काठमाडौँ — सरकारले राष्ट्रपतिलाई साक्षी राखेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहयोग गर्न राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई आग्रह गरेको छ।
सरकारसँग विश्वास नगरेका दलहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा छलफल गरेर चुनावमा सहभागी हुन अनुरोध गरिएको हो।
राजनीतिक दलहरूले चुनावी सुरक्षामाथि शङ्का व्यक्त गरेका छन् भने जेनजी आन्दोलनका प्रतिनिधिहरूले यसपटक नयाँ राजनीतिक शक्ति उदाउने सङ्केत दिएका छन्।
राजनीतिक दलहरूसँग मात्रै छलफल गरेर चुनाव हुन नसक्ने टिप्पणी सार्वजनिक भएपछि राष्ट्रपति पौडेलले शनिवार जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई छलफलका लागि शीतल निवासमा आमन्त्रण गरेका थिए।
तर, जेनजी युवाहरूसँगको छलफलकै बीचमा राष्ट्रपति पौडेल अस्वस्थ भए। उनलाई एक्कासि टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य छ।
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहका प्रतिनिधिसँग शीतल निवासमै छलफल गरेकी थिइन्।छलफलपछि जेनजी आन्दोलनका प्रतिनिधिहरूले चुनावमा नयाँ शक्ति बनाएर प्रतिस्पर्धा गर्ने तयारी भएको प्रतिक्रिया दिएका छन्।
उनीहरूले “स्वच्छ प्रतिस्पर्धाका लागि सबै दल तयार रहून्, जेनजीलाई देखाएर चुनाव रोक्ने धम्की बन्द होस्,” भन्दै खबरदारी गरेका छन्।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले नयाँ पुस्ताले पनि आफ्नो राजनीतिक विकल्प प्रस्तुत गर्ने समय आएको बताए। जेनजी आन्दोलन कुनै पार्टी विरोधी होइन, तर पुराना दलको भ्रातृवाद, ढिलासुस्ती र असंवेदनशीलताविरुद्ध नयाँ सोचको अभिव्यक्ति हो।
वार्तामा सहभागी हुन नपाएका केही जेनजी युवाहरूले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए। सुदन गुरुङ नेतृत्वको टोली मात्रै शीतल निवासभित्र प्रवेश गर्न पाएको भन्दै बाहिरै रहेका युवाहरूले नाराबाजी गरेका थिए। शीतल निवासबाट बाहिरिएपछि मिराज ढुङ्गानाले, वास्तविक जेनजी नै नरहेको बताए।
काँग्रेस र एमाले अझै अन्योलमा
राष्ट्रपति पौडेलले शुक्रवार मात्रै राजनीतिक दलका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक गरेका थिए। त्यस बैठकमा नेपाली काँग्रेस र नेकपा एमाले बाहेक अधिकांश दलले चुनावमा जान तयार रहेको बताएका थिए। तर काँग्रेस र एमाले भने अझै अन्योलमा छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोके पनि यी दुई दलले सुरक्षाको अवस्था र संवैधानिक वैधतामाथि प्रश्न उठाएका छन्। नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले सुरक्षा चुनौतीकै कारण काँग्रेस र एमाले निर्णयमा ढिलाइ गरिरहेको बताए।
नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल, लोसपा, नेमकिपा लगायतका दल भने चुनावमा सहभागी हुने तयारीमा छन्। कतिपय नेताले प्रधानमन्त्रीले बोलाउनुपर्ने बैठक राष्ट्रपतिले बोलाएको भन्दै औपचारिक आपत्ति जनाए पनि निर्वाचन प्रक्रियाबाट बाहिर बस्न नहुने धारणा राखेका छन्।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार निर्वाचनमा गम्भीर नभएको आरोप लगाए। उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे।
नेमकिपाका नेता सुनिल प्रजापतिले भने, “निर्वाचनमा भाग नलिने पार्टीहरू प्रजातान्त्रिक हुन सक्दैनन्।” एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै, उनले दुई–दुई पटक संसद् विघटन गर्ने दलले संविधानको मर्म बुझ्नै बाँकी रहेको बताए।
उनले विगतका निर्वाचनमा करोडौँ खर्च भएको तथ्य उल्लेख गर्दै निर्वाचन आयोग र सरकारले खर्च नियन्त्रण तथा पारदर्शितामा गम्भीर हुनुपर्ने बताए।
निर्वाचन आयोगले सबै राजनीतिक दल र समूहलाई लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ। दलहरूले आफूहरूसँग छलफल नगरी कार्यतालिका सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएपछि आयोगले “यो नियमित कार्यतालिका मात्र हो” भन्दै स्पष्टीकरण दिएको छ।
आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफलका लागि औपचारिक बैठक तय गरेको छ। राष्ट्रपतिको पहलमा सुरु भएको दल र जेनजी समूहबीचको संवादपछि अब सरकारको पनि औपचारिक छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलन के हो?
जेनजी आन्दोलन भदौ २३ र २४ गतेको आन्दोलनबाट उभिएको युवा राजनीतिक समूह हो, जसले “जेनेरेसन जस्टिस” नामबाट स्वतःस्फूर्त रूपमा देशव्यापी अभियान थालेको छ। यस आन्दोलनको मूल नारा ‘सिस्टम फेर्नु पर्छ, पुस्ता बदल्नु पर्छ’ रहेको छ।
राजनीतिक दलप्रतिको अविश्वास, रोजगारी अभाव, मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाहरूले आफूलाई ‘जेनजी आन्दोलन’का रूपमा परिचित गराएका हुन्।
देशैभर फैलिएको यो आन्दोलन अहिले चुनावी विकल्पको तयारीमा जुटेको देखिएको छ। जेनजी आन्दोलन पारम्परिक दलहरूलाई चुनौती दिँदै नयाँ पुस्ता–केन्द्रित शक्तिको रूपमा उदाउने सम्भावना बढ्दै गएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.