निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनमा फरार चार पक्राउ, हतियार बरामद

जेनजी आन्दोलनमा फरार चार पक्राउ, हतियार बरामद

138
SHARES

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदी पक्राउ पर्ने क्रम जारी छ। यही क्रममा फरार रहेका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रणमा लिएको छ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय सुनिल थापा लागूऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थिए र जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। फरार अवस्थामै रहेका उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनीसँगै लागूऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशि गौतम र काठमाडौँको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले जानकारी दिए।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले फागुन १९ गते दिउँसो करिब साढे १२ बजे लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा शङ्कास्पद गतिविधि र लुटिएका हातहतियारको खोजी कार्यसमेत जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। सोही क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित फागुन १९ गते सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउन्ड २ वटा, सर्ट गनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ थान र सिरिन्ज ५ वटा सहित नियन्त्रणमा लिएको हो।

उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। उक्त राइफल तथा हतियारमा लाग्ने गोली गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा लुटिएको आशङ्का गरिएको छ।

समाचार शेयर गर्नुहोस्
138
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.