निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

त्रिभुवन विमानस्थल आसपास प्रदर्शन निषेध

त्रिभुवन विमानस्थल आसपास प्रदर्शन निषेध

91
SHARES

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन, जुलुस, र्‍याली तथा भेलाजम्मा जस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पश्चात् शान्ति–सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अनुकूल वातावरण तयार पारिएको छ। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, नागरिकले स्वतन्त्र रूपमा आफ्नो अभिमत व्यक्त गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित नेपाल सरकारका सम्बन्धित निकायहरू निर्वाचनतर्फ परिचालित रहेको जनाइएको छ।

यही क्रममा २०८२ फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही समूह तथा राजनीतिक दलले प्रदर्शन, भेलाजम्मा र र्‍याली जस्ता गतिविधि गर्ने भनी विज्ञप्ति तथा सूचना जारी गरेको, साथै सामाजिक सञ्जालमा समेत यस्ता विषयवस्तु प्रकाशित भएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस्ता कार्यक्रम सञ्चालनका लागि कसैले पनि यस कार्यालयमा जानकारी गराउने वा पूर्वस्वीकृति लिने कार्य नगरेको प्रशासनले स्पष्ट पारेको छ।

हाल निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको जनाउँदै प्रशासनले उक्त प्रकारका गतिविधिमा निर्वाचनविरोधी भनिएका समूहको समेत घुसपैठ हुन सक्ने सम्भावनालाई मध्यनजर गरिएको जनाएको छ।

साथै आसन्न निर्वाचन, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्दै पर्वलाई भव्य रूपमा सम्पन्न गराउने तयारी, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षा, यात्रुहरूको सहज आवतजावत, सार्वजनिक सडकमार्गमा यातायात सञ्चालन तथा सर्वसाधारणको निर्बाध आवागमनलाई ध्यानमा राखी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडताल, र्‍याली वा भेलाजम्मा नगर्न–नगराउन आग्रह गरिएको छ।

यसैगरी सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिलाई प्रेरित गर्ने वा उक्साउने कार्यसमेत नगर्न–नगराउन प्रशासनले सचेत गराएको छ। निषेधित तथा संवेदनशील क्षेत्रमा कानूनविपरीतका कार्यमा संलग्न जो–सुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने ब्यहोरा सूचनामार्फत अवगत गराइएको छ।

समाचार शेयर गर्नुहोस्
91
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.