संस्कृत वाङ्मय ज्ञानको भण्डार हो। पूर्वीय जगत्का महामनीषीहरूले समस्त मानवजातिको कल्याणका लागि आफ्नो समग्र जीवन व्यतीत गरेका छन् र मानवजातिलाई अमूल्य रत्न उपहार दिएका छन्। हाम्रा वेद, वेदाङ्ग, पुराण आदि अमूल्य ग्रन्थहरू महामनीषीहरूबाट प्राप्त अमूल्य रत्न हुन्। ती ग्रन्थहरूमा ज्ञानको भण्डार सञ्चित छ र त्यसैबाट पूर्वीय सभ्यता निर्मित भएको छ। हाम्रा प्राचीन ऋषि मुनिहरूले दीर्घ साधना गरेर ज्ञानसागरको गहिराइबाट निकालिएको पूर्वीय सभ्यता अत्यन्त सम्पन्न रहेको छ र संसारभर प्रसिद्ध छ। पूर्वीय सभ्यता र संस्कृतिबाट विश्वका हरेक क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरू प्रभावित भएका छन् र तिनले पूर्वीय सभ्यताको मुक्त कण्ठले प्रशंसा पनि गरेका छन्।
तर कस–कसले कसरी प्रशंसा गरेका छन् भन्ने कुराको खोजी कार्य भने धेरै पछि भएको हो। यसबारे छिटपुट रूपमा खोजी भए पनि एकमुष्ट खोजी गरी लिपिबद्ध गर्ने कार्यतर्फ खोजकर्ताको ध्यान नगएको अवस्थामा सोही अभावलाई पूर्ति गर्नका लागि सलील ज्ञवालीले “Great Minds on India” नामक अनुसन्धानात्मक कृति प्रकाशन गरेको पाइन्छ जसलाई संसारका विभिन्न भाषामा अनुवाद गरिसकिएको छ। नेपाली अनुवाद अङ्ग्रेजी तथा नेपालीभाषा–साहित्यका प्रकाण्ड विद्धान प्रा.डा.गोविन्दराज भट्टराईले गर्नु भएको छ। नेपाली भाषामा अनुवादित त्यस कृतिलाई ‘पूर्वीय सभ्यता: विश्वविख्यात विद्धानहरूका दृष्टिमा’ भनी नामकरण गरिएको छ। एकेडेमिक पब्लिकेशन, बारा बजार सिलाङद्वारा प्रकाशित जम्मा १६० पृष्ठको सो कृति आकारका दृष्टिले त्यति ठुलो नभए पनि गागरमा सागर अटाउने काम त्यसले गरेको छ।
प्रस्तुत विवेच्य कृतिका अन्वेषक तथा लेखक सलील नाताले मेरा भतिज हुन्। उनको जन्म भारतको सिलाङमा भएको हो। त्यति मात्र नभएर हामी साँधभाइ अर्थात् सँधियार हौँ। त्यसले गर्दा पनि उनको यस कृतिले लोकप्रियता पाएको देख्दा मलाई मेरै कृतिले लोकप्रियता पाएभन्दा अझ बढी खुसी लागेको छ। संस्कृतमा भनिएको पनि छ: “पुत्रात्इच्छेत्पराजयम्।” आफ्ना सन्तानले आफूले भन्दा बढी उन्नति–प्रगति गरुन् आफूभन्दा अझ माथि पुगुन् भन्ने चाहना हरेक बाबुआमाको हुन्छ। केही अपवादलाई छाडेर आफ्ना सन्तानका नामबाट चिनिन पाउँदा हरेक आमाबाबुले गर्व बोध गर्छन्। त्यसैले मेरा भतिज सलीलको साहित्यिक, भाषिक, वाङ्मयिक, भौतिक उन्नतिका साथै प्राज्ञिक क्षेत्रमा समेत उनले ख्याति कमाएको देख्दा मलाई गर्व बोध भएको छ। भारतका विभिन्न स्थानका विद्यालयमा उनका कृतिहरू पाठ्यपुस्तकका रूपमा पढाइ हुने गरेको पाइन्छ। संसारभर सलीलको नाम फैलिँदै छ। यसबाट सलील सिद्धहस्त लेखकका रूपमा स्थापित भइसकेको कुरा स्पष्ट हुन्छ।
