लैङ्गिक अल्पसंख्यकको चुनावी यात्रा : आफू हारे, समुदाय जिताए

लैङ्गिक अल्पसंख्यकको चुनावी यात्रा : आफू हारे, समुदाय जिताए

630
SHARES

काठमाडौं – जेनजी आन्दोलनपछि सम्पन्न नयाँ प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेको समावेशी समाजवादी पार्टीले मतदाताप्रति कृतज्ञता व्यक्त गरेको छ। पार्टीले आफ्नो चुनाव चिन्ह ‘श्रीवत्स’मा अमूल्य मतदान गर्ने सबै मतदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिएका सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको पक्षमा सक्रिय रहँदै आएकी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)को नेतृत्वमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। तर, पार्टीका प्रत्यक्षतर्फका सबै ६ उम्मेदवारको जमानत जफत भएको छ।

पार्टी अध्यक्ष नुमा लिम्बु (चञ्चला) मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिइन्। उनले ५५ मत प्राप्त गरिन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल व्यक्तिका रूपमा चर्चित सुरेन्द्र पाण्डे समावेशी समाजवादी पार्टीका तर्फबाट उम्मेदवार थिए। उनले ५ मत प्राप्त गरे।

यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल उम्मेदवार बनेका थिए। उनले १२ मत पाए। रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सुधारका अभियन्ता देवेन्द्रबहादुर खत्री (मधु) उम्मेदवार बनेका थिए, जसले १२ मत प्राप्त गरे।

ओखलढुङ्गाबाट अन्य पहिचानको आधारमा उम्मेदवार बनेकी पिंकी राई र काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका विनोद लामा (कोनिका)ले पनि जित निकाल्ने मत ल्याउन कठिन देखिएको छ।

नुमा, मधु, सुरेन्द्र र पूर्णचन्द्र उम्मेदवार बनेका निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन्। ओखलढुङ्गा र काभ्रेपलान्चोकमा मतगणना सम्पन्न भएको छैन।

नयाँ र पुराना ठूला राजनीतिक दलहरूले समलिङ्गी तथा तेस्रोलिंगी समुदायका व्यक्तिलाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाएको गुनासो गर्दै समुदायका अगुवाहरूले बारम्बार आग्रह गरे पनि त्यसलाई बेवास्ता गरियो।

अन्ततः त्यसै कारण छुट्टै राजनीतिक दल गठन गर्न बाध्य भएको समुदायका नेताहरू बताउँछन्। दल मात्र गठन गरेर चुप बस्ने अवस्था नरहेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका इच्छुक प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका थिए।

समावेशी समाजवादी पार्टीका यी ६ उम्मेदवारलाई समुदायभित्र “कमान्डर”का रूपमा पनि व्याख्या गरिएको छ। चुनावी परिणामअनुसार उनीहरू पराजित भए पनि समुदायको पहिचानलाई राष्ट्रिय बहसमा स्थापित गराउन सफल भएको विश्लेषण गरिएको छ। विभेद, दुर्व्यवहार, तिरस्कार र हिंसाविरुद्ध प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रनु आफैँमा असाधारण साहस भएको टिप्पणी गरिएको छ।

केवल आफ्नो समुदायको मात्र होइन, समग्र समाजमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अस्तित्व र आवाज रहेको सन्देश प्रवाह गर्न उनीहरू सफल भए।

कुनै ठूलो स्रोत–साधन, सङ्गठनात्मक शक्ति वा स्थापित राजनीतिक समर्थन बिना आफ्नै बलबुतामा चुनावी मैदानमा उत्रिएका यी ६ उम्मेदवारलाई संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले सलाम गरेका छन्।

पन्तले सामाजिक सञ्जालमार्फत उनीहरूलाई उत्साह प्रदान गर्दै लेखेका छन्—

“आज गन्तव्यमा नपुगेर के भो त साथी,
तिमी एक यात्री हौ—यात्रा जारी राख।

सत्य नदेख्नेहरू धेरै भएर के भो त साथी,
तिमी एक दियो हौ—उज्यालो बनाइ राख।”

उनका अनुसार पार्टी खोल्नु र निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्नु नै आफैँमा ठूलो उपलब्धि हो। समावेशी समाजवादी पार्टीले कुनै उल्लेखनीय स्रोत–साधन र बलियो सङ्गठन बिना पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रनु गर्व गर्न लायक विषय भएको उनले उल्लेख गरेका छन्।

उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको भन्दै यो केवल चुनावी प्रतिस्पर्धा मात्र नभई लामो सामाजिक र राजनीतिक सङ्घर्षको यात्रा भएको बताए। त्यसैले हिम्मत, धैर्य र निरन्तर प्रयासका साथ अघि बढिरहनु नै सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताएका छन्।

उनका शब्दमा, आज रोपिएको बीउले भोलि ठूलो परिवर्तनको रुखका रूपमा समाजमा फल्नेछ।

समाचार शेयर गर्नुहोस्
630
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.