सुर्खेतमा १७ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ। एक छोरी, जो बिहान “ट्युसन पढ्न जान्छु” भनेर घरबाट निस्किएकी थिइन, केही समयपछि बेहोस अवस्थामा फेला परिन्।
अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरे। लासको अगाडी बसेर आफन्त न्यायको ज्योति कुरिरहेका छन्। उनीहरूलाई डर छ कतै हाम्री छोरी पनि अर्की निर्मला त हुने होइन? कतै न्यायको लागी उनले पनि कैयौँ वर्ष कुर्नु त पर्ने होइन?
देशमा चुनावसँगै नयाँ बिहानीको परिकल्पना गरिँदैछ तर यता यी सोसित पीडित परिबार भने न्यायको पर्खाइमा छन्। किन हरेक पटक किशोरी बलात्कृत हुन्छन् अनि न्यायको भिख माग्दा माग्दै उनीहरू लाचार बन्छन् तर अपराधी कहिल्यै कानुनको फन्दामा पर्दैनन्?
एउटा घरको उज्यालो एकैछिनमा निभ्यो। एउटा परिवारको सपना बीच बाटोमै टुट्यो। छोरीलाई जन्माउने आमाबाबुको सपना हुन्छ-“छोरी पढेर ठूलो मान्छे बनोस्, आफ्नो भविष्य बनाओस्।”
तर आज त्यो सपना क्रूर तरिकाले बीच बाटोमै तोडिएको छ।
यो केवल एउटा परिवारको पीडा मात्र होइन, यो सम्पूर्ण समाजको असफलता हो। अब त जो कसैले छोरी पाउनु अघि गम्भीर भएर सोच्ने बेला आएको हो? आज कसैकी छोरी भोली मेरी छोरी नपर्लिन् भन्न सकिन्छ र? यो कस्तो समाजको परिकल्पना गर्दैछौ हामी?
चुनावमा ठूलो आवाज, न्यायमा किन मौनता?
केही हप्ता अगाडि मात्र चुनावको समयमा सामाजिक सञ्जालमा कस्तो माहोल थियो?
कसैले लेख्थे,“फलानो प्रधानमन्त्री भयो भने कान काट्छु।”
“यो गर्छु, त्यो गर्छु।”
त्यस्ता कुरामा मानिसहरू बहस, सेयर गर्थे र चर्चामा सक्रिय थिए। भरखरै अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा हाम्रो देशको प्रमुख पदमा पनि महिला नै हुनुहुन्छ भनेर ढुक्कका साथ सुरक्षित महसुस मात्र के हुन लागेको थियो फेरि यो अप्रिय घटनाले मनमा त्रास जगाइदियो कि भोली यो घटना आफैँ माथि पो आइलाग्ने हो कि?
आज एउटा निर्दोष छोरीमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधमा समाजको आवाज किन यति कमजोर सुनिन्छ?
दोषीलाई कडा कारबाहीको माग गर्न, अनुसन्धानलाई दबाब दिन र पीडित परिवारको पक्षमा उभिन हामी किन त्यति सक्रिय देखिँदैनौ?
लुगामा होइन, सोचमा समस्या
अझ दुःखको कुरा के छ भने, यस्ता घटनापछि पनि केही मानिसहरू केटीकै लुगालाई दोष दिन खोज्छन्। “लुगा छोटो थियो होला।”
“बाहिर किन निस्किई?”
“यस्तो गर्नु हुँदैन थियो।”
तर साँचो प्रश्न त यो हो-यदि लुगा नै कारण हो भने विदेशका धेरै देशहरूमा महिलाहरू अझ खुला कपडा लगाउँछन्, त्यहाँ किन यस्ता घटनाहरू कम सुनिन्छन्?
सत्य के हो भने-समस्या लुगामा होइन, सोचमा छ। समस्या केटीको स्वतन्त्रतामा होइन, अपराधीको मानसिकतामा छ। चुप लाग्नु भनेको अन्यायलाई साथ दिनु हो।
नेपाली उखान छ,“अन्याय देखेर चुप लाग्नु भनेको अन्यायलाई नै साथ दिनु हो।” यदि आज पनि हामी चुप लाग्यौँ भने भोलि अर्को इनिशा जन्मिनेछ, अर्को घरको उज्यालो निभ्नेछ। छोरी केवल परिवारको होइन, समाजको सम्मान हो।
समाजले याद राख्नुपर्छ- छोरी कसैको मात्र हुँदैन। छोरी समाजको सम्मान हुन्छ। छोरी देशको भविष्य हुन्छ। दोषी जो भए पनि, जति शक्तिशाली भए पनि, कानुनको कठघरामा उभ्याइनुपर्छ।
किनकि न्याय केवल एउटा परिवारको आँसु पुछ्ने कुरा मात्र होइन, यो समाजलाई सुरक्षित बनाउने आधार पनि हो। न्यायको आवाज उठाउनु हाम्रो जिम्मेवारी हो। “न्याय ढिलो भए पनि हुनुपर्छ, तर अन्यायलाई कहिल्यै जित्न दिनु हुँदैन।”
आज आवश्यकता छ-सशक्त आवाजको, निष्पक्ष अनुसन्धानको र दोषीलाई कठोर सजायको। किनकि जबसम्म अपराधीले सजाय पाउँदैन, तबसम्म हरेक छोरी सुरक्षित महसुस गर्न सक्दैन।”
आज हामी सबैले एउटा कुरा सम्झनुपर्छ-न्यायको आवाज उठाउनु कमजोरी होइन, जिम्मेवारी हो, दायित्व हो हामीले निभाउनु पर्छ।”
#JusticeforInishaaBk
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.