सलीलले सृजनात्मक लेखन र अनुसन्धानका क्षेत्रमा जेजस्तो योगदान पुर्याइरहेका छन् त्यसमा धेरै मात्रामा उनको साधना र केही मात्रामा आनुवंशिक गुण पनि रहेको पाइन्छ। सलीलका हजुरबा त्रिलोचन ज्ञवाली पनि आफ्नो जमानाको ख्यातिप्राप्त पण्डित हुनुहुन्थ्यो भने उनका पिता कृष्णप्रसाद ज्ञवाली पनि कुशल कवि तथा प्रसिद्ध विद्वान् हुनुहुन्थ्यो। नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका कवि कृष्णप्रसाद ज्ञवाली कविता र निबन्ध विधामा समेत सिद्धहस्त हुनुहुन्थ्यो। उहाँको ‘पिपलको छहारी’ नामक निबन्ध सङ्ग्रह निकै प्रसिद्ध छ। सलीलमा पनि त्यही वंशाणुगत प्रतिभा पाइन्छ।
सलीलको साहित्यिक तपस्याबाट सिर्जित उक्त कृति संसारका विभिन्न भाषामा अनुवाद गरिएको छ र त्यसले छोटो समयमा नै विश्वभर लोकप्रियता प्राप्त गरिसकेको छ। पूर्वीय सभ्यताको महत्त्व देखाउँदै पूर्वीय सभ्यतालाई विश्वभर फैलाउनका लागि सो कृतिले निकै महत्त्वपूर्ण काम गरेको छ। नेपाली भाषामा अनुवाद गर्ने काम अङ्ग्रेजी विषयका प्राध्यापक तथा नेपाली भाषा र साहित्यका अनन्य साधक, सुप्रसिद्ध साहित्यकार डा. गोविन्द भट्टराईद्वारा भएकाले आधिकारिक र प्रामाणिक बन्न पुगेको छ। त्यसो त संसारका जति पनि भाषामा त्यो कृति अनुवाद भएको छ तत्तत् भाषा–साहित्यका आधिकारिक प्रामाणिक र ख्यातिप्राप्त विद्वानबाट नै भएको छ। त्यसमा पनि नेपाली भाषामा अनुवाद गर्ने व्यक्ति त्यस्तो हुनुहुन्छ जसले अनुवादमा नै विद्यावारिधिको शोधकार्य गर्नुभएको छ। त्यसले गर्दा पनि “Great Minds on India” को नेपाली अनुवादको महत्त्व अझ बढी रहेको छ।
संस्कृत साहित्य समृद्ध छ, पूर्वीय संस्कृति परिष्कृत छ। हामीले त्यसको महत्त्व बुझ्न सकेका छैनौँ। संस्कृत साहित्यको अध्ययन नगरी अन्य (विशेषतः अङ्ग्रेजी) भाषाका किताबहरू मात्र पढेर खुब पढैया भएको धाक लगाउने गर्दछौँ तर विभिन्न पाश्चात्य विद्वान्हरूले संस्कृत साहित्य र पूर्वीय सभ्यताको मुक्त कण्ठले प्रशंसा गरेका छन् जसको उल्लेख यसमा गरिएको छ। त्यसै क्रममा संस्कृत साहित्यका महाकवि कालिदासद्वारा रचित ‘अभिज्ञान शाकुन्तल’को प्रशंसा गर्दै जर्मनका विश्वविख्यात कवि जोहाङ उल्फग्याङ भोन गेटेले यसो भनेका छन् “सर्वप्रथम शाकुन्तल फेला पारेपछि यसले मभित्र यस्तो प्रकारले उत्साह भरिदियो र मलाई यसरी कि म यसको अध्ययन नगरी रहन सकिन। यहाँसम्म कि मैले एक असम्भव प्रयास गर्न अति प्रेरित भएर यसलाई कुनै रूपमा जर्मन रङ्गमञ्चमा उतार्ने प्रयास गरेँ। ती प्रयत्नहरू व्यर्थ भए तथापि तिनले मलाई यो अत्यन्तै मूल्यवान् सिर्जनासँग गहिरो गरी परिचित गराए।”
