"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पपुलिस्ट नाराबाट मुक्त होऔँ : शैली चौधरी

पपुलिस्ट नाराबाट मुक्त होऔँ : शैली चौधरी

83
SHARES

काठमाडौं – वीरगन्ज घर भएकी शैली चौधरी अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ अगाडि बढेकी छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य चुनावका लागि उनी गतिशील लोकतान्त्रिक पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी छन्।

उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार हुन् – त्यसमाथि मधेशी मूलकी क्वेयर पहिचान बोकेकी महिला।

यो उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक यात्राको सुरुवात मात्र होइन, मधेशको पीडा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अदृश्य सङ्घर्ष र प्रतिनिधित्वको अभावविरुद्धको एक स्पष्ट राजनीतिक हस्तक्षेप पनि हो।

गतिशील लोकतान्त्रिक पार्टी नयाँ दल हो। तर शैलीका अनुसार यो दल “एजेन्डा बेस” राजनीति गर्ने प्रतिबद्धतासहित मैदानमा आएको छ। पार्टीले यस चुनावमा ३ जना प्रत्यक्ष र ११ जना समानुपातिक उम्मेदवार उठाएको छ। उनको भनाइमा पार्टीको मूल मुद्दा स्पष्ट छ-“वडावडामा रोजगारी हुनुपर्छ।”

उनले भनिन्, “समावेशी तरिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्छ। अनि मात्रै देशको विकास हुन्छ। समावेशी हुन्छ। हामीले सोचेको परिवर्तन हुन सक्छ। पावर पछाडि नलागी एजेन्डालाई अगाडि बढाउँछौँ, अनि मात्रै चाहेको परिवर्तन हेर्न सक्छौँ।” उनका लागि राजनीति शक्ति केन्द्रित यात्रा होइन, मुद्दा केन्द्रित आन्दोलन हो।

शैली अहिलेसम्म नेपालमा ठूला–साना धेरै दलहरू देखिएको उल्लेख गर्दै प्रश्न उठाउँछिन् – किन कोही पनि प्रतिपक्षमा बस्न चाहँदैन?

“अहिलेसम्म नेपालमा जति पनि ठूला साना दलहरू आए। तर, कोही पनि प्रतिपक्ष बनेर जान चाहेनन्। सबैलाई गठबन्धन गरेर हुन्छ कि पार्टी मर्ज गरेर हुन्छ कि सरकारमै जानु छ। कोही पनि प्रतिपक्षमा बस्न चाहेनन्। यो पटकको चुनावमा हामी प्रतिपक्षमा जान तयार छौँ। किनकि हामी कहिल्यै पनि एजेन्डा छोड्दैनौँ,” उनले स्पष्ट पारिन्।

उनका अनुसार पार्टीले अनुहार र पपुलिजमभन्दा एजेन्डालाई प्राथमिकता दिएको छ। चुनाव चिन्ह “ब्याट्री” रहेको स्मरण गराउँदै उनले आफ्नो क्षेत्रमा उम्मेदवार भए मत दिन र समानुपातिकमा ब्याट्री चिन्हमा मतदान गरी जिताउन अपिल गरेकी छन्।

शैली भन्छिन्, “तपाईँको आवाज अरू कसैले उठाए नउठाए पनि तपाईँको मुद्दालाई सडकबाट संसद्सम्म लैजाने यात्रा हामीले तय गर्नेछौँ।” उनका लागि प्रतिनिधित्व केवल सिट जित्ने कुरा होइन – नीतिनियम निर्माणको प्रक्रियामा आफ्नो समुदायको उपस्थिति सुनिश्चित गर्ने प्रक्रिया हो।

जेनजी आन्दोलनपछि बदलिएको निर्णय

उनी भन्छिन्, “जेनजी आन्दोलन अगाडि उम्मेदवार बन्नै पर्छ भन्ने सोचेको थिइनँ।” तर उनी गम्भीर प्रश्न उठाउँछिन् – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, त्यसमाथि मधेशी मूलको व्यक्तिको आजसम्म संसदमा प्रतिनिधित्व भएको छ?

“जबसम्म संसदमा प्रतिनिधित्व हुँदैन, तबसम्म हाम्रो मुद्दाहरू पनि त्यहाँ जाँदैन। त्यसले गर्दा नीति–नियम पनि समावेशी हुँदैन,” उनको भनाइ छ।

उनका अनुसार समस्या नै नसुनिने अवस्था छ। कुनै पनि दलले यो समुदायलाई आफ्नो ‘भोट बैङ्क’को रूपमा समेत कहिल्यै सोचेको छैन। धेरै व्यक्तिहरू अझै खुलेर बाहिर आउन सकेका छैनन्।

