पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ

237
SHARES

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। जेनजी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ लिएकै दिन शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आयोगको प्रतिवेदन कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिएको थियो। उक्त निर्णयसँगै सरकार एक्सनमा गएको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रमुखहरूसँग राति नै आकस्मिक छलफल गरेका थिए, जसमा प्रतिवेदनमा सिफारिस भएका व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाउने विषयमा रणनीति तय गरिएको स्रोतको भनाइ छ।

सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै पूर्वप्रधानमन्त्री ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा राति नै प्रहरी परिचालन गरिएको थियो। आवश्यक प्रमाण, कागजात र पक्राउ पुर्जी तयारीपछि शनिवार बिहान ओली र लेखकलाई पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ प्रक्रिया अघि बढाउँदा सम्भावित प्रतिरोध र राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो।

गत भदौ २३ गते १९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड प्रकरणमा ओली, लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई फौजदारी अभियोगमा कारबाही गर्न जेनजी आयोगले सिफारिस गरेको छ।

आयोगको सिफारिसअनुसार तीन–तीन पटक प्रधानमन्त्री भइसकेका ओलीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गतको कसुरमा कारबाही हुनेछ। लेखकविरुद्ध पनि समान प्रकृतिको आरोपमा अनुसन्धान हुनेछ।

ओली र लेखकलाई ‘ज्यानसम्बन्धी कसुरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ,’ भन्ने ब्यहोराको पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूलाई बयानका लागि हिरासतमा राख्ने तयारी गरिएको छ भने आवश्यक परे थप प्रमाण सङ्कलनका आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ।

बालेन सरकारले जेनजी आयोगको प्रतिवेदनबाट कामको एक्सन सुरु गरेको छ, जसलाई नयाँ सरकारको पहिलो कडा सन्देशका रूपमा हेरिएको छ।

पूर्वप्रधानमन्त्री ओली फागुन २१ मा सम्पन्न निर्वाचनमा नवनियुक्त प्रधानमन्त्री बालेनसँग झन्डै ५० हजार मतान्तरले पराजित भएका थिए। पूर्वगृहमन्त्री लेखक भने निर्वाचनमा उम्मेदवार बनेका थिएनन्।

समाचार शेयर गर्नुहोस्
237
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.