काठमाडौँ : वर्तमान सरकार गठन भएको लगभग नौ महिना पुगेको छ। सङ्घीय संसद्का दुई ठुला दलको सरकार जनअपेक्षा सम्बोधन गर्ने काममा चुक्दै आएको छ।
नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकार विपक्षीलाई ठेगान लगाउने रणनीतिमा भने अब्बल देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली काम गर्ने टिम खटाएर भाषणबाजीमा लिप्त छन्। विज्ञ टिमबाट ब्रिफिङ सुनेर निर्देशन दिने काममा ओली पूर्वप्रधानमन्त्रीहरुलाई उछिन्ने दौडमा लागेका छन्।
थाइल्यान्डको बैंककमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेट गरेका ओली पछिल्लो पाँच दिनमा १२ वटा सार्वजनिक कार्यक्रममा सहभागी भइसकेका छन्। उनले संविधान संशोधनको रटान लगाउन छोडेका छैनन्,जुन सत्तारुढ दलका प्राय सबै नेताको ओठ-ओठमा झुन्डिएको छ।
मङ्गलवार मधेस प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आन्तरिक समिति बन्ने सन्देश प्रवाह गरे। बोल्नमा अब्बल ओली शनिवार थाइल्यान्डबाट फर्किएका थिए।
प्रधानमन्त्री ओलीको दैनिकी भवन उद्घाटन, शिलान्यासदेखि भाषण गर्नेमा बितेको छ। पाँच दिने विदेश भ्रमणबाट फर्केकै दिन अपराह्न एनसेल बाह्रखरी गल्फको उद्घाटन गर्न गोकर्ण पुगेका प्रधानमन्त्री ओलीले भोलिपल्ट आइतबार प्रधानमन्त्री निवास बालुवाटारमै डोटीको खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि ज्ञापनपत्र बुझेर बिताए।
सोमबार मन्त्रिपरिषद् र विपद् जोखिम परिषद्को बैठकबाहेक हिमालय डायलगलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बेलुकी धरानका मेयर हर्क साम्पाङसँग खानेपानी समस्याबारे कुराकानी गरे।
विभिन्न प्रदेशमा पुगेर भाषण गर्ने क्रमलाई निरन्तरता दिएका ओलीले हिजो विराटनगर गएर मधेस प्रदेशसभा बैठकमा सम्बोधन गरे। त्यसक्रममा ओलीले सिरहाको एमाले जिल्ला अधिवेशनको उद्घाटन, सिरहाकै सदरमुकाममा सहिद हेमनारायण यादवको सालिकमा माल्यार्पण र सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको उद्घाटन गर्न भ्याए। सिराहाको कार्यक्रममा राज्य स्रोतको दुरुपयोग भएको आरोप प्रधानमन्त्री ओलीमाथि लागेको छ।
बुधवार बिहान हेलिकप्टरमार्फत अर्घाखाँची पुगेर पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गरे। दिउँसो काठमाडौँ फर्केर ओलीले नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभाको उद्घाटन गरे। अनि सुनाए, उद्योगपतिहरूसँग निकटको सम्बन्ध रहेको कथा। उद्योगीसँग निकटको सम्बन्ध भने पछि सहभागीले आश्चर्य भाव व्यक्त गर्दा प्रधानमन्त्रीले ‘कमिसन खानका लागि होइन,’ भने।
संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्टै विदेश भ्रमणमा निस्किएका थिए ओली। प्रधानमन्त्री गएकै दिनदेखि सुरु शिक्षकहरूको आन्दोलन जारी छ। विदेशबाट फर्केकै दिन विमानस्थलमा शिक्षकका जायज माग पुरा हुन्छन् भनेका उनले दुई दिनसम्म पनि कुनै पहल गरेनन्।
शिक्षकहरूले सोमबारदेखि शैक्षिक हडताल नै घोषणा गरेर कडा आन्दोलन थालेका छन्। सम्बन्धित मन्त्री र सचिवसँग ब्रिफिङ लिएका प्रधानमन्त्री ओलीले त्यसयता शिक्षा मन्त्रालयको कर्मचारी तहबाट वार्ताका लागि विज्ञप्ति निकाल्ने बाहेक कुनै उच्च पहल लिएका छैनन्। बरु सार्वजनिक कार्यक्रममा भाषण गरेर सरकार साथमा रहेको बताइरहेका छन् ओली।
