निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मोरङ–४ की उम्मेदवार नुमाको ओलीसँग भेट, समर्थनको सङ्केत

मोरङ–४ की उम्मेदवार नुमाको ओलीसँग भेट, समर्थनको सङ्केत

360
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीले प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारको जित सुनिश्चित गर्न ठूला राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरी समर्थनको आग्रह गरेको छ।

समानता र समावेशिताको मुद्दालाई संसदीय राजनीतिमा मजबुत रूपमा स्थापित गराउन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिलाई प्रत्यक्ष निर्वाचनबाट संसद्‌मा पुर्‍याउनुपर्ने उद्देश्यसहित पार्टीले यो पहल थालेको हो।

तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु ‘चञ्चला’को नेतृत्वमा रहेको समावेशी समाजवादी पार्टीले बिहीबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समर्थन गरिदिन आग्रह गरेको हो।

भेटका क्रममा पार्टी अध्यक्ष नुमाले लोकतन्त्रमा समानता र समावेशिता व्यवहारमै लागू हुनुपर्ने धारणा राख्दै मोरङ–४ बाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सबै दलहरूले आफ्ना उम्मेदवार फिर्ता लिनुपर्ने माग अघि सारिन्। लोकतन्त्र र समावेशिताको कुरा गर्ने दलहरूले यति त गर्नैपर्ने उनको भनाइ थियो।

भेटमा अध्यक्ष ओलीले नुमा लिम्बुलाई “कसरी सहयोग गर्न सकिन्छ, सहयोग गर्ने” प्रतिक्रिया दिएको समावेशी समाजवादी पार्टीले जनाएको छ। यसलाई पार्टीले सकारात्मक सङ्केतका रूपमा लिएको छ।

समावेशी समाजवादी पार्टीले यसअघि नै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत ठूला राजनीतिक दलहरूलाई कम्तीमा प्रत्यक्षतर्फ एक–एक जना आफ्ना उम्मेदवारलाई समर्थन गरिदिन सार्वजनिक आव्हान गरेको थियो।

पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ ६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जसमा मोरङ–४ बाट पार्टी अध्यक्ष नुमा लिम्बु, रुपन्देही–२ बाट देवेन्द्र बहादुर खत्री (मधु), काठमाडौँ–१ बाट सुरेन्द्र पाण्डे, काठमाडौँ–१० बाट पूर्णचन्द्र पौडेल, ओखलढुङ्गाबाट पिंकी राई र काभ्रेपलान्चोक–१ बाट विनोद लामा (कोनिका) उम्मेदवार छन्।

भेटका क्रममा नुमाले ठूला दलहरूको समर्थन बिना समावेशिताको मुद्दा राजनीतिक रूपमा विलीन हुने खतरा औँल्याइन्। “पहिलो संविधानसभामा सुनिल बाबु पन्त पुग्नुभएको थियो, त्यसपछि कोही छैन। अहिले समावेशी समाजवादी पार्टीको अध्यक्ष म आफैँ छु। प्रत्यक्षतर्फ हामी ६ जना उठेका छौँ,” उनले अध्यक्ष ओलीसँग भनिन्, “राष्ट्रिय पार्टी हुन एउटा सिट जित्नैपर्ने रहेछ, त्यसैले ६ जनामध्ये कम्तीमा एक जनालाई जिताउनुपर्ने अवस्था छ।”

उनले पार्टीले समानुपातिकतर्फ पनि उम्मेदवारी दिएको जानकारी दिँदै यसअघि भेटका लागि प्रयास गरे पनि अवसर नमिलेको उल्लेख गरिन्। “तपाईँ दमक आउनुभएको रहेछ। दमक मेरो पनि क्षेत्र हो। तर, तपाईँ र बालेनजस्ता उम्मेदवार उठेकाले म त्यहाँ उठिनँ, म मोरङ–४ मा उठेकी छु,” उनले भनिन्।

यस क्रममा अध्यक्ष ओलीले “राष्ट्रिय पार्टी बन्नलाई एउटा जित्दा हुन्छ होइन त?” भन्ने प्रतिक्रिया दिएको र नुमाको घर सोधे। नुमाले आफू दमक–८ की बासिन्दा भएको जानकारी गराउँदै नेपालमा कुल जनसङ्ख्याको ८ देखि १० प्रतिशत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेको तथ्य अध्यक्ष ओलीलाई सुनाइन्।

नुमासँगको भेटमा अध्यक्ष ओलीले समर्थन गर्न सकिने सङ्केत दिएको पार्टीको दाबी छ। उम्मेदवारी दर्तापछि झापामा रहेका ओली शुक्रवार काठमाडौँ फर्कने तयारीमा रहेको उनीनिकट स्रोतहरूले बताएका छन्। ओलीसँग काठमाडौँ फर्केपछि पुन भेटेर लिखित प्रस्ताव पेस गर्ने तयारी समावेशी समाजवादी पार्टीले गरेको छ।

समाचार शेयर गर्नुहोस्
360
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.