निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“ब्लु डायमन्ड निष्क्रिय बनाउने षड्यन्त्र? बजेट सकाएर भाग्ने तयारी”

“ब्लु डायमन्ड निष्क्रिय बनाउने षड्यन्त्र? बजेट सकाएर भाग्ने तयारी”

868
SHARES
तस्बिरहरु : सामाजिक संजाल

काठमाडौं — नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिआइ) समुदायको अधिकारका लागि सन् २००१ मा स्थापना भएको संस्था हो, ब्लु डायमन्ड सोसाइटी। तर पछिल्ला वर्षमा यस संस्था आफैँको अस्तित्व समाप्त पार्ने दिशामा अगाडि बढिरहेको गम्भीर आरोप संस्थापक तथा अभियन्ताहरूले लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा संस्थापक अध्यक्ष सुनिल बाबु पन्त लेख्छन्,“मानसिक स्वास्थ्य“ र “प्राइड सेलिब्रेसन“को नाममा महँगा ट्रिप, पार्टी र फुर्सदीको कार्यक्रम चलेकै छन्, तर ती कार्यक्रममा साँचो पीडा भोगिरहेका समुदायका सदस्यहरूलाई न त निम्तो दिइन्छ, न त उनीहरूको अवस्था बुझिन्छ।

पन्त लेख्छन्, “झरनामा नाच्ने, रिसोर्टमा पार्टी गर्ने, नदी किनार र स्विमिङ पुलमा फोटो खिच्ने कार्यक्रमलाई ‘कम्युनिटी हीलिङ’ भनिएको छ। तर यस्ता ‘हीलिङ’ कार्यक्रमबाट सबैभन्दा बढी पीडामा परेका सदस्यहरू बाहिरै छन्।“

उनका अनुसार, यस्ता कार्यक्रममा सहभागी हुनेहरू प्रायः संस्थाका आफ्नै कर्मचारी, तिनका साथीभाइ वा नेताहरूका रोजाइमा परेका अनुहारहरू मात्र हुन्छन्। ग्रामीण क्षेत्रका लेस्बियन, ननबाइनरी वा तेस्रोलिंगी समुदायका व्यक्तिहरू नदेखिने, नसमेटिने गरिएको छ।

पन्तको प्रश्न छ,“डिप्रेसन, बेरोजगारी, लागूपदार्थको लत वा घरबाट निकालिएका समुदायका सदस्यहरूलाई यस्ता कार्यक्रमले केही सघाउँछन् त? कि यी केवल आफ्ना लागि फ्री बिदा मनाउने बहाना हुन्?“

कार्यक्रमहरूमा महँगा रिसोर्ट, यात्रा, खाना, डान्स, गिफ्ट प्याक आदि नाममा ठुलो रकम खर्च गरिन्छ, तर वास्तविक पीडितको जीवनमा कुनै परिवर्तन हुँदैन।

पहिचान मेट्ने षड्यन्त्र?

पन्तले अर्को चिन्ताजनक बुँदा पनि उठाएका छन्, कानुनी रूपमा नेपालले तेस्रोलिंगी पहिचानलाई मान्यता दिएको भए पनि अहिले “ट्रान्स महिला, महिला हुन्“ भन्ने नारालाई दुरुपयोग गरेर ननबाइनरी र तेस्रोलिंगी पहिचान मेट्ने षड्यन्त्र चलिरहेको छ।

उनले भनेका छन् कि अन्तर्राष्ट्रिय दाताहरू पनि यस्ता प्रवृत्तिलाई समर्थन गर्ने संस्थालाई मात्रै अनुदान दिइरहेका छन्।

‘मायाको पहिचान नेपाल’का उपाध्यक्ष मधु केसी भन्छन्, “मानसिक स्वास्थ्यको नाममा कमिसन खोज्नेहरूले कार्यक्रमहरूमा आफ्नै अनुहार मात्र देखाउँछन्। जसलाई वास्ता गर्नु पर्ने हो, उनीहरूलाई न त चिन्छन्, न त बोलाउँछन्।“

उनका अनुसार, बिरामी, बेरोजगार, वा आत्मनिर्भर बन्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई संस्थाले सहयोग गर्दैन, तर पार्टी र रमाइलोमा भने लाखौँ रुपैयाँ खर्च गरिन्छ। उनले स्पष्ट शब्दमा भने, “यिनीहरू विदेशीको इसारामा नाच्ने दलाल हुन्।“

नेतृत्वविरुद्ध बोलेपछि संस्थापक पन्तमाथि नै “ट्रान्सविरोधी“को आरोप लगाइन थालेको छ। तर पूर्वकर्मचारीहरू भन्छन्, “नेतृत्वले संस्था आफू अनुकूल नचल्ने भएपछि संस्थापकलाई नै बदनाम गर्ने षड्यन्त्र गरिरहेको छ।“

