बद्री-केदारसम्म मनको शान्ति यात्रा

बद्री-केदारसम्म मनको शान्ति यात्रा

त्यहाँ जाने तीर्थयात्रीहरू सबै त्यो चिसो बालुवामा लडीबडी गर्ने, कृष्णको, राधाको मूर्ति बनाउने गर्दा रहेछन्। हामीले पनि त्यसै गर्‍यौँ।

2.3k
SHARES

लगातार तेस्रो वर्ष भयो– दसैँ र तिहारको बीचमा विद्यालय बिदा भएको समय पारेर यात्रा गरेको। विगतका वर्षहरूको तुलनामा यस वर्षको यात्रा भने अलि भिन्न थियो। गतवर्ष यात्राबाट फर्कँदै गर्दा दाजु मोहन र भाउजू गङ्गाले अब अर्को सालचाहिँ हामी बद्रीनाथ श्राद्ध गर्न जाने भन्नुभएको थियो। वहाँहरूको अगुवाइमा उत्तराखण्डका चारधाम जाने र विभिन्न ठाउँमा श्राद्ध गर्ने भनी चारधामको यात्रा तय गर्नुभयो। त्यसैले यो वर्षको यात्राचाहिँ विशुद्ध धार्मिक हुन पुग्यो। उत्तराखण्डको यात्रा साह्रै कठिन छ भन्ने सुनेको हुनाले सुरुमा त म जान्नँ भनेकी थिएँ। तर अन्ततः म सामेल भएँ।

चारधाम यात्राको समय नजिकिँदै थियो। यो यात्राको लागि दाजु–भाउजूले ट्राभल एजेन्सीहरूसँग सम्पर्क गर्न थाल्नु भएछ। आफ्नै परिवार, नातेदार, चिनजानका व्यक्ति हुँदा यात्रा सजिलो र रमाइलो हुन्छ। यही विचारले दाजु–भाउजूले यो यात्रामा सामेल हुन इच्छुक आफन्तहरूको खोजी गर्नुभयो। चार जिल्लाका तेइस जना बिर्तामोड निवासी जीवन दाहाल र नारायणी दाहाल, दुर्गापुरबाट मोहन प्रसाद खतिवडा, श्रीमती गङ्गा खतिवडा, यशोदा खतिवडा, झुमा दाहाल, मनोज पोखरेल, शोभा पोखरेल, धनपति खतिवडा, सुभद्रा खतिवडा, सुशीला ओझा र अप्सरा डाँगी, दमकबाट म, इटहरीबाट उत्तमराज खतिवडा र हिमा खतिवडा, विराटनगरबाट गुणराज रिजाल, तारा रिजाल, केशव रिजाल, विमल अधिकारी र शर्मिला अधिकारी, सप्तरी कञ्चनपुरबाट रामेश्वर खतिवडा, गणेशप्रसाद खतिवडा र मञ्जु खतिवडा यात्रामा जाने निश्चित भयो।

मैलेचाहिँ पहिले जान्न भनेकी थिएँ एउटै कारण थियो,– यात्रा लामो र कठिन। म उकालो हिँड्न नसक्ने, त्यही भएर पनि आँट आएन। त्यसमाथि, श्रीमानले आफू सामेल हुन नसक्ने भन्नुभयो। दुवैजना भए त हामी पनि श्राद्ध गर्थ्यौ। वहाँ नजाने भएपछि मलाई पनि त्यति जाँगर चलेको थिएन। तर, ताराले ‘दिदी जाऊँ, भिनाजु नगए पनि’ भनेर ढिपी गरी। ‘हिँड्न नसक्नेका लागि पनि साधन छन्। श्राद्ध नगर्ने पनि त जान्छन्,– घुमिन्छ, ठाउँ हेरिन्छ, जाऊँ’ उसका कुरा मनासिब थिए। हुन पनि हो, कसैले जाऊँ नभन्दा हिँडिँदो पनि रहेनछ। कहिले बैनीहरूले भनेर १२ वर्ष अगाडिको कुम्भमेला हरिद्वार गएँ, चारधाम, दक्षिण भारत, ओडिसाको समुन्द्र, जम्मुको वैश्णोदेवी देखी बैजनाथ धाम (बाबाधाम) पनि गएँ। साइला देवर डा. गोविन्दराज भट्टराई सहितको साहित्यिक टोलीसँग आसामदेखि मणिपुर गएँ। जाऊँ भन्ने मान्छे नभए कहाँ गइँदो रहेछ र?

दाजुभाउजूले मेरा श्रीमानलाई हिँड्ने उत्साह दिनुभयो। भन्नुभयो– यात्राटोलीमा आफन्तहरू मात्र छन्। आँट गरौँ।’ यो सुनेर वहाँले पनि आँट गर्नुभयो। वहाँलाई स्वास्थ्यसम्बन्धी समस्या भएकाले र खानपिनको समस्याले गर्दा बसबाट लामो यात्रा गर्न अलि ऑट पनि चाहिन्थ्यो। यसपालिको यात्रा यहीँदेखि बसमा जाने, खानेबस्ने व्यवस्था गाडीवालाले गर्ने र अन्य अतिरिक्त खर्च चैँ आफैँले गर्नुपर्ने भन्ने थियो। एजेन्सीसँग कुरा मिलाउने सबै काम दाजु भाउजूले गर्नुभएको थियो। बिहान बेलुकाको खाना खुवाउने, बस्ने र हिँड्ने यति गाडीवालाको थियो। बिहानबेलुका ताजा खाना र राम्रो वासस्थानको व्यवस्था भएपछि यात्रा सहजै होला जस्तो लागेर मैले पनि श्रीमानलाई ढिपी गरेँ। वहाँले मान्नु पनि भयो। हिँड्न तयारी गरियो। गाडीमा यात्रु २५ जना र अरू गाडीका स्टाफ गरी ३२ जनाको सिट थियो। यात्राको साइत असोज ११ गते शुक्रवारलाई तय भयो। त्यो समयमा विद्यालयको दसैँ बिदा सुरु भइसक्ने त थिएन, तर पनि केही दिन अगाडि नै बिदा लिएर निर्धारित साइतमै यात्रा प्रारम्भ गर्ने तयारी भयो।

