कालीकोट – कालीकाेटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित मेयर खोला नजिक जुम्लाबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स बुधवार राति ८:१० बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी जुम्ला जिल्ला हिमा गाउँपालिका–६ पातरखोला बस्ने वर्ष ३२ का भिम बहादुर अधिकारी र एम्बुलेन्स चालक वर्ष २६ का शक्ति बहादुर शाहीको मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए।
दुर्घटनामा परी अन्य २ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा सोही स्थानका वर्ष ७१ का कल बहादुर अधिकारी र जुम्लाकै २० वर्षीय लोकेन्द्र शाही रहेका छन्। घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरूको जिल्ला अस्पताल मान्म, कालीकोटमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर रत्नवीर सुनले जानकारी दिए।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्रीको नेतृत्वमा १५ जनाको प्रहरी टोली खटिएको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खसेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.