पोखरा/चितवन—नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायका सदस्यहरूमाथि हुने हिंसा र उपेक्षाको पाटोलाई पुनः उजागर गराउने दुई दुःखद घटनाले जेठ महिनालाई स्तब्ध बनायो।
यी घटनाले तेस्रोलिंगी र समलिङ्गी व्यक्तिहरूको सुरक्षाको गम्भीर सवाल मात्र उठाएको छैन, राज्य र समाजको उदासीनता पनि झल्काएको छ।
जेठ १२ गते, पोखरा सिर्जना चोक नजिक डेरातर्फ जाँदै गरेकी २६ वर्षीया इशा क्षेत्रीलाई स्कुटरले ठक्कर दियो। घटनापछि उनलाई अस्पताल लगियो, तर चिकित्सकीय परीक्षणपछि गम्भीर नभएको भन्दै फर्काइयो। तर डेरामा पुगेपछि उनको अवस्था जटिल बन्दै गयो र उनलाई मणिपाल शिक्षण अस्पताल पुर्याइयो। अन्ततः चिकित्सकले उनलाई बचाउन सकेनन्।
इशाको मृत्यु सडक दुर्घटना भएको ठहर भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी ज्यान मुद्दा अनुसार कारबाही गरी इशाको परिवारलाई क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय कास्कीमा फायल पठाएको जनाएको छ।
तर, उनलाई तुरुन्तै उपयुक्त उपचार नगरिएको, अस्पतालबाट सामान्य भन्दै फर्काइएकै कारण अवस्था गम्भीर बनेको भन्ने परिवार र समुदायको आरोप छ।
तेस्रोलिंगी पहिचानकी इशा कास्कीको मादी गाउँपालिकाकी बासिन्दा थिइन्। उनले पोखरामा तेस्रोलिंगीहरूसँग मिलेर संस्थागत रूपमा पनि काम गरिरहेकी थिइन्।
यसै महिनाको जेठ २५ गते, चितवनमा २९ वर्षीया तेस्रोलिंगी महिला विकास विक (कन्चन) को मृत्यु भयो। उनी आफ्ना समलिङ्गी पार्टनर मितेन्द्र बैठा धोबीसँग लिभिङ टुगेदरमा थिइन्। घटनाको रात १ बजे मृत्यु भएको र मितेन्द्रले ‘लडेपछि मृत्यु’ भएको दाबी गरे पनि, चिकित्सकको रिपोर्टले कन्चनले मादक पदार्थ सेवन नगरेको पुष्टि गर्यो।
कन्चनकी दिदी दुर्गा विकले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी थिइन्। मृतक पक्षको आरोपअनुसार दुवैबीच विवाद हुँदा मितेन्द्रले कन्चनको टाउकोमा हिर्काउँदा उनको मृत्यु भएको हो।
प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको र अब छिट्टै मुद्दा दर्ता हुने तयारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जेठ महिनामा मात्रै पोखरा र चितवनमा भएका यी दुई घटनाले राजधानी बाहिरका समलिङ्गी र तेस्रोलिंगी समुदायका व्यक्तिमा असुरक्षा रहेको देखाएको छ।
इशा र कन्चन दुवै आफ्नो पहिचानका कारण समाजमा लाञ्छना, अवहेलनासँग लड्दै जीवन बिताइरहेकी युवती थिए। समुदायका सदस्यहरूले गहिरो पीडा व्यक्त गर्दै भनेका छन्,‘इशा र कन्चन अब फर्केर आउँदैनन्, तर उनीहरूका सपना अझ बाँकी छन्, निष्पक्ष छानबिन होस्।’
पोखरामा स्कुटरको ठक्करबाट तेस्रोलिंगी इसाको मृत्यु
चितवनमा तेस्रोलिंगीको कुटेर हत्या भएको जाहेरी, पार्टनर हिरासतमा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.