काठमाडौं : देशमा गणतन्त्र आएको दुई दशक पुग्न लाग्दा पूर्वराजा ज्ञानेन्द्र शाह पुन गद्दीमा आसीन हुने तयारीमा लागेका छन्। तीनकुने घटनामा दुख व्यक्ति गरेर वार्ता, संवादबाट सबै विवादको समाधान खोज्न भनेका छन् उनले।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गरेर गणतान्त्रिक सरकारको कामले जनता सन्तुष्ट नभएको उल्लेख गरेर ज्ञानेन्द्र जनअसन्तुष्टि क्यास गर्ने दाउमा छन्। ‘देश बिग्रियो, खत्तम भयो, सबै सकियो’ भनेर निराशा व्यक्त गरेका ज्ञानेन्द्रले आशा जगाउने एजेन्डा दिन सकेका छैनन्। आफू गद्दीमा आसीन हुँदा भएका राम्रा काम समेत दिन सकेका छैनन्।
राजनीतिक दलहरूले गर्न नसकिरहेका काम गरेर देखाउने भिजन ज्ञानेन्द्रले दिएका छैनन्। काम गर्न नसकेका दलहरू भने ज्ञानेन्द्रको अभिव्यक्तिमै घोत्लिएर पार्टी बैठकमा छलफलको एजेन्डा बनाइरहेका छन्।
१० वर्ष युद्ध लडेको माओवादी सबैभन्दा धेरै आत्तिएको देखिएको छ। उसले तीनकुने विध्वंस भएकै दिन भृकुटीमण्डपमा जनप्रदर्शन गर्यो। पूर्वराजा ज्ञानेन्द्रले पनि तीनकुनेको अराजक भिडलाई ‘जनप्रदर्शन’ भने।
सरकारको नेतृत्व गरेको एमालेले सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्रको ताउरमाउरलाई छलफलको विषय बनायो। फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना वक्तव्यले चैत १५ गते तीनकुनेमा विध्वंस निम्तिदा गणतन्त्रवादी दलहरू पूर्वराजाप्रति अनेकन् आरोप प्रत्यारोप लगाइरहेका छन्।
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, जरिवाना गर्नुपर्ने, सार्वजनिक रूपमा माफी माग्नुपर्ने लगायतका माग भइरहेको छ। तर, पूर्वराजाले दिएको नयाँ वर्षको शुभकामनाले फेरि तहल्का मच्चाउने देखिएको छ।
शुभकामना सन्देश सार्वजनिक भए लगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकका निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले १५ गतेको घटनालाई जनताको घरमा आएको जागरण भन्ने र नयाँ वर्षका अवसरमा जारी भएको शुभकामना वक्तव्यमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको सुनाए।
बैठकले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन वैशाख ११ गतेलाई पार्टीले भव्य रूपमा मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ।
झापामा पुगेर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ४० वर्ष मुनिका सबै युवालाई काठमाडौँ आउन र गणतन्त्र दिवसको उत्सव मनाउन आव्हान गरेका थिए।
सरकारको काममा सत्तारुढकै असन्तुष्टि
गभर्नर नियुक्तिमा भागबन्डा नमिल्दा सरकार परिवर्तनको सङ्केत देखिएको छ। नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको मिलीजुली सरकार १० महिना पुग्दा ढल्ने भविष्यवाणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिदिए।
प्रचण्डको भविष्यवाणीले सरकारको नेतृत्व गरेको नेकपा एमाले तर्सिएको छ। एमालेले सरकार परिवर्तनको हल्ला निराधार रहेको बताउन सचिवालय बैठक नै राख्यो।
काँग्रेस एमालेले सरकार बनाएको ९ महिना पुग्दा नपुग्दै फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गर्यो। प्रचण्डले सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा पोखेको निचोड निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘एकथरी व्यवस्थै फेर्नुपर्ने अभियानमा लाग्ने र अर्कोथरी त्यसैलाई देखाएर सत्तामा पुग्ने षडयन्त्रमा लाग्नु अहिलेको आवश्यकता होइन,’ज्ञवालीले भने।
सरकारको काममा काँग्रेस नेताहरूले जनाएको असन्तुष्टिलाई एमालेले सकारात्मक रूपमा लिएको उनले बताए। यद्यपि सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने निचोडमा पुगेको एमालेले भोलिपल्टै काँग्रेससँग छलफल गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले झन्डै एक घण्टा छलफल गरे। सरकारको काम कारबाही बारेमा समीक्षा गर्दै दुई दलीय संयन्त्रको बैठक राख्ने निष्कर्ष ओली र देउवा पुगेको समाचार सार्वजनिक भए।
खासमा ओली र देउवाबीच गभर्नर नियुक्तिमा सहमति जुट्न सकेको छैन। गठबन्धन सरकारका बारेमा काँग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवाबीच एक ढिक्का भएर अघि बढ्ने सहमति बनेको दाबी गरिएको छ।
पार्टी भित्रैबाट देउवालाई सरकारको काम ‘ट्याक्टरले खेत जोते जस्तो’ हुँदा पनि नबोलेको आरोप छ। ओली नेतृत्वको सरकारको कार्यसम्पादनप्रति महामन्त्री गगन थापा सन्तुष्ट छैनन्। उनले सरकारको कामको गति बढाउनु पर्ने बताउँदै आएका छन्।
काठमाडौँ आयोजित एक कार्यक्रममा उनले सरकारले नागरिकका अपेक्षाहरू पूरा गर्ने तरिकाले काम गर्न नसकेको बताए। बिचौलियाहरूको पहुँच जुनसुकै प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.