‘प्रधानमन्त्री ओलीको फाइँफुर्ति, कार्यकर्ता पानी मरुवा’

‘प्रधानमन्त्री ओलीको फाइँफुर्ति, कार्यकर्ता पानी मरुवा’

1.3k
SHARES

प्रिय प्रम ओली,

तपाईँको पार्टी एमालेले शक्ति प्रदर्शन गर्ने भन्ने सूचना सुनेपछि यत्ति लेख्न मन लाग्यो।

शक्ति प्रदर्शन भनेको के हो? लगातार सत्ता र शक्तिमा बसिरहेको दल र त्यसको सर्वोच्च मान्छेले प्रदर्शन गर्ने शक्ति हुनपर्ने कस्तो हो?

यतिका दिनदेखि शिक्षकहरू आन्दोलनरत छन् तीसँग भएका सम्झौता पालन गर्ने हिम्मत देखाए पो शक्ति प्रदर्शन।

चामलमा घुन पिसिएझैँ एकातिर सयौँ निर्दोष सञ्चालकहरू महिनौँदेखि जेलमा छन् अर्कोतिर लाखौँ बचतकर्ताको रकम के हुने हो अतापता छैन; सहकारीका वास्तविक ठगबाट आन्द्राभुँडी उधिनेर भए पनि जनताको पैसा निकाल्न सके पो प्रम हुनुको तुजुक। भारतमा लुकेको दुर्गा प्रसाईँलाई झैँ कुन्नि कता गायब पारिएको जीबीलाई जिम्दै समातेर ल्याए पो कार्यकारी हुनुको फाइँफुर्ति!

एउटै सार्वजनिक संस्था छैन जसलाई जनताले साँच्चैको विश्वास गर्छन्। सामुदायिक स्कुल सक्यौ, विश्वविद्यालय निल्यौ, अस्पताल घिनलाग्दा छन्, न्यायालय बिकाऊ छन्। पुलिस अफिसरहरू टेबल मुनीबाट दलको लेबी बुझाउँछन्!

अति राजनीतिकरणले ध्वस्त भएका सार्वजनिक संस्थाहरूलाई पूर्ण स्वायत्तता दिए पो दम। विद्यार्थी, शिक्षक र कर्मचारीका भातृसंठगन खारेज गरेर पनि उत्तिकै बलियो छु भन्ने विश्वास राख्न सके पो पार्टी अध्यक्ष हुनुको ताकत!

बालेनलाई गाली नगरी खाएको पच्दैन तपाईँलाई अचेल! यस्तो लाग्छ एमालेले एकल वर्ग शत्रु ठानेको छ बालेनलाई। देशको प्रधानमन्त्री एउटा पालिकाको मेयरसँग जोरी खोजेर बसेको देख्ता लाजै लागिसक्यो! “छोरो बालेन, तिमीले जनताको आशा र लोकतन्त्र प्रतिको विश्वासलाई जगाउन ठुलो भूमिका खेलेका छौ। भन तिमीलाई म कसरी सजिलो र बलियो पार्न सक्छु?” भनेर पितावत अभिव्यक्त भए पो विशालता। महानगरको तर मार्न नपाएर छटपटिएका दलालको भाषा बोलेर केको शान देखाइ?

फसलको भाउ नपाएर किसान आजित छ, बैङ्कको ब्याज तिर्ने व्यापार पनि नभएर व्यवसायी व्याकुल छ। सत्ता र शक्तिको बलमा जसलाई गोदे पनि भएको छ, बालबालिकालाई घरेलु कामदार बनाएर जति शोषण गरे पनि भएको छ, जस्तै हिंसालाई पनि पैसाको बलले किनेको छ। महिला, दलित, उत्पीडित सबका सबको दलन अझै उस्तै छ।

लौ न जनताले चिनिसकेका भ्रष्टाचारीलाई मन्त्रीबाट निकालेर फुर्ती देखाइ दिनुस्! आफ्नो दलका हुन कि बेदलका अनियमितता गर्नेलाई पाता कस्नुस्। अस्ति मधेसको सभामा पालिकाको पैसाले पेट्रोल बाँड्ने जनप्रतिनिधिलाई दलको सदस्यताबाट निकाली दिनुस्।

बल्ल पो शक्ति प्रदर्शन!