महाकवि कालिदासद्वारा रचित अभिज्ञान शाकुन्तलको प्रशंसा गर्दै जर्मनका दार्शनिक, कवि, इतिहासकार तथा नाटककार र गेटेपछिका सर्वाधिक चर्चित व्यक्तित्व फ्रेड्रिक शिलरले यसो भनेका छन् “सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजसम्ममा अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलको नजिक पुग्ने कुनै कृति रचिएकै छैन।”
जर्मन दार्शनिक, धर्मशास्त्री, कवि र समालोचकका रूपमा सुप्रसिद्ध जोहान गटफ्रिड हर्डरले अभिज्ञान शाकुन्तल को प्रशंसा गर्दै निम्नानुसारको धारणा व्यक्त गरेका छन् “मैले मानव मस्तिष्कका उपजहरूमा शाकुन्तल भन्दा बढी आनन्दकर कुनै कृति पाउन सकिनँ। यो त पौरस्त्य जगत्को एउटा पुष्प–यस प्रकारको यो नै प्रथम सुन्दरतम थुँगा हो। यससँग तुलनीय कृतिहरू सायद दुई हजार वर्षमा एकपल्ट मात्र जन्मिन्छन् होला।”
जर्मन–स्विस उत्पत्तिका महान् वैज्ञानिक, दार्शनिक एवं चिन्तक तथा सापेक्षतावाद सिद्धान्तका प्रवर्तक अल्बर्ट आइन्स्टाइनले पूर्वीय सभ्यताप्रति व्यक्त गरेको धारणा यस प्रकार छ “हामी पूर्वीय सभ्यता प्रति चिर ऋणी छौँ किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन।”
पूर्वीय वाङ्मयबाट अत्यन्त प्रभावित ब्रिटिस–इन्डियाका प्रथम गभर्नर लर्ड वारेन हेस्टिङ्सले “श्रीमद् भागवत गीताको प्रशंसा यसरी गरेका छन्: भगवद्गीता एक महान् मौलिक चिन्तनको निष्पादन एवं लोकोत्तर धारणा अनि अतुलनीय प्रकृतिका तर्क र शब्दले युक्त ग्रन्थ हो, जो सम्पूर्ण ज्ञात मानव धर्महरूमा एक मात्र अपवाद हो भनेर म घोषणा गर्दछु।”
त्यस्तै विलहेल्म भोन हुम्बोल्टले “कुनै पनि मानव–भाषामा विद्यमान सम्भवतः गम्भीरतम, सर्वाधिक उदात्त एक मात्र दार्शनिक गीत गीता नै हो।”
फ्रान्सका प्रसिद्ध लेखक, दार्शनिक, समालोचक, इतिहासकार एवं फ्रान्सेली राज्यक्रान्तिका अग्रणी फ्राँस्वा भोल्तेअरले पूर्वीय वाङ्मयको प्रशंसा यसरी गरेका छन्– “म विश्वस्त छु–हाम्रामा सबै कुरा गङ्गाजीको तटबाटै प्राप्त भएका छन्–खगोलशास्त्र, ज्योतिष शास्त्र, अध्यात्म विद्या सबै सबै।”
सन् १९४१ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता महान् बेल्जियम लेखक काउन्ट मौरिस म्याटर लिङ्कले हिन्दु धर्मको प्रशंसा गर्दै यस्तो धारणा व्यक्त गरेका छन्–“हिन्दुहरूको धर्म कसरी उत्पन्न भयो भन्ने कुरा हामी भन्न सक्दैनौ। यसबारे सचेत हुँदा हामी अघि नै यो भूमि आफ्ना व्यापक रूपरेखामा र प्रमुख सिद्धान्तमा पूर्ण भएको हामी पाउँछौँ।”