प्रधानमन्त्रीले भनेजस्तो, सरकार कुन किसान, कुन शिक्षक, कुन डाक्टरको साथमा छ धेरैले बुझेका छैनन्। यतिबेला आवासीय चिकित्सक पनि सडक आन्दोलनमै होमिएका छन्। सहकारी पीडितले सडकमा आन्दोलन गर्न छाडेका छैनन् तर प्रधानमन्त्रीले कसैको आन्दोलन रोक्न पहलकदमी नलिएको देखिएको छ।
यी र यस्ता धेरै कारण हुनसक्छ, सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि पोखे।
शिक्षकदेखि सहकारी पीडितसम्म सडकमा रहेका बेला सरकारले जिम्मेवारीबोध नगरेको काँग्रेस महामन्त्री थापाको भनाइ थियो। सहकारी ठगलाई कारबाही गर्नुपर्ने तर पीडितले बचत फिर्ता पाउनुपर्ने भन्दै थापाले नियम कानुन हुँदा पनि जनताले न्याय नपाएको सुनाए। प्रधानमन्त्री र मन्त्रीलाई घुम्ने, डुल्ने र भाषण गर्ने काम बन्द गरेर जिम्मेवारी पुरा गर्न उनले सुझाए।
राजावादी आन्दोलनका घाइतेको बिजोग
गत चैत्र १५ गते राजावादीहरूको आन्दोलनमा घाइते भएकाहरूको बिजोग भएको छ। अस्पतालको उपचार खर्च जुटाउन नसक्दा घाइतेका परिवारको बिचल्ली अवस्था छ।
सरकारले उपचार खर्च बेहोर्ने आश्वासन दिए पनि बिल भुक्तानी नगरिदिँदा रकम अभावकै कारण उपचार नपाउने अवस्था छ।
तर, गोली हान्न आदेश दिने गृहमन्त्री रमेश लेखक भने अहिले तीनै गोली लागेर घाइते भएकाहरूलाई भेटेर सहानुभूति बटुल्ने प्रयासमा छन्। घटनाका बेला संयमता अपनाउन नसकेका गृहमन्त्री लेखकले बुधवार काठमाडौँको सिभिल अस्पतालमा पुगेर घाइतेहरूको अवस्था बुझे।
सस्तो लोकप्रियतामा रमाइरहेको आरोप खेपेका गृहमन्त्री लेखक हिंस्रक घटना भएको १२ दिनपछि अस्पताल पुगेका हुन्। उनले उपचार गराइरहेकाहरूलाई भेटेर घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने आश्वासन दिए।
सरकारले घाइतेको उपचार गर्ने आश्वासन दिए पनि अभिभावकहरूले भने पछिको भविष्यका विषयमा पनि सोच्नुपर्ने भन्दै गृहमन्त्री लेखकलाई झकझकाएका छन्। आन्दोलनका क्रममा घाइते भएकाहरू मध्ये केही भने आफ्नै खर्चमा उपचार गराएर घर फर्किसकेका छन्।
तीनकुने तोडफोडमा संलग्नहरू पक्राउ पर्ने क्रम पनि जारी छ। तोडफोडमा संलग्न तथा फेसबुकबाट अराजक अभिव्यक्ति दिएको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर २७ का ५३ वर्षीय कमल कुमार विष्ट रहेका छन्।
तर आन्दोलनका नाइके भनिएका फरार दुर्गा प्रसाईँलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। प्रसाईँ भने सामाजिक सञ्जालमा सक्रिय छन्। उनले अज्ञात स्थलबाट भिडियो जारी गर्दै सुरक्षाको ग्यारेन्टी दिए २४ घण्टाभित्र प्रहरीमा हाजिर हुने बताए।
यसअघि कुनै मन्दिरमा रहेको अभिव्यक्ति दिँदै भिडियो जारी गरेका प्रसाईँ भारत पुगेको चर्चा चलेको थियो। बुधवार पुन अर्को आठ मिनेट भन्दा लामो भिडियो फेसबुकमा राखेर प्रसाईँले सुरक्षा ग्यारेन्टी खोजेका हुन्। प्रसाईँ विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ।
व्यवस्था परिवर्तनको आन्दोलन चलाएका प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्तिविरुद्ध मायाको पहिचान नेपालले ब्युरोमा चैत १५ गते नै उजुरी दिएर कानुनी कारबाहीको माग गरेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.