पोखरामा स्कुटरको ठक्करबाट तेस्रोलिंगी इसाको मृत्यु

पोखरामा स्कुटरको ठक्करबाट तेस्रोलिंगी इसाको मृत्यु

2.2k
SHARES

पोखरा : पोखराको सभागृह नजिकै स्कुटरको ठक्करबाट एक तेस्रोलिंगी व्यक्तिको ज्यान गएको छ। मादी गाउँपालिका–५ भैँसेकी २६ वर्षीया इसा क्षेत्रीको सोमबार राति दुर्घटनापछि उपचारका क्रममा बुधवार बिहान निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सिर्जना चोकस्थित डेरातर्फ जाँदै गरेकी इसालाई जेठ १२ गते राति ११ बजे प्रदेश ३–०२–००७प–२०२९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि उनी सामान्य अवस्थामा देखिएकी थिइन् र उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएको थियो।

प्राथमिक उपचारपछि उनी डेरामा फर्केकी थिइन्। तर अवस्था गम्भीर भएपछि पुनः मणिपाल शिक्षण अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा बुधवार बिहान ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला ट्राफिक कार्यालय कास्की प्रहरी नायव निरीक्षक प्रवीण भट्टराईले इसाको मृत्युको अनुसन्धान भइरहेको जानकारी दिए। ‘स्कुटरले ठक्कर दिएको हो कि, कुटपिटबाट हो भनेर अनुसन्धान गरिरहेका छौँ,’उनले पहिचानसँग भने,’पोस्टमार्टम रिपोर्टबाट केही आउँला।’

हाल इसाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। उनको अब केहीबेरमा पोस्टमार्टम हुने जानकारी अस्पतालले दिएको माइला दाइ दानबहादुरले बताए।

इसा चार दाजुभाइमध्ये परिवारकी कान्छी सन्तान थिइन्। बाबुआमाको पहिले नै निधन भइसकेको थियो। करिब १५–१६ वर्षदेखि पोखरामा बसोबास गर्दै आएकी इसा बेलाबेलामा आफ्नो गाउँ मादी गाउँपालिका भैँसे ओहोरदोहोर गरिरहन्थिन्।

दुर्घटनाको खबर पाएपछि अस्पताल पुगेका उनका दाजु दानबहादुर क्षेत्रीले स्कुटरको ठक्करपछि इसा अगाडि रोकिराखिएको बोलेरो गाडीमा ठोक्किएको र त्यसले उनलाई किचेको बताएका छन्। ठक्कर दिने स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

‘तेस्रोलिंगीहरुको संस्थामा काम गर्दै आएको थियो,बेलाबेला घरमा पनि जाने गरेको थियो,’दानबहादुरले पहिचानसँग भने,’दुर्घटनामा परेर निधन भयो, संस्थाहरूले सहयोगको आश्वासन दिएका छन्।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका लागि निरन्तर क्रियाशील इसा अधिकारको सवालमा आवाज उठाउँदै आएकी थिइन्। उनको निधनप्रति ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

‘मेरो एकदमै मिल्ने साथी त नि होस्,आज तैँले हामी सबैलाई छोडेर टाढा गइस्, त जहाँ भए नि हाम्रो सम्झनामा सधैँ रहिरहन्छस्,अबबाट ओए माया भनेर मलाई कसले बोलाउँछ? धेरै धेरै सम्झना कुटु,’मोनाले आफ्नो फेसबुकमा लेखिकी छन्।

समाचार शेयर गर्नुहोस्
2.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.