निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनाव सम्पन्न गराउन राष्ट्रपतिको आह्वान, मन्त्रिपरिषद् विस्तारको तयारी

चुनाव सम्पन्न गराउन राष्ट्रपतिको आह्वान, मन्त्रिपरिषद् विस्तारको तयारी

1.5k
SHARES

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

राष्ट्रपति पौडेलले शनिवार वक्तव्य जारी गर्दै बडो कठिन परिस्थितिबाट निस्किएको यो अवसरको सदुपयोग गर्दै जनता रिझाउने, आफैँलाई सम्हाल्ने र तोकिएको मितिमा चुनाव सम्पन्न गराउन सबैलाई आह्वान गरेका हुन्।

उनले भनेका छन्, “देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयासपछि एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन्।”

संसद् विघटनको निर्णयलाई प्रमुख राजनीतिक दलहरूले एक स्वरमा अस्वीकार गरेपछि राष्ट्रपति पौडेलले शान्तिपूर्ण निकास निस्किएको भन्दै त्यसलाई स्वागत गर्न आग्रह गरेका हुन्।

संसद्का आठवटै दलका प्रमुख सचेतक तथा नेताहरूले संयुक्त विज्ञप्ति निकालेर संसद् विघटन फिर्ता गर्न र बैठक बोलाउन माग गरेका थिए। उनीहरूले अन्तरिम सरकारमा सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा स्वीकारे पनि प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोध गरेका छन्।

तर चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने फरक धारणा व्यक्त गर्दै चुनावमै नयाँ–पुराना दलहरूको परीक्षण हुनु पर्ने बताएका छन्। सकै एक्लै नसके सबै नयाँहरू एक ठाउँ भएर चुनावमा हराउन सक्नु पर्ने लामिछानेले बताए।

मन्त्रिपरिषद् विस्तारको तयारी

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूसँग विभिन्न अस्पतालमा पुगेर भेट गरेकी छन्। शनिवार उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरस्थित सिभिल अस्पताललगायतमा उपचाररत घाइतेहरूसँग कुराकानी गरिन्।

घाइतेहरूले आफ्ना एजेन्डा नबिर्सन आग्रह गरेका थिए। कार्कीले आन्दोलनका क्रममा आगजनी भएको प्रहरी बिट र सरकारी भवनहरूको समेत अवलोकन गरिन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै आन्तरिक छलफललाई तीव्रता दिएकी छन्। यस क्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू मन्त्री हुनेबारे अहिलेसम्म कुनै टुङ्गो नभएको बताएका छन्। अधिवक्ता ओमप्रकाश अर्यालको नाम पनि मन्त्री बन्ने चर्चामा छ।

आइतबार सिंहदरबार पुगेर कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने भएकी छन्। तर आन्दोलनका क्रममा सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित शिक्षा र गृह मन्त्रालयमा ठुलो क्षति भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अस्थायी रूपमा नयाँ गृह मन्त्रालयको भवनमा सारिएको छ।

सरकारले गठन भएसँगै कर्मचारीहरू सम्बन्धित मन्त्रालय पुगेर सरसफाइ र क्षतिग्रस्त सामग्रीहरूको व्यवस्थापनमा जुटेका छन्। कुनै मन्त्रालय आंशिक क्षतिमा सीमित छन्। शिक्षा मन्त्रालयले सिंहदरबार र केशरमहल दुवै स्थानबाट सेवा दिने जनाएको छ।

गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयमा सार्ने तयारी भइरहेको छ। सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने शतप्रतिशत क्षतिग्रस्त भएकाले नयाँ कार्यालयको खोजी भइरहेको छ।

विभिन्न देशको स्वागत

नेपालमा बनेको नयाँ अन्तरिम सरकारलाई विभिन्न देशले स्वागत गरेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवयुगको सङ्केत भएको टिप्पणी गरेका छन्।

भारतको मणिपुरमा आयोजित एक सभामा सम्बोधन गर्दै मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको उदाहरणका रूपमा प्रस्तुत गरे।

यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नयाँ सरकार बन्ने निर्णयको स्वागत गरेको थियो। संयुक्त राष्ट्रसंघसहित विभिन्न देशले पनि नेपाललाई बधाई दिएका छन्।

सम्बन्धित समाचार :

जेनजीको मागमा राष्ट्रपति : प्रतिनिधि सभा विघटन, चुनावको मिति घोषणा

दलहरूलाई तर्साउने जेनजी प्रारूपकर्ता बालेनको योजना

सडकमा निस्केको सेना ब्यारेक फिर्ता, दलभित्र युवा पुस्ताको पुनर्जीवन बहस सुरु

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.