यात्रुहरू धेरैतिरका थियौँ। झापा, मोरङ, सुनसरी र सप्तरी चार जिल्लाबाट भेला हुनुपर्ने थियो। प्रारम्भिक यात्रु सङ्ख्या २५ मध्ये दुईजना – कृष्ण खतिवडा र कमलराज भट्टराई जान असमर्थ हुनुभएकाले अन्त्यमा यात्रु सङ्ख्या जम्मा २३ जना भयौँ। गाडी स्टाफ ७ जनामध्ये ट्राभल प्रमुख अर्थात् व्यवस्थापक, संयोजक जे भने पनि खासमा के भन्छन् मलाई थाहा पनि भएन र सोधिएनछ पनि। उहाँ हुनुहुन्थ्यो,– इटहरा निवासी हाल उर्लाबारीका रामकृष्ण भट्टराई। वहाँले नै यात्राभरि यात्रीलाई कुनै किसिमको असुविधा नहोस् भनेर राम्ररी व्यवस्था गर्नुभयो। त्यसैगरी चालक भाइ काभ्रे निवासी सुमन रेग्मी। भरखरको युवा २५/२६ वर्षको जस्तो उमेरका, गाडी चलाउन एकदमै कुशल। काभ्रेकै दुई जना तामाङ भाइहरू सहचालक हुनुहुन्थ्यो। यात्रामा मिठो भोजन बनाएर खुवाउनु हुने इटहरा निवासी भाइ कुबेर पौडेल, साह्रै हँसिला, फुर्तिला। वहाँलाई सहयोग गर्ने भाइहरू राजु मिश्र, दीपक काफ्ले वहाँहरू पनि साह्रै फुर्तिला र सहयोगी।

गाडीले हामी सबैलाई आ–आफ्नै ठाउँबाट उठायो। बिर्तामोड, दुर्गापुर, दमक, इटहरी, विराटनगर र सप्तरीबाट तीर्थालु पूरा गरी हाम्रो गाडी पश्चिमतर्फ हुइँकियो।

निर्माणाधीन बाटोका कारण हाम्रो गाडीको गति बिस्तारै अघि बढ्थ्यो। त्यसदिनको हाम्रो बास जनकपुरको पागलबाबा आश्रममा व्यवस्था गरेको रहेछ। यात्रीहरू आफ्ना लागि निर्धारित गरिएका कोठामा बस्यौँ। खाना बनाउने टिमले खाना बनाउनु भयो। खानपिन सकेर विश्राम गर्‍यौँ। खाने, बस्ने र हिँड्ने कुराको हामीलाई कुनै चिन्ता थिएन। यी सबै कुराको व्यवस्था गर्न संयोजक भाइ रामकृष्ण अनुभवी हुनुहुन्थ्यो। यति धेरै जनालाई बस्न धेरै बेड भएको ठाउँ, खाना बनाउन फराकिलो, पानीको सुविधा भएको ठाउँ हेर्नुपर्ने र यात्रुलाई कुनै किसिमको गुनासो गर्ने ठाउँ नराखी व्यवस्था गर्नुपर्ने काम चुनौतीपूर्ण हो। तर वहाँको व्यवस्थापन कौशलले गर्दा यात्रुलाई खान बस्न कुनै समस्या भएन।

बिहान हामी यात्रु जनकपुर घुम्न निस्क्यौँ। घुमिसकेर फर्किँदा पकाउने टिमले खाना तयार पारिसकेको थियो। खानपिन सकेर भोलिपल्टको हाम्रो यात्रा सुरु भयो। जनकपुरबाट भिट्टामोड हुँदै हामी भारत छिर्‍यौँ। लामो यात्रा तय गरेर बेलुका हरिहर क्षेत्र पुग्यौँ। हरिहर क्षेत्रका मन्दिरहरू बेलुका नै घुम्यौँ। साँझको खानापश्चात् हामी सहजै निद्रादेवीको काखमा हराउन पुग्यौँ।

बिहान गङ्गा नदीमा गएर सबैले तर्पण गरेर पितृ स्मरण गरे। त्यसपछि पुनः पुनः पुगेर सबैले श्राद्ध तर्पणादी गरेर खाना खाएर २ बजेतिर बाटो लाग्यौँ । त्यसैदिन हामी गयामा पुगेर हाम्रो बासको प्रबन्ध गरिएको निर्माणाधीन गोविन्द आश्रमको ठुलो हलमा पुग्यौँ। झोला त्यहीँ थन्क्याएर त्यसैदिन बोधगया गयौँ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेको थिए। सुन्दर, शान्त र सफा त्यस ठाउँमा बौद्ध धर्मावलम्बी भिक्षुहरू ध्यान गरिरहेका थिए। हामी पनि एकछिन त्यो ध्यान गरिरहेको दृश्य हेरेर मुग्ध बन्यौँ। कस्तो आनन्द! त्यो शान्त ठाउँ!

भोलिपल्ट गयाजीमा सबैले श्राद्ध तर्पणादि गरी पितृ स्मरण गर्ने काम भयो। महालय श्राद्ध पर्व (सोह्र श्राद्ध) परेकाले त्यहाँ पितृमेला नै लागेको रहेछ। यति धेरै भीड! बयान गरेर साध्य छैन। त्यसपछि बेलुकाको बासको लागि हामीलाई सारनाथ लगियो। सारनाथमा पनि हामी एउटा बौद्ध आश्रममा बास बस्यौँ। भोलिपल्ट हामी बनारसतर्फ लाग्यौँ। त्यो औँसीको अघिल्लो दिन थियो। हामीसँगै जानुभएका हाम्रा काका गणेशले मात्र त्यसदिन श्राद्ध गर्नुभयो। चतुर्दशीको दिनचाहिँ अकालमा (झुन्डिएर, डुबेर, पोलिएर, लडेर) मृत्यु भएकाहरूको मात्रा श्राद्ध हुन्छ भन्ने मान्यता छ भनेर दाजु मोहनले भन्नुभयो। यो कुरा कतिसम्म सही हो वा शास्त्रसम्मत हो त्यो मलाई थाहा भएन। त्यै भएर काकाले मेरा पितृहरू धेरै अकालमा बितेको छन् भनेर श्राद्ध गर्नु भएको अरे। अरू हामी गङ्गा नाउ चढेर रमाइलो गर्दै विश्वनाथ दर्शन गर्न गयौँ। फर्केर सारनाथका मन्दिरहरू घुम्यौँ। त्यहाँ बुद्धले आफ्ना चेलाहरूलाई ज्ञान दिएका थिए भन्ने भनाइ छ। त्यस ठाउँमा एउटा ठुलो रुखको फेदमा बसेर बुद्धले आफ्ना चेलाहरूलाई उपदेश दिँदै गरेको प्रतीक स्वरूप मूर्तिहरू स्थापित गरिएका रहेछन्।

