निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

युएईका राष्ट्रपतिसँग प्रधानमन्त्री कार्कीको कुराकानी, परिस्थिति सहज भएपछि सहयोग

युएईका राष्ट्रपतिसँग प्रधानमन्त्री कार्कीको कुराकानी, परिस्थिति सहज भएपछि सहयोग

106
SHARES

प्रधानमन्त्री सुशीला कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गरेकी छन्। प्रधानमन्त्री कार्कीले यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरिन्।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन। परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि उनले व्यक्त गरिन्।

शनिवार अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँगकाे टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन्।

१ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको उनले उल्लेख गरिन्। साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको प्रधानमन्त्री कार्कीले टेलिफोन संवादमा बत्ताउनुभएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासहरूमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा पनि गरिन।

आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता-जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उनले व्यक्त गरिन्।

उनले राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना पनि व्यक्त गरिन्।

टेलिफोन संवादका क्रममा उनले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताइन्।

उनले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रूपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा सङ्कुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताइन।

ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ-आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उनले विश्वास व्यक्त गरिन।

युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रूपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे।

उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे। घटनामा गोरखाका दिवस श्रेष्ठको ज्यान गएको थियो।

उनले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनती बानी र असल आचरणको प्रशंसा गरे।

यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरूले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए। साथै नेपाली नागरिकहरूको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि उनले व्यक्त गरे।

यसबीचमा केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उनले परिस्थिति सहज भएपछि सहजीकरणका लागि सबै किसिमको सहयोग उपलब्ध गराइनेसमेत उल्लेख गरे।

युएईका राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीचको संवादमा प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि शुभकामना व्यक्त गरिन्।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.