चितवन— घटना जेठ २५ गते मध्यरातको हो। लिभिङ टुगेदरमा बसेका तेस्रोलिंगी महिला विकास विक (कन्चन) र मितेन्द्र बैठा धोबी यस्तो अवस्थामा पुगे, जुन अवस्थाले कन्चन सदाका लागि अस्ताइन। मितेन्द्र हिरासतमा पुगे।
२५ गते रातको १ बजे सिएमसी अस्पताल चितवनले कन्चनलाई मृत घोषित गर्यो। बचाउन सकेन। कन्चन जन्डिसको बिरामी थिइन। बेलाबेला अल्कोहल (मादक पदार्थ) सेवन गर्थिन। घटना भएको दिन पनि कन्चनले मादक पदार्थ सेवन गरेको र लडेर मृत्यु भएको बयान कञ्चनका पार्टनर मितेन्द्रले दिएको जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृतले बताए।
कन्चनलाई मितेन्द्रले कुटेको भिडियो प्रहरीले सङ्कलन गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टले टाउको र गालामा घाउ देखाएको छ। लडेर भयो या कुटेर भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।
कन्चनकी दिदी दुर्गा विकले कर्तव्य ज्यान मुद्दामा जाहेरी दरखास्त दिएकी छन्। मितेन्द्रले अल्कोहल सेवन गरी लडेर मृत्यु भएको भने पनि चिकित्सकको चेकजाँचमा कन्चनले अल्कोहल सेवन नगरेको रिपोर्ट आएको छ।
घटनाको प्रारम्भिक विवरण अनुसार कन्चन आफ्ना पार्टनरसँग लिभिङ टुगेदरमा बसिरहेकी थिइन्। सँगै बस्दाबस्दै विवाद भएपछि पार्टनरले हिर्काएर हत्या गरेको मृतक पक्षको आरोप छ। “कन्चनको टाउकोमा हिर्काएको र त्यसैबाट मृत्यु भएको“ भनिएको परिवारको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, “मृतकका परिवारले हत्या आरोप लगाएका छन्, तर पक्राउ परेकाले कन्चन जन्डिसको रोगी भएकाले मादक पदार्थ सेवनपछि मृत्यु भएको दाबी गरेका छन्।“
कन्चन विक जस्ता तेस्रोलिंगी व्यक्तिहरू, जो समाजबाट उपेक्षा र घृणाको दृष्टिले हेरिन्छन्, तीमध्ये धेरै जना सुरक्षाको अभाव, रोजगारीको कठिनाइ र सामाजिक बहिष्करणका कारण वैकल्पिक सम्बन्धहरूमा आश्रित भएर बस्न बाध्य हुन्छन्। कतिपय अवस्थामा उनीहरू यौनिक पहिचान नै लुकाएर जीवन बिताइरहेका हुन्छन्।
कन्चन पनि समाजसँग डराएर आफ्नो पहिचान लुकाउँदै, घरपरिवार र छिमेकबाट टाढा पार्टनरसँग मिलेर एकान्तमा जीवन बिताइरहेकी थिइन्। तर यही नाता अन्ततः उनको मृत्युको कारण बन्न पुग्यो भन्ने आरोप अहिले उठेको छ।
तेस्रोलिंगी समुदायमा बढ्दो आत्महत्या, हिंसा, सामाजिक अपमान र पार्टनरबाटै हुने दुर्व्यवहारका घटना दिनानुदिन बढ्दै गएका छन्। तर राज्य संयन्त्र र कानुनद्वारा प्रदान गरिनुपर्ने सुरक्षा अझै सुनिश्चित नभएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू बताउँछन्।
एकातिर समाजले स्वीकार नगरेर लुकिछिपी बाँच्नु पर्ने बाध्यता, अर्कोतिर आफैँले भरोसा गरेर घर बनाएर बसेको सम्बन्धबाटै हिंसा र मृत्यु—यही दोहोरो पीडाको प्रतिनिधि बनिन् कन्चन विक।
मानव अधिकारकर्मीहरू भन्छन्—“तेस्रोलिंगी समुदायमाथिको विभेदले उनीहरूलाई असमान सम्बन्धमा बाँध्न बाध्य बनाउँछ। यस्तो असमान सम्बन्धमा जब शक्ति सन्तुलन हुँदैन, तब हिंसा र हत्या जस्ता घटना दोहोरिन्छन्।”
तेस्रोलिंगी समुदायका सदस्यहरूलाई सुरक्षित बसोबास, यौनिक सम्बन्धमा संरक्षण र हिंसाबाट कानुनी सुरक्षा सुनिश्चित गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको संस्था मायाको पहिचान नेपालले माग गरेको छ।
सचिव सुरेन्द्र पाण्डेले कन्चन हत्याको निष्पक्ष अनुसन्धान गर्न भनेका छन्। तेस्रोलिंगी समुदायप्रति हुने मानसिक, शारीरिक र लैङ्गिक हिंसाको प्रतिकारका लागि राज्यले स्पष्ट नीति लिनुपर्ने माग पनि उनले गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.