"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मृत्युमा चन्दा उठाउने पीडाविरुद्ध काठमाडौँ–१० बाट पौडेलको उम्मेदवारी

मृत्युमा चन्दा उठाउने पीडाविरुद्ध काठमाडौँ–१० बाट पौडेलको उम्मेदवारी

244
SHARES

काठमाडौँ – लोकदोहोरी गायक पूर्णचन्द्र पौडेलले समावेशी समाजवादी पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौँ–१० का आम मतदाताको घरदैलोमा पुगेर आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्।

घरदैलो अभियानका क्रममा पौडेलले सबै मतदातालाई चुनाव चिन्ह ‘श्रीवत्स अनन्त गाँठो’ मा मतदान गरेर अत्यधिक मतका साथ विजयी गराउन अनुरोध गरिरहेका छन्। आम मतदाताले आफूलाई मत दिने आशा र विश्वास व्यक्त गरिरहेको उनले सुनाए। उनका अनुसार आफ्नो लक्ष्य र सङ्कल्प शक्ति र अधिकार नेताहरूमा मात्र सीमित नराखी जनतामा केन्द्रित गराउने हो।

न्यायपूर्ण शासन, विविधताको सम्मान र नागरिक सहभागितामा दृढ विश्वास राख्ने प्रगतिशील उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै पौडेलले विकासको मापदण्ड पैसाले मात्र नाप्न नहुने धारणा राखे। “विकासको मापदण्ड पैसा होइन, करुणा र हेरचाह हो,” उनले भने, “पितृसत्तालाई होइन, मातृसत्तालाई विशेष प्रोत्साहन दिनुपर्छ। दया र करुणामा आधारित शासन प्रणाली हुनुपर्छ र सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ।”

अहिलेसम्म जुनसुकै दलका नेताहरूले पनि गाउँघरका विपन्न वर्गतर्फ गम्भीर ध्यान दिएको आफूले नदेखेको पौडेलको भनाइ छ। “अल्पसङ्ख्यक र पिछडिएका वर्गका व्यक्तिहरूसम्म नेताहरूको नजर नै पुगेको छैन,” उनले भने, “जसको हाइहाइ छ, पैसा र पहुँच भएका व्यक्तिलाई मात्रै नेता मान्ने प्रवृत्ति छ। विकासका एजेन्डा पनि उनीहरूकै चाहना अनुसार तय गरिन्छ। यसका कारण स्थानीय स्तरमा वास्तविक आवश्यकता अनुसार विकास हुन सकेको छैन।”

जीवनको अन्तिम घडीमा चन्दा सङ्कलन गर्न नपरोस् भन्ने हाम्रो चाहना हो

उनका अनुसार स्थानीय तहमा नपुगी, स्थानीय समुदायलाई नसुनी विकासका एजेन्डा माथिबाटै पठाइने गरिएको छ र तिनै एजेन्डाका आधारमा बजेट विनियोजन हुने गरेको अवस्था विद्यमान छ। समावेशी समाजवादी पार्टीले यस्तो अभ्यासलाई मान्यता नदिने बताउँदै उनले भने, “जुन पक्षको आवश्यकता छ, जनताको वास्तविक आवश्यकताको आधारमा नै विकास गर्नुपर्छ भन्ने हाम्रो पार्टीको एजेन्डा हो।”

उत्पीडनमा परेका, अन्यायको विरुद्ध आवाज उठाउन नसकेका वर्गको पक्षमा बोल्न र उनीहरूका पीडा संसद्सम्म पुर्‍याउनका लागि आफूले काठमाडौँ–१० बाट उम्मेदवारी दिएको पौडेलले प्रस्ट पारे। “उहाँहरूकै आवाज म संसदमा बोल्ने हो,” उनले भने, “यहाँको कला, धर्म र संस्कृतिको संरक्षण र जगेर्नाका लागि पहल गर्नेछु।”

लोकदोहोरी तथा समग्र कलाकारिता क्षेत्रको अवस्था उल्लेख गर्दै पौडेलले कलाकारहरूले सम्मानजनक जीवन बिताउन नपाएको पीडा पनि सार्वजनिक गरे। उनले लोकदोहोरी कलाकारहरूका लागि छुट्टै रोयल्टी प्रणालीको आवश्यकता औँल्याउँदै भने, “जति पनि कलाकार छन्, उनीहरूले अहिलेसम्म उचित पारिश्रमिक पाएका छैनन्। कलाकारिता क्षेत्रमा आजीवन समर्पित भएर काम गरेका, यही क्षेत्रमै रहेर प्राण त्यागेका झलकमान गन्धर्व जस्ता कलाकारहरूको दाहसंस्कार गर्दा समेत चन्दा उठाउनुपर्ने अवस्था आयो। यो अवस्था हामीले देख्यौँ, भोग्यौँ।”

रोग लाग्दा उपचारका लागि र मृत्यु भएपछि अन्त्येष्टि गर्न समेत सहयोग सङ्कलन गर्नुपर्ने अवस्थाले कलाकारिताको वास्तविक अपमान भएको उनको भनाइ छ। “यस्तो पीडा अब दोहोरिनु हुँदैन,” उनले भने। कलाकारिता क्षेत्रमा आबद्ध भएपछि राज्यबाट औपचारिक मान्यता र सम्मान पाउनुपर्ने, कलाकारका लागि छुट्टै रोयल्टी व्यवस्था हुनुपर्ने र कलाकारको जीवन सुरक्षामा राज्य जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताउँदै पौडेलले राष्ट्रिय कलाकारको अवधारणा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। “राष्ट्रिय कलाकारलाई राष्ट्रले पनि मान्यता दिनुपर्छ,” उनले भने, “यो विचार राष्ट्रिय स्तरसम्म पुर्‍याउन र हाम्रो आवाज बुलन्द गर्न सहयोग आवश्यक छ।”

उनले राष्ट्रिय कलाकारहरूको औषधोपचारका लागि राज्यले विशेष बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उठाए। “कलाकार बिरामी पर्दा वा जीवनको अन्तिम घडीमा चन्दा सङ्कलन गर्न नपरोस् भन्ने हाम्रो चाहना हो,” उनले भने। गायक मात्र होइन, सङ्गीतकार, नृत्यकार, वरिष्ठ कलाकार तथा फिल्म क्षेत्रमा आबद्ध सबै कलाकारहरूलाई राष्ट्रिय कलाकारको सम्मान दिनुपर्नेमा उनले जोड दिए।

पौडेलले देशभर कलाकारिता, मनोरञ्जन क्षेत्रका कलाकारहरू तथा विभिन्न क्षमता भएका व्यक्तिहरूलाई ‘श्रीवत्स अनन्त गाँठो’ चुनाव चिन्हमा मत दिएर आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गरेका छन्।

मोरङ–४ की उम्मेदवार नुमाको ओलीसँग भेट, समर्थनको सङ्केत

समाचार शेयर गर्नुहोस्
244
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.