काठमाडौँ – प्रतिनिधिसभाका १० वटा संसदीय समिति गठन भएका छन्। प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले १० वटा विषयगत समिति गठन गरेको हो। समितिमा रहने सदस्यहरूको नाम सभामुख डोल प्रसाद अर्यालले वाचन गरेर सुनाएका थिए।
अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, र सार्वजनिक लेखा समितिमा रहने सदस्यहरू सभामुख अर्यालले वाचन गरेर सुनाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद भूमिका श्रेष्ठ कानुन, न्याय तथा मानवअधिकार समितिको सदस्य बनेकी छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको दाबी गर्ने भूमिकालाई रास्वपाले महिला कोटाबाट समानुपातिक सांसद बनाएको हो।
पुरुष, अन्य र महिला पहिचानमा तीन वटा नागरिकता लिन सफल भूमिका रोजेको समितिमा बस्न पाएकी छन्। उनले २०६२ असोज २१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुरुष पहिचानमा नागरिकता लिएकी थिइन्। त्यसपछि आफूलाई तेस्रोलिंगी पहिचान जनाउँदै २०७२ भदौ २१ गते सोही कार्यालयबाट ‘अन्य’ पहिचानको नागरिकता लिइन्।
अन्य पहिचानको राहदानी लिएर उनी पहिलो विदेश यात्रा गर्दै ताइवान पुगेकी थिइन्। तर, नेपालमा पहिलो पटक अन्य पहिचानमा राहदानी लिने मनोज शाही (मोनिका)ले भने यस्तो अवसर प्राप्त गर्न सकिनन्।
मोनिकाले आफूलाई ब्लु डायमन्ड सोसाइटीबाट अन्याय भएको बताउँदै आएकी छन्। पुरुष पहिचानको नागरिकता लिएको १० वर्ष पुग्न एक महिना बाँकी हुँदा ‘अन्य’ पहिचानको नागरिकता लिएकी उनले एक दशक नपुग्दै महिलाको नागरिकता समेत लिइन्।
मन्त्रिपरिषद्को निर्णयबाट महिलाको नागरिकता प्राप्त गरेपछि उनी हाल महिला कोटाबाट सांसद बनेकी छन्। उनले आफूलाई कहिले तेस्रोलिंगी, कहिले पारलिंगी, कहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, त कहिले महिलाका रूपमा विभिन्न पहिचान दिँदै आएकी छन्। किनकि उनीसँग एउटा मात्र होइन, तीन-तीन वटा नागरिकता छन्।
तीन–तीन वटा नागरिकताबारे मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै भूमिकाले ‘पहुँच हुनेले जति वटा पनि लिन्छन्, अरूलाई के चासो?’ भनेकी थिइन्।
सन्तोष पन्तका छोरा–छोरीका रूपमा महिलाको नागरिकता लिएको प्रसङ्गमा, उनै भूमिकाले लिङ्ग परिवर्तन गरेकाहरूलाई ‘अप्राकृतिक’ भन्दै उनीहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको श्रेणीमा नपर्ने अभिव्यक्ति दिएकी थिइन्। साथै, ब्लु डायमन्ड सोसाइटी लिङ्ग परिवर्तन गरी महिलाबाट पुरुष तथा पुरुषबाट महिला बनेकाहरूको वकालत गर्ने संस्था नभएको पनि उनले स्पष्ट पारेकी थिइन्।
उनले प्रतिनिधित्व गर्ने दाबी गरेको समुदायका अधिकांश सदस्य भने अझै पनि पहिचानअनुसारको नागरिकता प्राप्त गर्नबाट वञ्चित छन्। जिल्ला प्रशासन कार्यालय खोटाङमा वडा कार्यालयको सिफारिससहित निवेदन दिँदा पनि बाबु दुमि राईले पहिचानअनुसारको नागरिकता प्राप्त गर्न सकेनन्, जबकि उनले पनि पुरुष पहिचानमा नागरिकता लिइसकेका थिए।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले पहिचानअनुसारको नागरिकता पाउन नसकेको यथार्थलाई बाबु दुमिको घटनाले प्रतिनिधित्व गर्दछ। यसले राज्यको नीतिमा रहेको असमानता र पहुँचका आधारमा नागरिकता वितरण भएको गम्भीर प्रश्न उठाएको छ।
तीनथरी नागरिकता बोकेकी, जन्मँदा पुरुष र हाल महिला पहिचानकी भूमिका संसद्का १० वटा विषयगत समितिमध्ये रोज्जाको कानुन, न्याय तथा मानवअधिकार समितिको सदस्य बनेकी छन्। अब उनले आफूले जस्तै एकै व्यक्तिलाई तीनथरी नागरिकता लिन पाउने कानुनी व्यवस्थाको पहल गर्छिन् वा समुदायका वास्तविक समस्यालाई सम्बोधन गर्छिन् भन्ने प्रश्न समयक्रममा स्पष्ट हुँदै जानेछ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मीहरूका अनुसार तेस्रोलिंगी पहिचानका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण समग्र समुदायले विभेदको सामना गर्नुपरेको छ। उनीहरूको ठम्याइमा लैङ्गिक पहिचानसम्बन्धी गम्भीर बहस आवश्यक भइसकेको छ। पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिहरूमध्ये केहीले पुनः महिला वा पुरुषकै पहिचानमा दाबी गर्ने, जन्मजात पुरुषले महिलाको र महिलाले पुरुषको नागरिकता माग गर्ने अभ्यासले लैङ्गिकताको विषयमा थप विवाद सिर्जना गरेको छ।
कोही व्यक्तिले पहिचानअनुसारको नागरिकता नै प्राप्त गर्न नसक्ने, तर केहीले तीनथरी नागरिकता लिन सक्ने अवस्थाले राज्यको विभेदकारी नीतिको विरोध भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी भूमिकाले सुरुमा पुरुष पहिचानमा ‘कैलाश श्रेष्ठ’ नामबाट नागरिकता लिएकी थिइन्।
यो पनि : अन्य उल्लेख भएको राहदानीमा ताइवान जादै भूमिका
भूमिकाले ‘अन्य’ पहिचानमा नागरिकता लिँदै सोही पहिचानको राहदानीबाट ताइवान भ्रमण गरिन्। नेपालमा ‘अन्य’ पहिचानमा राहदानी लिने मनोज शाही (मोनिका)लाई कोपभाजनमा पारिएको आरोपसमेत उठेको छ।
महिला बनेपछि भूमिकाले अमेरिकी प्रतिष्ठित अवार्ड समेत प्राप्त गरिन्। एक जना भूमिकालाई तीनथरी नागरिकता दिन राज्य संयन्त्रले सहयोग गरेको देखिन्छ, र उनी यतिबेला रास्वपाको समानुपातिक सांसदका रूपमा महिला कोटामा प्रतिनिधित्व गरिरहेकी छन्।
तीनथरी नागरिकता लिने भूमिका सांसद बनेसँगै अब उनले पहुँचका आधारमा विभिन्न प्रकारका नागरिकता लिन पाउने अभ्यासलाई संस्थागत बनाउने कि कानुनी स्पष्टता र समानताको पक्षमा पहल गर्नेछिन् भन्ने प्रश्न पनि उठाइएको छ।
अधिकांश लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भने अझै पहिचानविहीन भएर राज्यको मूलधारबाट टाढा बस्न बाध्य छन्, जुन समावेशी समानताको संवैधानिक प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिन्ह बनेको छ।
यो पनि : भूमिका पहिलो तेस्रोलिंगी उम्मेदवार हुन्? किन खण्डन गर्दिनन्?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.