बनारसमा हाम्रो दुई दिनको बसाइ थियो। दोस्रो दिन पार्वण (सोह्र श्राद्ध) श्राद्धको अन्तिम दिन, अर्थात् औँसीको दिन थियो। बिहानै सबै जना श्राद्ध गर्न गङ्गा किनार मणिकर्णिका घाट पुग्यौँ। प्रायः सबैले श्राद्ध गर्नुभयो। गुणराज ज्वाइँ र वहाँका दाजु, केशव रिजालले तर्पणादी गरेर पितृ स्मरण गर्नुभयो। अरू श्राद्ध तर्पण नगर्ने म, यशोदा र भूमा दाहाल बैनीले पनि आ–आफ्नै किसिमले पितृ स्मरण गरेर ब्राह्मणलाई टीका दक्षिणा गर्‍यौँ। श्राद्ध कर्म सकेर आश्रम आइपुग्दा खाना तयार थियो। भोजनपश्चात् हामी प्रयागतर्फ लाग्यौँ। प्रयागमा पनि गङ्गा यमुना सङ्गममा तर्पणादी गरी पितृ स्मरण गर्ने काम भयो। तत्पश्चात् हामी चित्रकुटतर्फ लाग्यौँ। साँझ चित्रकुट पुगेर एउटा पुरानो जस्तो देखिने ब्रह्मपुरी आश्रम पुग्यौँ। आश्रमभित्र एउटा हलमा बसियो। बाहिरबाट पुरानो देखिएता पनि भित्र चाहिँ नयाँ र राम्रो व्यवस्था रहेछ।

भोलिपल्ट हामी चित्रकुटका विभिन्न मन्दिरहरूको दर्शनार्थ निस्क्यौँ। पहिले गुप्तगोदावरी मन्दिर गयौँ। त्यहाँ गोदावरी रामलाई भेट्न आएकी भन्ने जनश्रुति रहेको पाइन्छ। सिँढी चढेर माथि गएपछि गुफा जस्तो ठाउँमा मन्दिर रहेछन्। त्यहाँ भएका राम, हनुमान, शिव मन्दिरहरूको दर्शन गरी हामी अहिल्या मन्दिर गयौँ। दुईपट्टिनै घना जङ्गल। जङ्गलको बीचबाट बाटोका छेउमा भएका प्रायः सब रुखमा राम! राम! लेखिएको थियो। बाटामा मयुर, बँदेल, बाँदर र अन्य जङ्गली जनावर प्रशस्त देख्न सकिन्थ्यो। अहिल्या मन्दिर ठुलो र भव्य रहेछ। अहिल्या मन्दिर भनिएता पनि त्यहाँ अरू देउताका मूर्तिहरू पनि राखेर सजाइएको पाइयो। मन्दिरको बाहिरपट्टि ठुलो स्फटिक शिला थियो। एक जना पण्डा त्यसको बारेमा वर्णन गर्दै थिए, रामका पाइला, सीताका पाइला देखाउँदै थिए। हामीले पनि एकछिन सुन्यौँ र बाटो लाग्यौँ।

त्यसपछि हनुमान मन्दिर, सीता कुवा, चित्रकुट पर्वततिर गयौँ। प्रायः त्यहाँ जाने मान्छेहरू पर्वत परिक्रमा गर्दा रहेछन् तर हामीचाहिँ मन्दिर दर्शन गरेर चित्रकुट घाटतर्फ गयौँ। त्यहीँ घाटमा भगवान् रामले सन्त तुलसीदासलाई दर्शन दिएका थिए भन्ने कथन रहेको छ। रामायणमा पढेको यो कुरा यहाँ अनुभूति गर्न पाइयो। चित्रकुट भगवान् रामको कथामा जोडिएको भएकोले नै त्यो ठाउँलाई पवित्र धाम मानिएको रहेछ। त्यहाँ प्रायः राम–सीतालाई मान्ने धर्मावलम्बी (रामानन्दीधर्मी) रहेछन्।

चित्रकुटको घुमाइपश्चात् खाना खाएर ११ बजेतिर हामी वृन्दावनतर्फ लाग्यौँ। चित्रकुटबाट बस यात्रा गर्दा लगभग ११–१२ घण्टा लाग्दो रहेछ। झन्डै ५/६ घण्टा बसबाट यात्रा गरेपछि साँझ ५ बजेतिर शान्त, फराकिलो पिचबाटो भएको एउटा ठाउँमा खाना पकाउन गाडी रोकियो। त्यहाँ नयाँ भरखर जस्तो सञ्चालनमा आएको एउटा मात्र होटल रहेछ। ट्याङ्करमा पानी राखिएको थियो। अरू त्यहाँ पानीको कुनै स्रोत देखिएन। खाना पाकुन्जेल हामी त्यही रहेको होटलमा बस्यौँ। त्यहीँ समूहमा बनेको खाना खाएर हामी करिब आठ बजेतिर वृन्दावनतर्फ लाग्यौँ। त्यो ठाउँको नाम के थियो थाहा पाइएन अथवा सोधिएनछ पनि। त्यसपछिको हाम्रो यात्रा रातिको थियो। दुई घण्टा जति खानामा अलमल थियो। त्यसपछि रातभर जस्तो यात्रा गरेर राति दुई बजे वृन्दावनको सियाराम आश्रम पुग्यौँ र सुत्यौँ। लामो यात्राको थकाइले बिहान अबेरसम्म सुतिएछ। हामी उठेर नित्यकर्म सक्दा खाना तयार भइसकेको थियो।

