"/>

पूर्वराजा ज्ञानेन्द्रको महाराजाधिराज मोह, तीनकुने विध्वंसलाई भने जनप्रदर्शन

पूर्वराजा ज्ञानेन्द्रको महाराजाधिराज मोह, तीनकुने विध्वंसलाई भने जनप्रदर्शन

2.1k
SHARES

काठमाडौँ : हरेक नयाँ वर्ष नुतन, आशा र विश्वास बोकेर आउँछ। तर, वर्षको बिदाइमा एउटा घनघोर निराशा दिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्ष २०८१ त्यस्तै भयो। जुन २०६२/६३ को जनआन्दोलन सफल भएयता कायम छ।

ज्ञानेन्द्रलाई आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ भन्ने लागेको छ। र बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन खोजिरहेका छन् उनी। उनी नयाँ वर्षले नयाँ आशा, उमङ्ग र उत्साह ल्याउने आशा गरिरहेका छन्। सुनौलो भविष्यको सुनिश्चितता खोजिरहेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले जारी गरेको भिडियोमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ वर्ष २०८२ सालको अवसरमा बक्सेको शुभकामना’ लेखिएको छ। नेपालको संविधानले श्री ५ महाराजाधिराज चिन्दैन। तर, उनले उहिल्यै राजगद्दीबाट हुकुम दिए जसरी नै राजसंस्थाको योगदान सुनाए।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्‍याउँदै आएको भने। बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परालाई पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता र प्रजातन्त्रको मूल कार्य मान्दा जनभावना बमोजिम हुने सुनाए।

आफ्नो निर्देशनको भोलिपल्ट काठमाडौँको तीनकुने क्षेत्रमा विध्वंस मच्चाएर फरार भएका दुर्गा प्रसाईँ पक्राउ परेको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र बोले। अवसर पारे नयाँ वर्षको। वाहना बन्यो शुभकामना।

अराजक गतिविधिलाई पूर्वराजा ज्ञानेन्द्रले केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा अत्यन्तै दुःख लागेको उल्लेख गरे।

उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता पैदा भएको बताए। १९ माघ २०६१ मा नागरिक स्वतन्त्रता खोसेका उनले नेपाली जनतामा पैदा भएको जागरूकतालाई सकारात्मक रूपमा लिएको सुनाए।

पूर्वराजा ज्ञानेन्द्रलाई नयाँ वर्ष ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ। विदेश पलायन भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन अभियान चलाउनु पर्ने आवश्यकता उनले सुनाए।

जनभावना र जनचाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिएको उनले उल्लेख गरे। नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको उनले देखेका छन्।

सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने बताए उनले। ‘हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ,’उनले भने,’त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ।’

उनले आफ्नो आह्वान कसैको निजी स्वार्थ पूर्तिका लागि नभएको प्रस्टीकरण पनि शुभकामनामा दिए। समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति भएको जिकिर सुनाए। उनले समस्या समाधानका लागि संवाद, सहमति, समन्वय र सहकार्यको बाटो देखाए।

राजनीतिक रूपमा यो वर्षको अन्त्य सामान्य रहेन। आर्थिक वर्ष प्रारम्भ नहुँदै सरकार बदलियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै देशका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर असार १७ गते राती नयाँ सरकार बनाउने ७ बुँदे सहमति गरे।

७ बुँदे सहमतिमा संविधान संशोधन, अर्थतन्त्र सुधार र डेलिभरीका विषय समावेश गरिएको थियो। तर सरकार बनेको ९ महिना पुग्दासमेत त्यसमा कुनै सुधार आउन नसके पछि जनआक्रोश बढेको छ।

जुन सहमति गरेर सरकार बनेको हो, त्यो सहमति कार्यान्वयनको सुरुवातसमेत भएको देखिँदैन। कानुन निर्माणलाई तीव्रता दिने भनेको सरकारले पाँच वटा अध्यादेश जारी गर्ने र एकाध विधेयक अघि बढाउनेबाहेक संसदीय भूमिका कमजोर साबित गर्‍यो।

पूर्वराजा ज्ञानेन्द्र महाराजाधिराज बन्न लाग्दा दलहरू भने सरकार फेर्नेतिर लागेका छन्। चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने सङ्केत गरे।

नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना बारेको प्रश्नमा प्रचण्डले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको जवाफ दिए।

काँग्रेस, एमाले र माओवादीको सत्ता लुछाचुँडीले राजतन्त्रको पक्षमा माहौल बढेको छ। यही मौकामा चौका हान्ने दाउ हरेर बसेका पूर्वराजा ज्ञानेन्द्रले दिएको शुभकामना वक्तव्यले राजनीति तरङ्गित छ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका प्रमुख नेताहरू देशका जल्दाबल्दा समस्यालाई छोडेर पूर्वराजाकै शुभकामना सन्देशमा घोत्लिएका छन्। पूर्वराजा ज्ञानेन्द्र जल्दाबल्दा समस्या सुनाएर जनता आफ्नो पक्षमा तान्ने दाउमा लागेका छन्।

विध्वंसात्मक तीनकुने प्रदर्शन पछि २५ गते बल्खुमा प्रदर्शन गरेको राप्रपाले वैशाख ७ गते अर्को प्रदर्शनको आयोजना गर्दैन। गणतन्त्रको पक्षमा समाजवादी मोर्चा, एकीकृत समाजवादीले प्रदर्शन गरे पछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि प्रदर्शन गर्न लागेको छ।

गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ४० वर्षमुनिका युवाहरूलाई काठमाडौँ आएर राजतन्त्र ढलेको खुसीयाली मनाउन आव्हान गरेका छन्।

राजतन्त्रबारे भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जोडेर दिएको अभिव्यक्ति काँग्रेस सभापति शेरबहादुर देउवाले सच्याएका छन्। आफ्नो त्रुटि भएको भनेका छन्।

राजतन्त्रको भूतले तर्सियो नेतातन्त्र, वैशाख ११ गते काठमाडौँ आउन उर्दी

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.