चञ्चलाको कटाक्ष

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी अभियन्ता एवं ‘लिड नेपाल’ झापाकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले सामाजिक सञ्जालमा लेखेकी छन्, “सर्पलाई दूध खुवायो, फेरि डसेरै जान्छु भन्ने उखान बिर्सिए कि? म त चुप लाग्दिन। जसले गाली छर्छ, उसलाई त्यही भाषामा बुझाउनै पर्छ। माया त मन भएका मान्छेलाई दिनुपर्छ, ढुङ्गालाई सुगन्ध छर्केर गुलाब बन्छ र?“

उनको यस्तो भनाइले संस्थाको वर्तमान नेतृत्वप्रति गहिरो आक्रोश र समुदायभित्रको घृणा प्रकट गर्छ।

अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या) को भनाइ पनि त्यस्तै छ, “कार्यक्रमहरूमा मन पर्ने र चाकडी गर्नेहरू मात्र बोलाइन्छ। साँचो पीडामा परेकाहरू उपेक्षित छन्। मानसिक स्वास्थ्य वा खुसीको नाममा गलत तरिकाले पैसा खर्च भइरहेको छ।“

पन्त भन्छन्,“मानसिक स्वास्थ्यका नाममा ट्रिप होइन, चिकित्सक, परामर्शदाता, औषधि, सुरक्षित वासस्थान र रोजगारी आवश्यक छ।“
उनले दाताहरूलाई प्रश्न गरेका छन्, “के तपाईँहरूको पैसा पारदर्शी तरिकाले खर्च भइरहेको छ?“

पूर्वकर्मचारीहरूको भनाइमा, वर्तमान नेतृत्वले संस्थापक, अनुभवी कर्मचारी र सशक्त अभियन्ताहरूलाई बहिष्कार गर्दै कार्यक्रमहरू आफ्नै नियन्त्रणमा राखिरहेको छ।

प्राइड उत्सव : मानसिक स्वास्थ्य कि माइन्ड फ्रेस धन्दा?

देशभरबाट आएका उजुरी र राज्य निकायमा पुगेको दबाबपछि अहिले उनीहरूले छिटोछरितो बजेट सक्ने र संस्था आफैँ ’कोल्याप्स’ बनाउने रणनीति अवलम्बन गरेका छन्।

पूर्वकर्मचारीहरु भन्छन्,“नेतृत्व मानसिक स्वास्थ्यको नाममा पैसा खर्च गरेर कमिसनमा रमाइरहेको छ। यसमा कतिपय कर्मचारीहरू पनि संलग्न छन्।“

नेपालमा एलजिबिटिआइ समुदायका लागि बनाइएका कार्यक्रमहरूमा आज बाह्य सजावट र फोटो शोभा मात्रै देखिन्छ, तर साँचो पीडा ओझेलमा परेको छ।

अधिकारको नाममा रमाइलो, पीडाको नाममा व्यापार, पारदर्शिताको नाममा अँध्यारो फैलिएको छ। पन्त भन्छन्, “खुसी सबैको अधिकार हो, तर त्यो केवल केही चिनेका अनुहारका लागि मात्र होइन।“

समुदायको व्यापक असन्तोषका बीच, पन्तले पटक–पटक प्रश्न उठाउँदै आएका छन्। तर, नेतृत्व पक्षबाट कुनै जवाफ दिइएको छैन। एक पूर्वकर्मचारी भन्छन्, “सोध्दा पनि जवाफ दिनुको साटो पेलेरै अघि बढ्ने प्रवृत्ति अब समुदायले सहन सक्ने अवस्था छैन।“

राज्य संयन्त्र सक्रिय

देशभरबाट आएका उजुरीहरू राज्यका विभिन्न निकायमा पुगेका छन्। स्रोतका अनुसार, नेतृत्वले छानबिन सुरु हुनु अघि नै बजेट सकाएर संस्था निष्क्रिय पार्ने प्रयास गरिरहेको देखिन्छ।

“यो केवल रमाइलोको कथा होइन, एक समावेशी संस्थाको पतनको दस्ताबेज हो,“ एक अभियन्ताको टिप्पणी छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्डमा भएको अनियमितता, गोप्य रूपमा गरिएको साधारणसभा, र अपारदर्शी नेतृत्व चयन लगायतका विषयमा औपचारिक छानबिन सुरु गरेको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले केही दिनमै पत्र पठाएर संस्थालाई छलफलका लागि बोलाउने तयारी भइरहेको जानकारी दिए।

सम्बन्धित समाचारहरु :

तेस्रोलिंगीलाई बहिष्कार गरेपछि ब्लु डायमण्डमा विद्रोह

समुदायको गास, केहीको राज! (भिडियो)

संस्थापक अध्यक्ष बहिष्कृत, ब्लु डायमण्डको साधारणसभा विवादित

ब्लु डायमन्डको गैरकानुनी लिङ्ग परिवर्तन अभियानको भण्डाफोर, पहिचानमै खेलबाड नगर्न चेतावनी

विवाहित पुरुषको लिङ्ग परिवर्तन : सत्यतथ्य सार्वजनिक गर्न दबाब

समाचार शेयर गर्नुहोस्
868
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.