काठमाडौँ – झन्डै दुई तिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले तत्कालीन सरकारका मन्त्रीहरूलाई भटाभट पक्राउ गर्न सुरु गरेको छ। सरकारको यो कदमको वैधानिकता र प्रक्रियालाई अदालतले मनासिब ठहर गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिवार बिहानै पक्राउ गरेको सरकारले आइतबार तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालाई पनि गिरफ्तार गरेको छ।
गिरफ्तार गर्ने लिस्टमा तत्कालीन सरकारका मन्त्री, दलका शीर्ष नेताहरू रहेका स्रोतले बताएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अदालतले अनुसन्धानका क्रममा अभियुक्तसँग बयान लिन, बुझ्नुपर्ने व्यक्तिहरूको घटना विवरण कागज तयार गर्न तथा भदौ २३ र २४ को घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको ठहर गरेको छ।
ओली र लेखकलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिएका छन्।
ओली उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रहेका छन्। अदालतले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आदेश जारी गरेको श्रेष्ठले जानकारी दिएका छन्।
तत्कालीन ऊर्जामन्त्री खड्का सम्पत्ति शुद्धीकरण कसूर सम्बन्धी जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका हुन्। खड्काको आइतबार बयान कार्य सुरु भएको अदालतले जनाएको छ।
उनी विरुद्ध प्रमाण सङ्कलन, बयान तथा थप अनुसन्धानका कार्यहरू बाँकी रहेकाले हिरासतमा राख्न आवश्यक देखिएको अदालतको निष्कर्ष छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई हिरासतमा राख्न अनुमति माग गरेकोमा सो माग मनासिब देखिएको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम चैत १५ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरेको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.