रास्वपा नेता महतोको आह्वान, विकासका लागि गगनलाई मतदान

रास्वपा नेता महतोको आह्वान, विकासका लागि गगनलाई मतदान

347
SHARES

सर्लाही -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक महतोले सर्लाही क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका सभापति तथा उम्मेदवार गगन थापालाई मतदान गर्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमा सभापति थापासँगको तस्बिर साझा गर्दै नेता महतोले आगामी प्रतिनिधिसभा निर्वाचनमा थापालाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका हुन्।
उनले सभापति थापासँग देशको वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने स्पष्ट दृष्टिकोण रहेको, सुशासन, पारदर्शिता र जबाफदेहिता कार्यान्वयन गर्न सक्ने नेतृत्व क्षमता भएको उल्लेख गरेका छन्।

नेता महतोले सभापति थापालाई सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि स्पष्ट खाका प्रस्तुत गर्न सक्ने नेता भन्दै कानुन तथा नीति निर्माणमा अनुभवी र दक्ष रहेको बताएका छन्।

‘तीव्र आर्थिक विकास, पूर्वाधार निर्माण र समृद्धिलाई प्राथमिकता दिने तथा भू – राजनीतिक सन्तुलन कायम गर्दै राष्ट्रिय हित सुरक्षित गर्न सक्ने क्षमता रहेका नेता थापा हुन्। सर्लाही ४ वासीले पाएको मौकाको सदुपयोग गर्दै देशको भावी प्रधानमन्त्रीको उम्मेदवारलाई भारी मतान्तरले विजयी गराउनु पर्छ। उनको जीतले क्षेत्रसँगै जिल्लाको विकासमा ठूलो टेवा पुग्छ’, नेता महतोले भने।

उनले युवा, महिला, किसान, मजदुर तथा सीमान्तकृत वर्गको आवाज संसदमा पुर्‍याउन सक्ने सक्षम, इमानदार र प्रशिक्षित नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सचेत नागरिक र युवाहरूले सही नेतृत्व चयन गर्नुपर्ने बताए।

महतोले आगामी निर्वाचनमा विकास, सुशासन र समृद्ध भविष्यका लागि सभापति थापालाई मतदान गर्न आग्रह गर्दै सर्लाही – ४ बाट परिवर्तनको सुरुवात गर्न आह्वान गरेका छन्। महतो सर्लाहीका रास्वपाका नेता हुन्।

समाचार शेयर गर्नुहोस्
347
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.