दासजस्ता कार्यकर्ता र भेडाजस्ता पिछलग्गु अनि रक्सी र मासुमा बिक्ने हल्लुँडेहरूको भीड देखाएर पनि कतै शक्ति प्रदर्शन हुन्छ? यो त घनघोर कायरता हो।
आफू कति नैतिकवान् र जनप्रिय छु भन्ने जान्न मन छ भने आफ्नै फेसबुक पोस्टको मुन्तिरका कमेन्ट पढे हुन्छ। आफू कति शक्तिशाली छु भन्ने देखाउन मन भए यो देशको कुनै पनि सहरको कुनै पनि चोकमा बिना सुरक्षाकर्मी १ घण्टा उभिएर देखाए हुन्छ।

यति गर्नु भो भने मैँ पनि एमालेको सदस्यता लिउँला र तपाईँको जयजयकार गरुँला! सक्नु हुन्छ हामीले खोजेजस्तो शक्तिशाली हुन? नाडीमा दम र हृदयमा हुती छ?

काँग्रेस, एमाले, माओवादी या अन्य कुनै राजनीतिक दलमा लागेर साधारण सदस्यता लिएका आम नागरिकलाई मेरो सानो सुझाव :

तपाईँलाई यदि राजनीति गरेर कुनै निर्वाचन लड्नु छैन, सांसद, मन्त्री त छाड्नुस्—सामान्य वडाध्यक्ष पनि हुनु छैन भने त्यो दलको ट्याग बोकेर किन हिँड्नुहुन्छ? दलदलजस्ता दलको हिलो अनुहारमा किन दल्नुहुन्छ?

फलानो एमाले हो, फलानो काँग्रेस हो, फलानो माओवादी, राप्रपा या रास्वपा वा जनमत पार्टीको सदस्य हो भनेर किन चिनिनुहुन्छ?

भन्नु होला : राजनीति त विचार हो।

तर राजनीतिक विचारका लागि दलको सदस्यता किन लिनुपर्छ? तपाईँ कम्युनिस्ट हो भने स्वतन्त्र वामपन्थी हुन सक्नुहुन्छ, स्वतन्त्र रहेरै उदारवादी या लोकतन्त्रवादी हुन सक्नु हुन्छ। इन्डिपेन्डेन्ट डेमोक्रेट हुन सक्नुहुन्छ। जे-जस्ता राजनीतिक विचार भएका पार्टी अस्तित्वमा छन्, तपाईँ त्यही विचारलाई स्वतन्त्र भएर पनि त लिन सक्नुहुन्छ।

बरु भोट सधैँ त्यही पार्टीलाई हाल्नुस्, केही फरक पर्दैन, तर बिन्ती छ—सदस्यता नवीकरण नगर्नुस्।

निष्पक्ष हुनुहोस्। स्वतन्त्र हुनुहोस्। सबैको हुनुहोस्। देशको हुनुहोस्!

छोटकरीमा :

१) कहिल्यै चुनाव उठ्नु नै छैन भने दलको सदस्य नबन्नुस्। कहिल्यै चुनावको टिकट पाउँदिन भन्ने लाग्छ भने पनि पार्टी छोड्दिनुस्। ढोका ढुकेर नबस्नुस्| त्यो भनेको दास हुनुजस्तै हो।

२) चुनाव उठ्नु बाहेक नियुक्ति–सिफारिसको आशा वा अरू कुनै कारणले दलमा लागेको हो भने पनि निर्वाचन आयोगले नचिन्ने कमिटीमा नबस्नुस्। टोल विकास तहसम्मका कमिटीमा बसेर हाँसोको पात्र नबन्नुस्।

तपाईँजस्ता बिना कारण र बिना उद्देश्य दलको सदस्यता लिएका पानी मरुवाहरूकै कारणले नै दलहरू सठ्ठाएका हुन्।

जुन दिन दलका नेतालाई आफ्ना भोटरहरू त सबै स्वतन्त्र नागरिक मात्रै पो रहेछन्, दलका साधारण सदस्यले एक सिट पनि आउन मुस्किल रहेछ भन्ने बोध हुन्छ, त्यो दिन उनीहरू सच्चिन बाध्य हुनेछन्।

जुन देशमा १०% भन्दा बढी बालिग नागरिकले दलको सदस्यता लिएका हुन्छन् त्यो देश कहिल्यै बन्दैन।

(गनेस पौडेलको यो विचार उनको फेसबुक पेजबाट लिइएको हो।)

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.