पूर्वीय जगत्ले भन्दा पाश्चात्य जगत्ले वेदको महत्त्व बुझेर त्यसको प्रशंसा गरेका छन्। इलेक्ट्रिक म्यग्जिनः फोरेन लिटरेचरमा वेल्ड मोर एग्न्यु, वाल्टर हिलियर्ड बिडवेलद्वारा वेदको महत्त्व यसरी दर्साइएको छ –“वेद एउटा यस्तो सर्वाधिक मूल्यवान् उपहार हो, जसका निमित्त पाश्चात्य जगत् सदैव पूर्वप्रति ऋणी रहेको छ।”
प्रसिद्ध जर्मनेली विद्वान् सोपेन्हावर सोसाइटीका संस्थापक पौल डुसनले उपनिषद् र वेदान्तको महत्त्व यसरी प्रस्तुत गरेका छन्–“ज्ञानरूपी वृक्षमा उपनिषद्भन्दा सुन्दर पुष्प कहीँ फुलेको छैन, अनि वेदान्त दर्शनभन्दा सुन्दर फल कहीँ फलेको छैन।”
विडम्बनाको कुरा के छ भने पश्चिमी जगत्का अनेकौँ सुप्रसिद्ध विद्वान् तथा वैज्ञानिकहरूद्वारा प्रशंसित संस्कृत भाषा र पूर्वीय सभ्यता वर्तमानमा पूर्वीय जगत्मा नै उपेक्षित र अवहेलित बनेको छ। यस्तो अवस्थामा संस्कृत भाषा र पूर्वीय सभ्यताको महत्त्व झल्काउने खालका यस्ता कृतिहरू प्रकाशन हुनु जरुरी छ। संस्कृत भाषालाई मृतभाषा र पूर्वीय सभ्यतालाई पाखे असभ्य भन्नेहरूको मुखमा बुजो लगाउन यो कृति पर्याप्त छ। संस्कृत वाङ्मय र पूर्वीय सभ्यताप्रति सुनियोजित रूपमा तीव्र प्रहार भइरहेको वर्तमान अवस्थामा यस कृतिले त्यस्ता षड्यन्त्रकारीहरूको षड्यन्त्र चिर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ।
यस लेखमा अभिव्यक्त विभिन्न विद्वान्हरूद्वारा धारणाबाट हाम्रो पूर्वीय सभ्यता र संस्कृति तथा साहित्य कति समृद्ध छ भन्ने कुरा स्पष्ट हुन्छ। तर हामीले आफूलाई कहिले पनि चिन्न सकेनौँ। आफ्नो भाषा, साहित्य, कला, सभ्यता र संस्कृतिबारे अनभिज्ञ हामी त्यस्ता पात्र हौँ जसले आफैलाई चिन्न सकेको छैन। अरूले चिनाइदिएपछि मात्र हामीले आफूलाई र आफ्नो भाषा, साहित्य, कला, सभ्यता र संस्कृतिलाई चिन्दछौँ र त्यसको महत्त्व बुझ्दछौँ। संसारका विभिन्न विद्वान्हरूले विभिन्न भाषामा हाम्रो भाषा, साहित्य, कला, सभ्यता र संस्कृतिबारे व्यक्त गरेका धारणा, दृष्टिकोण, विचार आदि बुझ्नका लागि पनि हामीमा त्यो भाषिक ज्ञानको आवश्यकता पर्दछ जो हामीजस्ता सर्वसाधारण र सामान्य पढालेखा व्यक्तिको पहुँचभन्दा धेरै परको कुरा हो। अर्को पक्ष के हो भने कतिपय अवसरमा कतिपय विद्वान् वक्ताहरूले प्रसङ्गवश पूर्वीय सभ्यता–संस्कृति र कलाबारे पश्चिमी विद्वान्का केही दृष्टिकोण उद्धृत गरे तापनि एउटै एकमुस्ट रूपमा एकत्रित गरी पुस्तकको रूप दिनु निकै प्रशंसनीय, स्वागतयोग्य र अनुकरणीय काम हो। यस्ता काम एक छिनको प्रयासले रातारात हुन सक्तैनन्। यसका लागि विद्वत्ता, लगनशीलता, दीर्घसाधना र धैर्य चाहिन्छ। अनुसन्धाता सलीलमा ती सबै गुणको सङ्गम भएकाले नै यो काम सम्भव भएको हो। उनको धेरै वर्षको खोज कार्यको उपज हो यो कृति।