बिहान ८ बजे नै खाना खाएर हामी मथुरातर्फ घुम्न निस्क्यौँ। कृष्ण जन्मेको त्यो कारागार र अन्य दर्शनीय स्थल एवम् राधाकृष्णका मन्दिर डुलेर यमुनाजीको जल स्पर्श गरी गोकुलतर्फ लाग्यौँ। गोकुलमा कृष्णले माटो खाएको ठाउँ, यशोदाले कृष्णलाई ओखलीमा बाँधेको ठाउँ जहाँ अहिले पनि सम्झनाको प्रतीक ओखलमा कृष्णलाई बाँधेको र यशोदाले लौरी लिएको मूर्तिले ताजा घटनाको झल्को दिन्छ। त्यहाँ कृष्णलीलाको अनुपम सौन्दर्य पाइँदो रहेछ। त्यहाँका चौरासी खम्बा हेरेर हामी रमण रेती गयौँ, जहाँ ग्वाला बालसाथीहरूसँग कृष्णले खेलेका र बाललीला गरेका झल्काहरू त्यहाँका कलाले प्रस्ट्याउँछ। यो स्थानको भ्रमण गरेपछि कथामा आएको प्रसङ्गले छर्लङ्ग्याउँछ। रमणरेतीको वर्णन श्रीमद्भागवत् कथामा गरेको रहेछ। त्यहाँ जाने तीर्थयात्रीहरू सबै त्यो चिसो बालुवामा लडीबडी गर्ने, कृष्णको, राधाको मूर्ति बनाउने गर्दा रहेछन्। हामीले पनि त्यसै गर्‍यौँ।

अर्को दिन पनि हामी छिटै खाना खाएर वृन्दावन घुम्न निस्क्यौँ । त्यो दिनको बसाइ पनि वृन्दावनमा नै हुने थियो। वृन्दावन बसाइको यस दोस्रो दिनमा हामीले गोवर्धन पर्वत परिक्रमा, निधिवन, गोविन्द मन्दिर, रङ्गनाथ मन्दिर, बाँकेबिहारी दर्शन गरेर साँझ प्रेम मन्दिर हेर्‍यौ र अर्को दिन बिहानै खाना खाएर हामी कुरुक्षेत्रतिर लाग्यौँ। कुरुक्षेत्र जाँदा बाटोमा बरसाना पर्दो रहेछ। बरसानामा राधारानीको दर्शन गरेर हामी बेलुका पाँच बजेतिर कुरुक्षेत्र पुग्यौँ। कुरुक्षेत्रमा सैबी समाज भवनमा झोलाहरू थन्क्याएर अरू नजिकै पर्ने ठाउँहरू ब्रह्मसागर तलाउ र अन्य अर्जुन कृष्णरथ मन्दिर घुम्यौँ। भोलिपल्ट बिहान महाभारतमा वर्णन गरेका युद्धभूमि, भीष्म पितामह वाण शैयामा सुतेको, पाँच पाण्डवको मन्दिर, अर्जुनलाई कृष्णले गीताको ज्ञान दिएको आदि ठाउँहरू घुम्यौँ।

खाना खाएर हामी हरिद्वारतर्फ लाग्यौ। साँझमा हरिद्वार पुगी भारतमाता मन्दिर नजिकै रहेको चन्द्रकला आश्रममा बास बस्यौँ। अर्को दिन बिहानै हरकी पौडी, गङ्गा किनार घुम्यौँ। ॐकार गङ्गा कुशावतार घाटमा सबैले श्राद्ध गर्नुभयो भने हामी श्राद्ध नगर्नेले गङ्गा किनारमा गएर पितृ स्मरण गरी पण्डालाई दान दक्षिणा गर्‍यौँ। श्राद्ध सकिएपछि खाना खाएर दिनभर हरिद्वार घुमियो। दिउँसोको थकानले छिटै निद्रादेवीका काखमा लुक्न पुग्यौँ।

बिहानै त्यहाँबाट उत्तराखण्डको यात्रा सुरु गर्नुपर्ने थियो। उत्तराखण्डको यात्रा सुरु गर्नुभन्दा पहिले सबैको फोटोसहितको परिचय पत्र बनाएर यात्रा पञ्जीकरण कार्यालय एवं ट्रान्जिट कैम्प ऋषिकेशमा सबै यात्रुको नाम दर्ता गरेर मात्र उत्तराखण्डको यात्रा सुरु गर्नुपर्ने रहेछ। ऋषिकेशमा हामीलाई छिटो होस् भनेर रामकृष्ण भाइले हरिद्वारमानै मोबाइलबाट सबैको फोटो खिचेर सम्पूर्ण विवरण भर्नुभएको थियो। नेपालमा भएका आफ्ना सबैभन्दा नजिकका आफन्तको नाम, ठेगाना, मोबाइल नं. र यात्रुको विवरण भर्नुभयो। पहिले त खासै केही जस्तो लागेन तर त्यो विवरण भर्दै गर्दा चाहिँ अलिअलि डर लागेजस्तो भयो। खासमा मृत्यु भएमा वा हराएमा सम्पर्कको लागि हो भनियो। तर हामीलाई ट्राभल एजेन्सीले पनि परिचय कार्ड बनाएर दिएको थियो। खासमा कुन मितिमा कति जनाले त्यता उत्तराखण्डको यात्रा गरे भन्ने प्रमाणका लागि र हराएमा वा मृत्यु भएको खण्डमा खोजी गर्न सजिलोको लागि रहेछ। हरिद्वारबाट हामी बिहान पाँच बजे नै ऋषिकेषतर्फ लाग्यौँ। खाना तयार हुन्जेल ऋषिकेश घुम्यौँ र खानापश्चात् ११ बजेतिर यात्रा अघि बढ्यो। त्यहाँबाट देहरादून हुँदै उत्तराखण्डतिर लागियो।

