छ। राजनीति, दर्शन, इतिहास, भूगोल, अर्थतन्त्र, कृषि, समाज, लगायतका विषयमा उहाँको गहिरो अध्ययन रहेको छ। कतिसम्म भने समाजवादलाई मूर्तरूप दिन कृषि क्षेत्रमा राज्यले कसरी योजना बनाउनु पर्छ। कुन जिल्ला के उत्पादनका लागि पकेट क्षेत्र बनाउन सकिन्छ भन्ने सम्मको मीमांसा पुस्तकमा उतार्नु भएको छ। निचोडमा उहाँले भन्नु भएको छ, बुद्ध, गान्धी र बिपी कृषि युगका अग्रदूत र विचारवेत्ता हुन्। त्यसैले कृषिमा आधारित अर्थतन्त्रलाई कम आकलन नगरौँ।
वि.स.२०१६ सालको सरकारले बिपी कोइरालाको नेतृत्वमा बिर्ता उन्मुलन, राज्य रजौटा उन्मूलन, भूमिसुधार, मोहियानी हकको व्यवस्था, जङ्गलको राष्ट्रियकरण, ग्राम विकास र जिल्ला विकास योजना, सडक र सिँचाइ, कृषि, शिक्षा सञ्चार आदि क्षेत्रमा ठोस कदम चालेर आर्थिक सामाजिक परिवर्तनका दिशामा फड्को हालेको थियो। त्यसबाट समाजमा ठुलो परिवर्तन हुँदै थियो तर यसमाथि २०१७ साल पुस १ गते प्रजातन्त्र विरोधीबाट साङ्घातिक हमला भयो र परिवर्तन गति अवरुद्ध भयो।उल्लेखित पङ्क्तिबाट सजिलै बुझ्न सकिन्छ, उहाँ बिपीका सच्चा अनुयायी हुनुहुन्छ।
वि.स.०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसको दोस्रो निर्वाचित लोकतान्त्रिक सरकारले ७१ प्रतिशत बजेट गाउँमा पठाउने, ग्रामीण स्वावलम्बनका कार्यक्रम अन्तर्गत चारै हजार गा.वि.स.मा, खानेपानी, एक एक स्वास्थ्य उपचौकी स्थापना गर्ने काम गर्यो। शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि विकासमा अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाएर योजना कार्यान्वयनमा जोड दियो। साथै निमुखालाई न्याय, विपन्नलाई आय कार्यक्रम र गरिबसँग विश्वेश्वर कार्यक्रमका साथै महिला जागृति तथा आय आर्जन जस्ता योजना सञ्चालन गर्दै ग्रामीण जनताको जीवनस्तर उकास्ने कार्य अघि बढायो। साथै व्यापक रूपमा उद्योगधन्दा स्थापना गरेर युवा जनशक्तिलाई रोजगारीको अवसर दिलाउँदै समग्र रूपमा आर्थिक उन्नतको दिशामा प्रभावकारी कदम चालिरहँदा ०५२ सालमा एकाएक हिंसात्मक आक्रमण सुरु गरिएको उहाँको ठहर छ।
माओवादीले जनयुद्ध भन्ने गरेको त्यस अवधिलाई महामहिमले हिंसात्मक युद्ध भएको ठहर गर्नु भएको छ। नेपालको अवस्था र व्यवस्था परिवर्तनका मोडहरूलाई वस्तुपरक ढङ्गबाट विहङ्गम दृष्टिले मूल्याङ्कन गर्नु भएको छ। त्यसबाट बुझ्न सकिन्छ, उहाँ अहिंसात्मक आदर्श र विचारका पक्षपाती हुनुहुन्छ। लोकतन्त्रमा पनि हत्या, हिंसा र उद्दण्डता पुनरावृत्ति भइरहेका समाचार पढ्दा उहाँमा कति आहत भइरहे होला? अनुमान गर्न सकिन्छ।
नोबेल पुरस्कारबाट सुशोभित अर्थशास्त्री आत्मर्य सेनका भनाइलाई उद्धृत गर्दै, ‘हाम्रो जीवनको गुणवत्ता अर्थात् हाम्रो जीवन उच्च र मर्यादित स्तर हाम्रो सम्पत्तिले नापिँदैन अपितु हाम्रो स्वतन्त्रताले नापिन्छ। अर्थात् आर्थिक उन्नति भनेको नै स्वतन्त्रताको विस्तार हो’भन्ने निष्कर्ष पुस्तकमा छ। अन्तमा भन्न सकिन्छ, महामहिमको विचार र अनुभवलाई राज्य वा सरकारले अन्तर मनले मनन गर्न चाह्यो भने देश विकासका लागि दातृ निकाय समक्ष भौँतारिनु पर्दैन।
साथै उहाँको आस्थाको पृष्ठभूमिमा रहेको दल नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण गर्न सुरु गरेको छ, जुन कार्य आफैमा सराहनीय छ। तर प्रशिक्षण कार्यक्रम गरिरहँदा महामहिमद्वारा लिखित (१ सय ७८ पृष्ठ, १० परिच्छेदको) यस पुस्तक नेता र कार्यकर्ताका हात हातमा पुर्याउन सके काँग्रेस सरकारमा रहेर विचार र आदर्श विहीन भयो भन्नेहरूका लागि रचनात्मक जवाफ हुनेछ। लोकतान्त्रिक समाजवाद प्रतिको उहाँको निष्ठा र विश्वासलाई ‘आत्मज्ञान’ भन्न कर लाग्छ।
यतिवेला सरकार आगामी आ.व.का लागि करिब १९ खर्बको सिलिङ तोकेर बजेट निर्माणमा जुटेको छ। बजेट निर्माणमा जुटेको दुई ठुला दलको संयुक्त सरकारले राष्ट्रपतिका विचार र सपनालाई मूर्तरूप दिनतर्फ अग्रसर हुन सक्नु पर्छ। अनि मात्र ‘लोकतान्त्रिक समाजवाद’को यात्रामा मुलुक उन्मुख भएको विश्वास गर्न कर लाग्नेछ। साथै कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नु भएको ‘समृद्ध नेपाल,सुखी नेपाली’को मार्गचित्रका लागि महामहिमको विचार सहयात्री बन्न पुग्नेछ। मुलुकले आदर्श विचार र स्वप्नशील कल्पनाका धनी राष्ट्रप्रमुख र कार्यकारी प्रमुख पाएको छ, उहाँहरूका विचार र सपनालाई व्यवहारमा मूर्तरूप दिन स्थायी सरकार भनिने प्रशासन संयन्त्रले कन्जुस्याइँ नगरे मुलुक साँच्चै समृद्धिको मार्गमा अवतरित हुनेछ,भन्ने नागरिकमा विश्वास छ।
(समीक्षक पन्थी, गान्धी विचार र अहिंसा विषयका अध्येता हुनुहुन्छ।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.