निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजीको आन्दोलन उग्र, काठमाडौँका प्रमुख सरकारी क्षेत्रहरूमा कर्फ्यु

जेनजीको आन्दोलन उग्र, काठमाडौँका प्रमुख सरकारी क्षेत्रहरूमा कर्फ्यु

780
SHARES

काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध जेनेरेसन जेडले गरेको प्रदर्शन केही क्षेत्रमा उग्र रूप लिन थालेपछि काठमाडौँका अन्य प्रमुख सरकारी क्षेत्रहरूमा पनि कर्फ्यु आदेश जारी गरिएको छ।

जेनजी पुस्ताले गरेको प्रदर्शनमा घुसपैठ र अनधिकृत गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षाका कारण देखाउँदै कर्फ्यु आदेश दिएको हो।

दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने कर्फ्यु आदेश अनुसार काठमाडौं महानगरपालिकाभित्र चार प्रमुख सरकारी क्षेत्रहरूमा पूर्ण रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको आदेश अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम उक्त क्षेत्रहरूमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन।

शीतल निवास, जहाँ राष्ट्रपति कार्यालय अवस्थित छ, महाराजगन्ज क्षेत्रमा कर्फ्यु लागू हुने क्षेत्रको उत्तरपूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकदेखि, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिणपश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म फैलिएको छ।

हरित गृह, जहाँ उपराष्ट्रपति कार्यालय रहेको छ, लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलसम्म कर्फ्यु लागू गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा कर्फ्यु लागू हुने क्षेत्र केशरमहल चोकदेखि दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र सो गेटदेखि महेन्द्र सालिकसम्म फैलिएको छ।

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

सिंहदरबार क्षेत्रको कर्फ्यु भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि सिंहदरबारको मूलगेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माध्यमिक विद्यालयको मोडसम्म, पद्मोदय मोडदेखि महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि पुरातत्त्व विभागको चोकसम्म फैलिएको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै, कर्फ्यु उल्लङ्घन गर्नेप्रति कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। यसैगरी, सुरक्षा बलहरूले सो क्षेत्रहरूमा कडाइका साथ निगरानी गर्ने तयारी समेत अघि सारेका छन्।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.