ठुला ठुला पहाड, हरियाली, घना जङ्गलको अर्कै हरियाली दृश्य एकदमै मनमोहक ठाउँ तर कतै भने निर्जन जस्तो लाग्ने ठाउँ, पहाडको फेदैफेद पक्की सडक, रमाइलो रमणीय दृश्य हेर्दै–हेर्दै बेलुका बरकोट भन्ने ठाउँमा बास बसियो। भोलिपल्ट बिहानैको यात्रा यमुनोत्तरीतर्फ लाग्यो। बाटाका रमणीय दृश्य हेर्दै, ठाउँहरूको जानकारी लिँदै अघि बढ्यौँ। जङ्गलचट्टी, हनुमानचट्टी नाम गरेका ठाउँ हुँदै जानकीचट्टी पुग्यौँ। त्यतातिरका गाउँको पछाडि चट्टी जोड्दा रहेछन् जस्तो लाग्यो। प्रायः सबै ठाउँका नामका पछाडि ‘चट्टी’ लेखेको पाइयो।असोज ११ गतेबाट सुरु भएको हाम्रो यात्रा २२ गते मात्र उत्तराखण्डतिर लाग्यो। उत्तराखण्डको चारधाममा यमुनोत्तरी, गंगोत्तरी, केदारनाथ र बद्रीनाथ पर्ने रहेछन्। जसमध्ये पहिलो धाम यमुनोत्तरी रहेछ। हाम्रो बास बरकोटबाट करिब २० किलोमिटरको दूरीमा जानकीचट्टीसम्म गाडिले लग्यो। त्यसपछि ६/७ कि.मि.उकालो हिँडेर यमुनोत्तरी पुगिने रहेछ। हिँड्न नसक्नेका लागि डोको, घोडाको व्यवस्था रहेछ। काका र काकी डोकोमा जानुभयो भने सुशीला, सानिमा जान सक्नुभएन। अरू हामी सबै हिँड्न कम्मर कस्यौँ। करिब ४ कि.मि. जतिचैं जसरी–तसरी बल गरेर हिँडियो। त्यसपछि बुहारी हिमा र मलाई अलि गाह्रो नै भयो। हिमालाई बाटामा ज्वरो आएर कमजोर भएकी थिइन् भने म पनि उकालो हिँड्न सकिनँ। अन्तिम तीन कि. मी. जतिचैं निक्कै ठाडो उकालो बाटो रहेछ। बाटाको बीचमा पनि सवारी साधन पाइने भएकाले हिमा र म ३ कि.मि. जति डोकामा बसेर गयौँ। यमुनोत्तरी पुगेर दाजुहरूले श्राद्ध गर्नुभयो। अरू हामीले चैँ त्यहाँको तातो पानी भएको कुण्डमा नुहाएर यमुनाको दर्शन गर्‍यौँ। यमुनोत्तरी यमुना नदीका शिर रहेछन्। पहाडबाट यमुना नदी झरेको नै देखिने, पहाडको फेदमा पुगेर यमुनोत्तरीको दर्शन गरियो र फर्किँदा हिँडेर नै जानकी चट्टीसम्म आइयो। जानकी चट्टीमा खाना तयार भइराखेको रहेछ। खाना खाएर हामी फेरी बरकोटमा आएर बास बस्यौँ।

अर्को दिनको हाम्रो यात्रा गंगोत्तरीको थियो। ठुला–ठुला गगनचुम्बी हरिया पहाड, झरना झरेका, सल्लाघारी, नदीको किनारै किनार रमणीय दृश्य अवलोकन गर्दै उत्तर काशीको धरालीमा बास बसियो। बिहान उत्तर काशी विश्वनाथको दर्शन गरी गंगोत्तरीतर्फ लाग्यौँ। गंगोत्तरी पुग्न करिब २०/२२ किलोमिटर बाँकी रहेछ। हामी उत्तर काशी बेनिता होटलमा वास बस्न पुग्यौँ। हामी बसेको ठाउँमा स्याउ धेरै फल्दा रहेछन्। स्याउ पाक्ने समय भएकाले त्यहाँका डाँडा, पाखा सबै हेरौँ हेरौँ लाग्ने किसिमका रातै देखिन्थे। त्यहाँका स्याउ देखेर हामी सबै दङ्ग पर्‍यौँ। त्यति नजिकबाट हामी धेरैले स्याउ फलेको देखेकै रहेनछौँ। आहा! क्या रमाइलो दृश्य! अहिलेसम्म पनि आँखामा त्यो दृश्य झल्किरहेको छ। मलाई गङ्गोत्तरी जान एकदम मन थियो। किशोरावस्थामा हेरेको हिन्दी चलचित्र ‘राम तेरी गङ्गा मैली’ को कथावस्तु यही गंगोत्तरीको वरिपरि घुमेको थियो। म तराईमा हुर्किएकीलाई त्यो चलचित्रका पहाड, टलल टल्किएका हिमाल, कलकलाउँदो गङ्गा बहेको अनि त्यसमा मन्दाकिनीले ‘हुस्ण पहाडोका’ गीतमा नाचेको हेर्दा यो ठाउँमा पुग्दा कस्तो हुन्छ जस्तो लाग्थ्यो। त्यहाँ अहिले जीवनको साठियौँ उमेरमा पुगे।

होटलमा झोला थन्क्याएर हामी स्याउ बगानतिर स्याउ फलेको हेर्न गयौँ। बोटमा स्याउका दाना समाएर सबैले फोटो खिच्यौँ। बोटबाट टिपेको ताजा स्याउको स्वाद लिँदै रमायौँ। अर्को दिन असोज २६ गते नेपालीको महान चाड विजया दशमी परेको थियो। त्यस दिन बिहान हामी करिब डेढ घण्टा बसबाट यात्रा गरेर गंगोत्तरी धाम पुग्यौँ। बसबाट ओर्लेर झन्डै आधा घण्टा जति हिँडेर हामी गंगोत्तरी घाट पुग्यौँ। त्यहाँ सबैले पितृ स्मरण गरेर गङ्गा मन्दिर दर्शन गर्‍यौँ। गंगानदी पहाडलाई चिर्दै निस्केकी रहिछिन्। त्यही गङ्गाजीको शिरबाट सबैले घर ल्याउन गंगाजल बोक्यौ। गंगोतरी दर्शनपछि हामी बास बसेको होटलमा आइपुग्यौँ। दसैँको टीकाको दिन भएकाले सबैले टीका लगाएर दसैँ मनायौँ।

