अन्तत भूमिकाले पाइन अन्य उल्लेख भएको नागरिकता

अन्तत भूमिकाले पाइन अन्य उल्लेख भएको नागरिकता

माधव दुलाल/काठमाडौं (पहिचान) भदौ २१ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन थालेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई गृह मन्त्रालयको परिपत्र अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरिएको प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए । काठमाडौं नैकापकी तेस्रोलिंगी कैलाश श्रेष्ठ भूमिकाले अन्य उल्लेख गरेर नागरिकता पाइन । गृह मन्त्रालयले २०६९ पुष १७ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई उनीहरुको पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गर्न परिपत्र जारी गरेको थियो ।

नैकापबाट तेस्रोलिंगी कैलाश श्रेष्ठ र भूमिका एकै व्यक्ति भएको कागज पेश गरेपछि यसअघि लिएको नागरिकताको प्रतिलिपि दिदै जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख गरेर नागरिकता दिएको हो । यसअघि कैलाश श्रेष्ठको नागरिकतामा लिंग उल्लेख थिएन । केही जिल्ला प्रशासन कार्यालयले पहिलेनै नागरिकता लिएकाको लिंग परिवर्तन गरेर पुन वितरण गर्न नसकिनै वताउँदै आएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्र अनुसार भूमिकालाई पहिचान अनुसारको नागरिकता दिएको हो ।IMG_20150907_142502584

प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कुलशेखर अर्यालले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकतामा हस्ताक्षर गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले मनोज शाही मोनिकालाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिएको थियो । मोनिकाले राहदानी पनि अन्य उल्लेख गरेर लिइसकेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी योगराज पाण्डेयले अन्य उल्लेख गरेर नागरिकता दिन सकिने तर पहिलेको नागरिकतामा उल्लेख भएको नाम भने परिवर्तन गर्न नसकिने वताए ।

तेस्रोलिंगी भूमिकाले कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठकै नामबाट नागरिकता पाउनु पर्ने माग गरे पनि नाम परिवर्तन गर्न सकिने निर्देशिका र परिपत्र केही नआएकाले त्यो सम्भव नहुने पाण्डेयले वताए । अन्य उल्लेख गरेर नागरिकता दिन सकिन्छ सहायक प्रजिअ पाण्डेयले भने, तर नाम नै परिवर्तन भने गर्न सकिदैन । काठमाडौंबाट पहिलो पटक अन्य उल्लेख गरेर नागरिकता पाउने कैलाश श्रेष्ठ भूमिकालाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, अधिवक्ता प्रेम वहादुर थापा, सुजन पन्त, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन र नर्वेजियन परियोजनाका कार्यक्रम अधिकृत विश्वराज अधिकारीले बधाई दिएका छन् ।IMG_20150907_141908887

भूमिकाले पहिचान अनुसारको नागरिकता पाएकोमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले ढिला भएपनि माग पूरा भएकोमा बधाई दिएका छन् । हिम्मत गर्नेको हार हुँदैन पन्तले इमेलमा लेखेका छन्, ढिला भए पनि माग पुरा भयो। ल वधाई छ भूमिकालाई। अव अरुलाई पनि सजिलो हुन्छ। पन्तले हक अधिकार थपिदै जाने कुरामा पनि सबैलाई शुभ कामना दिएका छन् । भूमिकाले अब राहदानी पनि अन्य उल्लेख भएको लिने वताएकी छन् । समाजकी अध्यक्ष गुरुङ र कार्यकारी निर्देशक ढकालले पनि लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता लिने वताए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मात्रै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई नागरिकता वितरण गर्दा मेडिकल रिपोर्ट माग्ने गरेको छ । यस विरुद्ध यो समूदायको मातृ संस्था नील हिरा समाजले सर्बोच्च अदालतमा रिट दायर गरिसकेको छ । नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि समेत रहेकी भूमिकालाई प्राविधिक कारण देखाउँदै काँग्रेसले गएको संबिधान सभा चुनावमा समानुपातिक तर्फको बन्द सूचिमा नाम राखेको थिएन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading