निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सहमतिमा दायाँबायाँ नभए बालेन प्रधानमन्त्री बन्ने निश्चित, ओलीले दिए बधाई

सहमतिमा दायाँबायाँ नभए बालेन प्रधानमन्त्री बन्ने निश्चित, ओलीले दिए बधाई

115
SHARES

काठमाडौं – प्रतिनिधिसभा चुनावी नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोल्टामा जाने निश्चित जस्तै देखिएको छ। रास्वपाले कुनै पनि दलसँग गठबन्धन नगरी एकल रूपमा सरकार बनाउन पाउने परिणाम ल्याउने लगभग निश्चित प्राय देखिएको हो। यसअघिको सहमतिमा दायाँबायाँ नभए प्रधानमन्त्रीको रूपमा बालेन शाह नियुक्त हुनेछन्।

बालेन सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै बालेनको पहिलो संसद् यात्रा सुरु भएको छ। बालेनले ३ हजार ४०६ उम्मेदवारमध्ये सबैभन्दा बढी ६८ हजार ३४८ मत ल्याएर नयाँ रेकर्ड समेत राखेका छन्।

उनका प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत मात्र पाए। पटकपटक झापाबाट निर्वाचित हुँदै आएका ओली यो पटक भने नराम्रो पराजय भोग्न बाध्य भए। ओलीको दम्भले हारेको भन्दै बालेनका समर्थकहरूले खुसीयाली मनाएका छन्।

जेनजी आन्दोलनलाई विध्वंसको संज्ञा दिने ओलीलाई जेनजी आन्दोलनका सूत्रधार बालेनले चुनावमै हराइदिए। चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको यस क्षेत्रमा अन्ततः बालेनको पक्षमा जनमत उभिएको देखियो। पराजयपछि ओलीले सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिएका छन्।

“बालेन बाबु विजयका लागि तपाईँलाई बधाई, तपाईँको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्,” ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

रास्वपाको आन्तरिक सहमतिमा विवाद नभए देशभरको निर्वाचन परिणाम सार्वजनिक भएसँगै बालेन प्रधानमन्त्री बन्नेछन्। यद्यपि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचाराधीन रहेकाले सभापति रवि लामिछाने शपथ ग्रहणसँगै निलम्बनमा पर्नेछन्।

तर रास्वपाका नेताहरूले निलम्बन गर्न नहुने तर्क यसअघिको प्रतिनिधिसभामा जोडतोडले उठाउँदै आएका थिए भने अहिले पनि त्यही आवाज दोहोर्‍याइरहेका छन्।

सहकारीको रकम ठगी मुद्दामा जेल परेका रवि जेनजी आन्दोलनपछि बिगो बराबरको धरौटी रकम बुझाएर रिहा भएका थिए। जेलबाट रिहा भएका लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका हुन्।

लामिछानेले रास्वपाको सरकार बनेको एक सय दिनभित्र सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

रविसँगै सहकारी ठगी प्रकरणमा नाम जोडिएका जिवी राई भने फरार छन्। अघिल्लो सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रविले जिवीलाई पक्राउ गरेर ‘ब्रेकिङ न्युज’ दिने बताएका थिए। तर जिवी हालसम्म फरार नै छन्।

यसअघिको चुनावमा देशभरबाट सबैभन्दा बढी मत ल्याएर रेकर्ड बनाएका रविको चुनावी रेकर्ड यसपटक बालेनले झापाबाट तोडिदिएका छन्।

लामिछाने ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम चलाउँदा–चलाउँदै राजनीतिमा प्रवेश गरेर उदाएका नेता हुन्। रविको नाम जोडिएको टेलिभिजनका पत्रकारहरूले भने ८–९ महिनादेखि तलब नपाएको गुनासो रविसामु राखेका छन्।

जिवी राईलाई पक्राउ गरेर पारिश्रमिक दिलाइदिन पत्रकारहरूले गरेको गुनासोमा रविले गोलमटोल जवाफ दिएका छन्। श्रमजीवी पत्रकारले पारिश्रमिक पाउनु पर्ने भए पनि जिवी राई पक्राउ गर्ने कुरा फरक विषय भएको उनको जिकिर थियो।

रास्वपाका सभापति लामिछाने काण्डै काण्डमा मुछिएका छन्। यसअघि नागरिकता विवाद, पासपोर्ट प्रकरण हुँदै सहकारी रकम ठगी मुद्दा खेपिरहेका लामिछानेलाई पार्टीको बहुमतले अझ ठूलो राजनीतिक जिम्मेवारी दिने अवस्था देखिएको छ।

रवि मात्रै होइन, रास्वपाका अन्य उम्मेदवार पनि विभिन्न विवादमा मुछिएको पाइएको छ। बैङ्किङ कसुर मुद्दा विचाराधीन रहेका धनुषा–१ का उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज गरिएको छ। तर रास्वपाले उम्मेदवारी कायम राखेर मतगणना गर्नुपर्ने जिद्धि गर्दा मतगणना सुरु गर्न ढिलाइ भएको थियो।

रास्वपा उम्मेदवार किशोरीले प्राप्त गरेको मतलाई छुट्टै लगत राखेर गणना सुरु गरिएको धनुषाका निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिएका छन्।

यस घटनाले रास्वपा कुशासनको पक्षमा उभिने कि सुशासनको पक्षमा भन्ने गम्भीर प्रश्न समेत खडा गरेको छ। तर रास्वपाबाट दोस्रो पटक संसद् यात्रा तय गरेकी तोसिमा कार्कीले भदौ २३ र २४ जस्तै अर्को विद्रोह नहोस् भन्नेमा आफूहरू सचेत रहेको बताएकी छन्। उनले जेनजी आन्दोलनको म्यान्डेट पूरा गरी भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याइन्।

यो चुनावमा पार्टीभित्रै रस्साकस्सी गर्दै आएका र जेनजी आन्दोलनलाई समर्थन गरेका भनिएका केही उम्मेदवारहरूलाई रास्वपाले उम्मेदवारमै सीमित बनाइदिएको देखिएको छ।

निर्वाचन क्षेत्र बदलेका कारण मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने जित निकाल्न सफल भएका छन्।

केपी ओलीसँग सिङौरी खेल्दा नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित भीम रावलको भने संसद् प्रवेशको ढोका बन्द भएको छ। अछामबाट चुनाव लडेका रावलले राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको झन्डालाई औपचारिक रूपमा संसद् भवनमा फहराउन नसक्ने भएको प्रतिक्रिया दिएका छन्।

अब बहुमत ल्याउने लगभग निश्चित जस्तै देखिएको रास्वपाले सरकार गठन गर्नेछ। सरकार गठनसँगै कामको मूल्याङ्कन पनि सुरु हुनेछ। जनताको अपेक्षा भने स्पष्ट छ-सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जेनजी आन्दोलनको म्यान्डेट तथा जनतासमक्ष गरेको वाचा अनुसार रास्वपाको नयाँ सरकारले काम गर्ने।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.