अब हामी केदारनाथ यात्राका लागि अघि बढ्यौँ। त्यो रात नारायण कोट उत्तर काशीमा बास बसियो। अर्को दिन बिहान सबेरै त्यहीँ खाना खाएर हाम्रो यात्रा केदारनाथतर्फ लाग्यो। त्यो दिनको यात्रा निकै लामो रहेछ। बाटामा चिया नास्ताको लागि मात्र केही छिन रोकिएर दिनभरि नै बसको यात्रा भयो। बेलुका रुद्रप्रयागको नारायण होटलमा बास बसियो। भोलिपल्ट बिहानै करिब एक घण्टा जति बसको यात्रा गरेर हामी सोन प्रयाग बस पार्कमा पुग्यौँ। त्यहाँबाट झन्डै एक घण्टाको बाटो पैदल हिँडेर मन्दाकिनी नदीको फलामे पुलबाट तर्‍यौँ। त्यहाँबाट ट्याक्सी चढेर १०/१५ कि.मि. जति हिँडेपछि गौरीकुण्ड पुगियो। गौरीकुण्ड दर्शन गरेर हामी अगाडि बढ्न थाल्यौँ। बाटो उकालो भएकाले कोही हिँड्न असमर्थ भयौँ। हिँड्न नसक्नेका लागि घोडा, पाल्की, डोको आदिको व्यवस्था रहेछ। हाम्रो समूहका आठ जना गौरीकुण्डदेखिनै सरकारी रेटको टिकट काउन्टरबाट आतेजाते रु.३५००/– को टिकट काटी गौरीकुण्डदेखिनै घोडा चढेर जानुभयो। म र कान्छो भाइ रामेश्वर गौरीकुण्डको दर्शन गरी एकछिन उकालो हिँडेपछि हिँड्न सकिएन। घोडावालालाई भाइले दलाली गरेर एक जनाको रु.१५००/– का दरले मिलाए। अनि भाइ र म घोडामा चढ्यौँ।

करिब नौ बजेतिर घोडा चढेका हामी २ बजेतिर घोडाबाट ओर्लियौँ। गौरीकुण्डबाट २१ कि.मि. ठाडो उकालो हिँडेर केदारनाथ पुग्न पैदल यात्रीलाई निकै नै कठिन हुँदो रहेछ। पैदल यात्री पनि सजिलैसँग आफ्नो सुरैले त कहाँ हिँड्न पाउँदा रहेछन् र? ढुङ्गा छापेको साँगुरो बाटो, घोडा त्यहीँबाट, डोको बोक्ने, पाल्की बोक्ने अनि पैदल यात्री त्यहीँ सबै एउटै बाटोबाट हिँड्नुपर्ने। ती सबैबाट जोगिएर हिँड्न: पैदल यात्रीलाई पनि धेरै कठिन रहेछ। तर पनि भगवानको शक्ति नै भन्नु पर्‍यो सबै हिँडिराखेका छन्। धेरै यात्रु त हामी झैँ हिँड्न नसकेर बीच बाटोबाट पनि घोडा, पाल्की, डोको चढ्दा रहेछन्। यस्ता साधन चैँ बीचमा पनि पाइने हुँदा साह्रै नसक्ने यात्रुलाई यस्ता सवारीले सहज बनाएको रहेछ। आधा बाटो जाति हिँडेपछि गुणराज ज्वाइँ, वहाँका दाजु केशव, बैनी तारा, भाइ उत्तमलाई हिँड्न गाह्रो भएर घोडा चढ्नु भएछ। सुरुमै घोडा चढ्ने अलि अगाडि त्यसपछि भाइ देउता र म करिब २ बजेतिर घोडाबाट ओर्लेर पनि २ किलोमिटर पैदल हिँडेपछि मात्र केदारनाथ मन्दिर पुगिने रहेछ। घोडाबाट जाँदा पनि ५/६ घण्टा लाग्दो रहेछ। भाइ र म छिटै पुगेकाले आफ्नै तरिकाले मन्दिर घुम्यौँ, फोटो खिच्यौँ। तारा पुगेपछि उसले पहिले बस्ने ठाउँको बन्दोबस्त गरी। ऊ पहिले पनि त्यहाँ गइसकेकी भएर उसैले नेपालीले सञ्चालन गरेको धर्मशालामा बस्ने ठाउँ भएकाले बासको व्यवस्था मिलाई।

बेलुकासम्म कोही पैदल त कोही केही साधन गरेर मन्दिर आइपुगे। हामी सबै भेला भयौँ र केदारनाथ दर्शनार्थ लाइनमा जोडियौँ। भिड अत्यधिक भएका कारण मुस्किलले परैबाट भगवानको दर्शन गर्‍यौँ। त्यहाँ घ्यू, सेतो कपडा चढाउनुपर्छ भन्ने मान्यता रहेछ। मैले पनि घ्यु लगेकी थिएँ। कपडा त थिएन तर पनि त्यो पनि मुख्य भगवानलाई त चढाउन सकिएन, लगेको घिउ बाहिरैपट्टि भएका भगवानलाई चढायौँ र रहलपहल बचेको त्यहीँका साधुलाई दिएर छाड्यौँ। केदारनाथ मन्दिर हिमालका फेदमा रहेछन्। वरिपरि सेतै हिमाल टल्केका, हात लम्काउँदा हिमाल नै भेटिएलान् जस्तो नजिकै। एक दिनमा घाम, पानी, बादल हुने। यस्तो मौसम असाध्य जाडो, त्यो उचाइमा सास फेर्न सबैलाई धेरै गाह्रो भयो। छोरीले लेक नलागोस् भनेर औषधि त हाल्दिएकी थिई तर जुन ठाउँको लागी भनेर बोकेको त्यहीँ जाँदा चैँ लैजान बिर्सिएछु।