“हाम्रो सामाजिक व्यवस्था त्यस्तो छ कि ज्यानकै चिन्ता गर्नुपर्ने हुन्छ। जो बाहिर आउनुभयो, नागरिकतामा म पनि महिला हुँ, आइडेन्टी क्वेयर गर्छु, यौनिक तथा लैङ्गिक पहिचान फरक छ – त्यसले गर्दा कहिल्यै पनि भोट बैङ्क भएनौँ। कहिल्यै पनि एजेन्डा बनेनौँ,” उनी भन्छिन्।

अब उनी भन्छिन् – “हामी हाम्रो प्रतिनिधित्व आफैँ गर्छौँ। हाम्रो मुद्दा सडकबाट संसद्सम्म हामी आफैँ लैजान्छौँ।” ‘समावेशी नीति बिना समाधान हुँदैन’
उनको स्पष्ट धारणा छ – एउटै दृष्टिकोणबाट नीति निर्माण गर्दा समग्र समाजको समस्या समाधान हुन सक्दैन।

“विभिन्न समुदायको प्रतिनिधित्व गर्दै समावेशी भयो भने मात्रै नीति–नियम समावेशी हुन्छ। त्यो समावेशी भयो भने मात्र समग्र समाजको जुन समस्या छ, त्यो समाधान हुन्छ। त्यही भएर नै म उम्मेदवार भएको हुँ।”

शैली विगत १० वर्षदेखि मधेशका दलित र महिलाका मुद्दामा सक्रिय छिन्। वीरगन्जमा बसेर उनले गाउँका समस्या नजिकबाट हेरेकी छन्, बुझेकी छन् र आफैँ पनि भोगेकी छन्।

“मधेशी क्वेयर भनिराख्नु कति गाह्रो छ, यो कुरा भनिराख्नु पर्दैन। आज पनि मान्छेले ‘तिमी के हौ? के होइनौ?’ भन्नेमै प्रश्न गरिरहेका छन्,” उनले अनुभव सुनाइन्।

उनका अनुसार ठूलो भनिने दलहरू एमाले, माओवादी, कांग्रेस, रास्वपा लगायत अन्य कसैले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दा बोल्नसम्म आवश्यक ठानेनन्। “उठाउने कुरा त अलगै कुरा भयो,” उनी भन्छिन्।

१० हजार युवासँग काम गरेको दाबी

शैलीले १० हजारभन्दा बढी युवासँग काम गरेको बताउँछिन्। हजारौँ युवालाई तालिम दिएर उनीहरूलाई आफ्नै वडामा नेतृत्व निर्माण गर्ने प्रक्रिया अगाडि बढाएकी छन्।

उनको दाबी छ – उही मोडेल संसदमा गएर पनि दोहोर्‍याउन सक्छु। “म एउटा रोल मोडल बन्न सक्छु, जसले आउने प्रादेशिक र स्थानीय निर्वाचनमा पनि विभिन्न समुदायका व्यक्तिहरूलाई ‘हामी पनि नेतृत्व लिन सक्छौँ, हामीले पनि आँट गर्न सक्छौँ’ भन्ने प्रेरणा दिन्छ,” उनले भनिन्।

उनले वडादेखि प्रदेश र सङ्घसम्म समावेशितालाई अनिवार्य सर्तका रूपमा अघि सारेकी छन्। “समावेशिता भयो भने मात्रै हामीले परिवर्तन देख्न सक्छौँ,” उनको जोड छ।

यो पनि : रास्वपाकी समानुपातिक उम्मेदवार भूमिका: हिजो ‘तेस्रोलिङ्गी’ शब्दमा आपत्ति, आज त्यही पहिचानमा भोट माग्दै

उनले मतदातालाई आग्रह गरेकी छन् – पुराना–नयाँ, चोर–ठग, यस्ता पपुलिस्ट एजेन्डाबाट बाहिर निस्कनुहोस्।

“कसले मेरो एजेन्डा बोकेको छ? कसले मेरो समस्या बुझेको छ? भनेर हेर्नुहोस्। घोषणापत्र पढ्नुहोस्। उहाँले गरेका वाचाहरू कसरी पूरा गर्नुहुन्छ? त्यो पनि सोध्नुहोस्,” उनले भनिन्।

उनका अनुसार वाचा धेरै गरिए, चुनाव धेरै भए – “के गर्ने” धेरैले भने, “कसरी गर्ने” कसैले भनेन। उनी भन्छिन्, “आफ्नो उम्मेदवारसँग ‘के कसरी गर्नुहुन्छ?’ भनेर सोध्नुहोस्।”

शैली चौधरीको उम्मेदवारी केवल एउटा राजनीतिक सहभागिता होइन – मधेशी क्वेयर पहिचानसहितको प्रतिनिधित्व, रोजगारीमुखी एजेन्डा र समावेशी नीतिको मागसहित संसद्तर्फको एउटा ऐतिहासिक प्रयासका रूपमा उभिएको छ।

उनको आवाज स्पष्ट छ-प्रतिनिधित्व बिना नीति समावेशी हुँदैन, र समावेशिता बिना परिवर्तन सम्भव हुँदैन।

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.