निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी विद्रोहपछि लोकतान्त्रिक निकास, परिणामको प्रतीक्षा

जेनजी विद्रोहपछि लोकतान्त्रिक निकास, परिणामको प्रतीक्षा

98
SHARES

काठमाडौँ – जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभा चुनाव छिटफुट घटना बाहेक देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अस्थिर राजनीतिक परिस्थिति, विभिन्न आशङ्का र सुरक्षा चुनौतीकाबीच गरिएको यो निर्वाचन अपेक्षाकृत व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

देशभरका मतदान केन्द्रमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। “कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन,” उनले भने।

मतदान सम्पन्न भएसँगै देशभरका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम धमाधम भइरहेको छ। आयोगका अनुसार शुक्रवार दिउँसो १२ बजेसम्म देशभरका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य सम्पन्न गरिनेछ।

मतपेटिका सङ्कलन लगत्तै सर्वदलीय बैठक बसेर मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ। यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुन योग्य थिए।

दुर्गम तथा हिमाली भूगोल भएका १५ जिल्लाका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिएको छ। रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिसकिएको आयोगले जनाएको छ। आयोगका अनुसार अन्य दुर्गम क्षेत्रका मतपेटिका ढुवानी गर्ने कार्य पनि निरन्तर जारी छ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ-७ सल्ले मतदान केन्द्रमा भने जम्मा ४ मत मात्र खसेको छ। स्थानीय मतदाताले ‘नो भोट’ भन्दै मतदान गर्न नआएपछि अस्थायी ४ जना मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद कोइरालाले जानकारी दिए।

“स्थानीय मतदाता साँझ ५ बजेसम्म पनि भोट हाल्न आएनन्। त्यसपछि अस्थायी मतदाता नामावलीमा नाम भएका ४ जना कर्मचारीले समानुपातिकमा भोट दिए,” उनले भने, “त्यसपछि मुचुल्का उठाएर मतपेटिका गणनास्थलमा ल्याइएको छ।”

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक सङ्कटको पृष्ठभूमिमा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर गरेको सिफारिसमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

निर्वाचन सम्पन्न भएपछि राष्ट्रपति पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भई मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, नेपाली सेनासहित सबै सुरक्षानिकाय, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्की तोकिएको छ महिनाको समयसीमाभित्र नयाँ प्रतिनिधिसभाको निर्वाचन गराउन सफल भएकी छन्। विभिन्न दबाब र आलोचनाकाबीच पनि उनले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने तयारीमा लागेको बताएकी छन्।

निर्वाचन नहुने भन्ने आशंकाबीच कठिन अवस्थालाई सहज अवस्थामा पुर्‍याउँदै निर्वाचन सम्पन्न गराउन सफल भएको उनले बताइन्। “प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा खुसी लागेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “लगनशीलता भएमा कुनै पनि काममा लागि परे सम्भव हुने रहेछ।”

उनका अनुसार निर्वाचन प्रक्रियाका क्रममा विभिन्न प्रकारका अवरोध र आक्रमणहरू भए पनि सरकार विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहेको थियो। “हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन। बाधा अवरोध नआएको होइन,” उनले भनिन्, “तर हामी त्यसबाट विचलित भएनौँ। निस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो। जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ।”

उनले सिङ्गो मुलुकबाट साथ पाएको बताइन्। “कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ। हामीले काम मात्र सोच्यौँ,” उनले भनिन्, “हामीले हाम्रा लागि गरेका पनि होइनौँ। मुलुक र जनताका लागि गरेका हौँ। सिङ्गो मुलुकको साथ पनि पाइयो।”

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्नुपर्ने पनि बताइन्। “देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस्, यहीँ काम पाइयोस्। भ्रष्टाचार, विभेद र पक्षपात नहोस्,” उनले भनिन्, “विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस्।” निर्वाचन गराउन सकेकोमा उनले अत्यन्त खुसी व्यक्त गरिन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचारप्रसारमै आच्छुआच्छु पारेका बालेनले मतदान सम्पन्न भएसँगै लोकतन्त्रले जितेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा।”

हिजोसम्म पनि निर्वाचन हुँदैन भन्ने चलिरहेका हल्ला मतदान सम्पन्न भएसँगै हल्लामै सीमित भएका छन्। भदौ २७ गते मध्यरातदेखि सुरु भएको निर्वाचन तयारीको यात्रा अहिले भन्ज्याङमा आइपुगेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

उनले मतपरिणाम छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताए।

२७५ सदस्यीय प्रतिनिधिसभामा पुग्न कुल ३ हजार ४०५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका उम्मेदवारहरूमा गगन थापा, बालेन्द्र शाह (बालेन), केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, कुलमान घिसिङ र हर्क साम्पाङ रहेका छन्।

तीमध्ये ओली र बालेन एउटै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बनेका छन्। गगन थापा र प्रचण्डले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लडेका छन्। बालेनको संसदीय यात्रामा यो पहिलो प्रतिस्पर्धा हो।

ओली पटकपटक प्रधानमन्त्री भइसकेका अनुभवी नेता हुन्। जेनजी विद्रोहका क्रममा बालुवाटार छोडेर बाहिरिएका ओली पुनः प्रधानमन्त्री बन्ने दाउमा उम्मेदवार बनेका हुन्।

उम्मेदवार बनेर मतदान गरिसकेपछि पनि ओलीले जेनजी विद्रोहलाई विध्वंसकै संज्ञा दिएका छन्। उनले लोकतन्त्र हरण भएको दाबी गरेका छन्।

ओलीलाई रोक्न बालेन स्वयं झापा–५ बाट उम्मेदवार बनेका हुन्। गगन, बालेन, ओली, प्रचण्ड र रवि लामिछानेले भने आफूलाई भोट दिन पाएनन्।

त्यसैगरी पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले पनि मतदान गर्न पाएनन्। २०४८ सालदेखि निरन्तर संसदीय निर्वाचन जित्दै आएका देउवा यो पटक मतदान गर्नबाट वञ्चित भए।

जेनजी आन्दोलनका क्रममा निवासमै भएको आक्रमणमा घाइते भएका देउवा दम्पती मतदानको दिन सिंगापुरमा स्वास्थ्य उपचार गराइरहेका छन्।

चुनावी प्रतिस्पर्धामा रहेका भावी प्रधानमन्त्रीका उम्मेदवारहरूले आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको अनुगमन मात्र गरेका छन्। यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका सभापति समेत रहेका गगन थापाले यसपटक मधेशबाट चुनाव लड्दै आफू पूर्ण भएको बताएका छन्।

चुनाव सम्पन्न भइसकेको छ। अब परिणामको प्रतीक्षा मात्र बाँकी छ। देशको कठिन परिस्थितिकाबीच पनि मतदानमा सहभागी भएका मतदाताप्रति निर्वाचन आयोगले धन्यवाद व्यक्त गरेको छ।

यो चुनावी परिणामसँगै अब अन्तरिम सरकारको दिन गन्ती सुरु भएको छ। चुनावमा हारजित स्वाभाविक हुने भन्दै परिणामलाई सहज रूपमा स्वीकार गर्न प्रतिस्पर्धीहरूलाई पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सुझाव दिएका छन्।

अब नयाँ सांसदहरू आउनेछन् र नयाँ सरकार बन्नेछ। सुशासन कायम गर्ने अपेक्षासहित भएको निर्वाचनबाट चुनिने प्रतिनिधिहरूले मतदातासमक्ष गरेका वाचा अवश्य पूरा गर्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ। अब देशले पुनः अर्को विद्रोहको सामना गर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा पनि गरिएको छ।

समाचार शेयर गर्नुहोस्
98
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.