भारतमा भएका शिवका द्वादश ज्योतिर्लिङ्ग मध्ये केदारनाथ सबैभन्दा उचाइमा रहेछन्। त्यहाँको उचाइ ३,५८३ मिटर रहेछ। जसोतसो रात काट्यौँ। मन्दाकिनी नदीको किनारमा दाजुहरूले श्राद्ध गर्नुभयो। हामीले मन्दिर वरिपरिको रमाइलो वातावरण हेरेर आनन्द लियौँ। सबै भेला भएपछि त्यहाँबाट खाना खाएर फर्कियौँ। हिँड्न आँट हुनेहरू हिँड्नुभयो। भाइ र मैलेचाहिँ हिँड्ने आँट गरेनौँ र घोडा नै चढ्यौ। उकालो चढ्दाभन्दा ओरालो झर्दा घोडाबाट धेरै गाह्रो हुँदो रहेछ। मलाई त असाध्यै गाह्रो भयो, अर्को उपाय पनि थिएन। गन्तव्यमा पुगेर घोडाबाट ओर्लिन सकियो भने अनि चैँ बाँचिन्छ जस्तो लाग्यो। पाँच घण्टा घोडा चढेर हिँडेपछि बल्ल गौरीकुण्ड आइपुग्यौँ। आनन्द मानेर घोडाबाट ओर्लिएँ। भाइ आउन अलि ढिला भएकाले केही समय त्यहीँ थकाइ मारेँ। भाइ आइपुगेपछि फेरी दिदी भाइ हिँड्न थाल्यौँ। अरू कता छन्, केही थाहा छैन। भोक र थकाइले चुर भएका हामी गौरीकुण्डबाट गाडी चढी मन्दाकिनी पुलपारि सोन प्रयागमा राम्रो खाजा पाउने होटल खोज्न थाल्यौँ। त्यहाँ रोटी, तरकारी, चिया खाएर त्यस दिनलाई पेट पूजा गरियो।

हाम्रो गाडी सोन प्रयागको सीतापुर बसस्टपमा थियो। बेलुका ५ बजेसम्ममा सबै जना भेला भइसकेपछि हाम्रो यात्रा बद्रीनाथको तय थियो। हामीले करिब २/३ घण्टा यात्रा गरेपछि केदारनाथ मार्ग गगनी गाउँ रुद्रप्रयागको हरिदर्शन होटलमा बास बसियो। बिहान खाना खाएर करिब ८ बजेतिर त्यहाँबाट बद्रीनाथतर्फ लागियो। पहाडको बाटो, त्यहाँका पहाडमा सल्लाघारीले पहाडको सौन्दर्यलाई पस्किँदै सङ्गीगतको धुनले स्वागत गरिरहेको हुँदो रहेछ। ठुला–ठुला गगनचुम्बी पहाड, ती पहाडहरूले आकाशलाई नै अङ्कमाल गरेजस्तो देखिने रहेछ। बद्रीनाथमा हिउँले गर्दा काला नाङ्गा पहाड, अलिअलि माथि सेता हिउँले ढाकिएका पहाडहरू हेरीरहुँ जस्तो लाग्ने। ८ बजे सुरु भएको हाम्रो यात्रा लामो दुरी पार गर्दै बिहान करिब ४ बजेतिर बद्रीनाथ धाम पुग्यो। यस दिनको हाम्रो गन्तव्य यही थियो। यहाँ ओमशान्ति होटलमा झोला थन्क्याएर हामी बद्रीनाथ मन्दिर दर्शनार्थ लाममा लाग्यौँ।

अलकानन्द नदीका किनारमा बद्रीनाथ मन्दिर रहेछन्। हिउँले ढाकेका सुन्दर डाँडाकाँडा, नदी, मन्दिरको वातावरण असाध्यै रमाइलो। धेरै भीड भएता पनि सजिलै दर्शन गर्न सक्यौँ। साह्रै बुढाबुढी, हिँड्न नसक्नेलाई डोकाको व्यवस्था रहेछ तर हिँड्न सक्नेलाई चैँ धेरै हिँड्नु नपर्ने। उकालो, ओरालो नभएको तेर्सो तेर्सै बाटो रहेछ। काका, काकी र सानिमा डोकामा बोकिएर जानुभयो भने अरू हामी सबै हिँडेर नै गयौँ।

बेलुकाको आरती हेरेर हामी होटलमा फर्कियौँ। होटलमा खाना तयार भएकाले खाना खाएर सुत्ने तरखरमा थियौँ। त्यहाँ बेलुकै हाम्रो होटलमा नेपाली लालमोहोरिया पण्डाहरू आए। त्यहाँ पुग्ने सबैसँग चन्दाजस्तो कट राख्ने भन्दा रहेछन्। सबैको तीनपुस्ते नाम लेखेर एउटा रातो खातामा राख्दा रहेछन्। हामीले आ–आफ्नो गच्छेअनुसार तीनपुस्ते नामावलीसहित कट राख्ने काम गर्‍यौँ। यो काम त्यहाँको परम्परा नै रहेछ। ती खाता त्यहाँ सुरक्षित राखिएको हुँदो रहेछ। हेर्न चाहँदा हाम्रा पुर्खाले राखेका रातो खाता अहिले पनि हेर्न पाइँदोरहेछ। तिनै पण्डाले नै श्राद्ध गर्ने व्यवस्था मिलाई दिँदा रहेछन्। त्यसैले भोलिपल्ट श्राद्ध गर्न सजिलो भयो। भोलिपल्ट पण्डाले भनेको समयमा हामी अलकानन्द नदीको किनारमा अवस्थित ब्रह्मकपाली गर्ने ठाउँमा पुग्यौँ। पिण्ड बनाउन त्यहाँ पण्डाले नै सबैलाई अलिअलि खिर दिँदा रहेछन्। आफूले लगेको जौको पिठोमा त्यो खिरलाई मिसेर पिण्ड बनाई सबैले त्यहाँको विधिअनुसार श्राद्ध सम्पन्न गर्नुभयो। श्राद्धपछि होम पनि गराउँदा रहेछन्। त्यो सबै व्यवस्था त्यहाँ गरिएको हुँदो रहेछ। त्यहाँ गएर श्राद्ध गरी ब्रह्मकपाली गरेपछि सबै पितृहरू पितृलोक (वैकुण्ठ) पुग्ने र कुनै किसिमको पितृदोष नलाग्ने, पुनः श्राद्ध गर्न नसकिए पनि कुनै दोष नलाग्ने भन्ने मान्यता रहेछ। श्राद्ध गर्नेहरूले श्राद्ध गर्नुभयो भने श्राद्ध नगर्नेले चाहिँ नदी किनारमा गएर पितृ स्मरण गर्‍यौँ। श्राद्ध सकेर होटल आउँदा खाना तयार थियो।