यसको नेपाली अनुवादमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका निम्नलिखित कवितांश उद्धृत गरी समावेश गरिएको छ, जसबाट महाकवि देवकोटा पनि पूर्वीय जगत्को प्राचीन आर्ष सभ्यताबाट अत्यधिक प्रभावित भई आफ्नो पहिलो महाकाव्यको विषय स्रोत महाभारतमा वर्णित शकुन्तलोपाख्यानलाई बनाएको कुरा स्पष्ट हुन्छ:
“मीठो लाग्छ मलाइ ता प्रिय कथा प्राचीन संसारको
हाम्रो भारत वर्षको उदयको हैमप्रभा सारको
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिँदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै।”
स्रष्टा, द्रष्टा तथा अनुसन्धाता सलील पनि पूर्वीय सभ्यताबाट प्रभावित देखिन्छन्। त्यसैको फलस्वरूप उनले ज्ञान सागरको अथाह गहिराइमा डुबुल्की मारेर अमूल्य मोतीका दाना टिपी तिनलाई जनसमुदायसमक्ष राखिदिने काम गरेका छन्। सलीलको यस पवित्र कार्यको सबैतिरबाट प्रशंसा भइरहेको छ। संसारका कैयन् मुलुकका विविध विषयका ख्यातिप्राप्त व्यक्तित्वहरूले यस कृतिको मुक्तकण्ठले सराहना गरेका छन् र यसबारे विभिन्न पत्रपत्रिकाहरूमा कैयन् लेख प्रकाशित भएका छन्। नेपाली अनुवादमा प्रा.घनश्याम कँडेल र स्वयं अनुवादक डा.गोविन्दराज भट्टराईको सारगर्भित तथा समीक्षात्मक मन्तव्य समावेश गरिएको छ। त्यसैले यसबारे धेरै कुरा उल्लेख गरिरहन नपर्ला। आङ्ग्ल भाषामा लेखिएको “Great Minds on India” लाई मूल भाषाको जत्तिकै आस्वाद्य बनाउनमा अनुवादमा विद्यावारिधि उपाधि प्राप्त विद्वान् लेखक डा.गोविन्दराज भट्टराईको उल्लेखनीय भूमिका रहेको देखिन्छ। त्यस्तै नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी आदि विविध भाषाविद् पूर्वीय तथा पाश्चात्य दर्शनका विज्ञ प्राध्यापक घनश्याम कँडेलको मन्तव्यले यसमा सुनमा सुगन्ध थपेको देखिन्छ। त्यसैले यो कृति सुन्दर बनाउनका लागि लेखक/सङ्कलक र भूमिका लेखक सबैको हात रहेको स्पष्ट हुन्छ। यसै सन्दर्भमा एउटा कुरा उल्लेख गर्न मन लाग्यो। त्यो के भने यस्ता कृतिहरूलाई पाठ्यक्रम निर्माता तथा पाठ्यपुस्तक लेखकहरूले पाठ्यसामग्रीका रूपमा समावेश गर्नका लागि पहल गर्नु आवश्यक छ। त्यसो भएमा आजको पुस्ताले आफ्नो प्राचीन सभ्यता, संस्कृति बुझ्नेछ र त्यसबाट लाभान्वित हुनेछ। यसतर्फ हाम्रो मुलुकका शिक्षाविद्हरूको ध्यान जानु जरुरी छ। अन्त्यमा अन्वेषक तथा लेखक सलीलको लेखन यात्राको निरन्तरताको कामना गर्दै यो संक्षिप्त टिप्पणीलाई यहीँ टुङ्ग्याउँछु।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.