खानापश्चात् हामी पुनः यात्रामा लाग्यौँ। उत्तराखण्डको यो हाम्रो अन्तिम गन्तव्य थियो। लामो दुरी पार गरेर हामी उत्तरकाशी चन्दरपुर आई पुगेर बास बस्यौँ। भोलिपल्ट बिहान ५ बजे नै हाम्रो यात्रा सुरु भयो। बिहान ९ बजेतिर हामी ऋषिकेश आइपुग्यौँ। त्यहाँ खाना खायौँ। यात्रा पञ्जीकरण कार्यालय एवं ट्रांजिस्ट कैम्प ऋषिकेशमा सबै यात्री सकुशल आएको जानकारी गराइयो। त्यहाँ सबै यात्रीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी पनि दिइँदो रहेछ। सबैले मौकाको फाइदा उठायौँ।

त्यसपछि पुनः हाम्रो यात्रा सुरु भयो। अबको हाम्रो यात्रा नैमिषारण्यको थियो। हाम्रो यात्रामध्ये सबैभन्दा लामो दूरी तय गरी रातिको नौ बजेतिर हामी नैमिषारण्य पुग्यौँ। रातिको यात्रा भएकाले बाहिरी दृश्यको अवलोकन गर्न राम्ररी पाएनौँ, खाली बत्तीहरूको झिलिमिलीमात्र देखियो। जहाँ हामी पुग्नुपर्ने हुन्थ्यो त्यहाँको व्यवस्था व्यवस्थापक रामकृष्ण भाइले अग्रिम गरेकै हुन्थ्यो। हामीलाई खान र बस्नको कुनै चिन्ता हुँदैनथ्यो। हामी त्यहाँ आ–आफ्ना खटाइएका कोठामा झोला थन्क्याएर आराम गर्न थाल्यौँ भने खाना बनाउने भाइहरू भने थकाइ नमानी खाना बनाउन लाग्नुभयो। त्यस बेलुकाको खाना राती ११ बजेतिर खायौँ। भोलिपल्ट बिहान नैमिषारण्य घुम्न निस्क्यौँ।

गोमती नदीको किनारमा अवस्थित नैमिषारण्य हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल हो। यहाँ अठासी हजार ऋषिहरूको तपोभूमि। यसै स्थानमा पौराणिक युगमा सुतदेवले अठासी हजार ऋषिहरूलाई चार वेद र अठार पुराण सुनाएको पुण्यस्थल मानिँदो रहेछ। सोही ठाउँमा त्यही समयको मानिने पुरानो वटवृक्ष रहेछ। यो ठाउँमा जैमिनी ऋषिले तपस्या गरेका थिए भन्ने भनाइ रहेछ। हामीले यहाँ अरू ठाउँको पनि दर्शन गर्‍यौँ। ब्रह्माजीले सूर्यको किरणबाट बनाएको विशाल चक्र मनको सङ्कल्पले चल्ने चक्र (मनोमय चक्र) पनि नैमिषारण्यमा रहेछ। पानीको बीचमा अवस्थित त्यस चक्रलाई सरोवर चक्र पनि भनिँदो रहेछ। त्यहाँ धेरै मानिसहरू चक्रको परिक्रमा गरी नुहाइरहेका थिए। हामीले चैँ शिरमा जल चढाएर दर्शनमात्र गर्‍यौँ।

त्यहाँ हेर्ने धेरै ठाउँ थिए तर समयसीमाका कारण ललिता देवी मन्दिर, पाण्डव किल्ला, मनु सतरूपा मन्दिर, दधिची कुण्ड मात्रै दर्शन गर्न सक्यौँ। त्यसपछि खाना खाएर हामी अयोध्यातर्फ लाग्यौँ। ६/७ घण्टाको यात्रा गरेर यात्राभरि हामीलाई मिठो खाना बनाएर ख्वाउने, फुर्तिला, हँसिला, रमाइला कुबेर भाइ अर्को यात्रामा सामेल हुनुपर्ने भएकाले वहाँलाई हामीले नैमिषारण्यमै छोड्नुपर्दा सबैलाई नरमाइलो लाग्यो।

हामी करिब पाँच बजेतिर अयोध्या पुग्यौँ। सबैभन्दा पहिला सरयू नदीको दर्शन, स्पर्श गरी प्रसिद्ध राम मन्दिर दर्शनार्थ हामी मन्दिरतर्फ लाग्यौँ। मन्दिर निर्माण कार्य सम्पन्न भई नसकेका कारण अलि अव्यवस्थित भए जस्तो लाग्यो। हामीले सरासरी नै गएर भगवान् श्री रामको दर्शन गर्न पायौँ। अयोध्या नगरीको राम दर्शन हाम्रो यात्राको अन्तिम गन्तव्य थियो।

दर्शनपछि बेलुकाको खाना खाएर हाम्रो यात्रा घरतर्फ मोडियो। बेलुका सात बजे हामी बस चढेपछि रातभरिको निरन्तरको यात्रा गर्दा बिहान नेपाल भूमि भण्टाबारी आइपुग्यौँ। गाडीले सबै यात्रुलाई जुन–जुन ठाउँबाट टिपेको थियो, त्यहीँ त्यहीँ ठाउँमै पुर्‍याइ दियो।

यसरी २०८१ साल असोज ११ गतेबाट सुरु भएको हाम्रो चारधाम तीर्थयात्रा जनकपुर जानकी (सीता) दर्शनबाट सुरु भएर कार्तिक ३ गते अयोध्यामा रामको दर्शन गरेपछि सम्पन्न भयो। कार्तिक ४ गते हामी सबै जना सकुशल आ–आफ्नो घर पुग्यौँ। जानु अघि जति डर थियो, घर आइपुगेपछि सम्झिदा धेरै सहज र रमाइलो यात्रा गरिएछ भनेर खुसी लाग्यो।

(लेखक दमक, झापास्थित भृकुटी माध्यमिक विद्यालयमा प्राध्यापनरत हुनुहुन्छ।)

समाचार शेयर गर्नुहोस्
2.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.