मधेस प्रदेश नेपालको सांस्कृतिक, ऐतिहासिक र आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। यहाँको समाजमा परिवार, परम्परा र सामाजिक मूल्यहरूको ठूलो महत्त्व छ। तर यी परम्पराहरूका बीचमा अझै पनि किशोर–किशोरीहरूको चाँडो विवाह हुने समस्या विद्यमान छ। मधेस प्रदेशका धेरै ग्रामीण क्षेत्रमा अझै पनि सामाजिक परम्परा, गरिबी, अशिक्षा र सामाजिक दबाबका कारण किशोर–किशोरीहरूको विवाह चाँडै गरिन्छ। विशेष गरी किशोरीहरूलाई परिवारले “जिम्मेवारी” ठानेर सानै उमेरमा विवाह गरिदिने चलन कतिपय ठाउँमा अझै पनि देखिन्छ। कम उमेरमा विवाह गर्दा उनीहरूको स्वास्थ्यमा असर पर्ने, शिक्षा अधुरो रहने, रोजगारीका अवसरहरू सीमित हुने र भविष्यका सम्भावनाहरू संकुचित हुँदै जाने गर्छन्। त्यसैले किशोर–किशोरीहरूको विवाह ढिलो गर्नु अत्यन्त आवश्यक छ, जसले उनीहरूलाई उच्च शिक्षा हासिल गर्न, सीप विकास गर्न र राम्रो आम्दानीका अवसर प्राप्त गर्न पर्याप्त समय दिन्छ।
सर्लाही जिल्लाको बरहथवा नगरपालिका–५ हाथिडण्डा निवासी बन्दना महरा अहिले २० वर्षकी भइन। बन्दना हाल स्नातक तह अन्तर्गत बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी आफ्नो पढाइ र आत्मनिर्भर बन्ने लक्ष्यलाई प्राथमिकता दिएको बताउँछिन्।
परिवारबाट उनलाई विवाहका लागि दबाब छ। “जबसम्म मेरो पढाइ पूरा हुँदैन र म आफ्नै खुट्टामा उभिन सक्दिनँ, तबसम्म विवाह गर्दिनँ।” ग्रामीण समाजमा विशेषगरी दलित समुदायका किशोरीहरूलाई कम उमेरमै विवाह गरिदिने चलन अझै पनि देखिन्छ। त्यही सामाजिक परिवेशमा हुर्किएकी बन्दनाको जीवनमा भने एउटा सानो घटनाले ठूलो मोड ल्याएको छ।
कक्षा ८ मा पढ्दै गर्दा उनका आफ्नै शिक्षकले कक्षामा भनेका थिए, “यस कक्षामा सबैभन्दा छिटो विवाह हुने विद्यार्थी बन्दना हो।” शिक्षकको यो टिप्पणी सामान्य ठट्टा जस्तो लागे पनि बन्दनाको मनमा गहिरो चोट बन्यो। त्यो दिनदेखि उनले मनमनै प्रश्न गर्न थालिन्, के म दलित भएकै कारण छिटो विवाह गर्नुपर्ने हो? के म पढ्न सक्दिनँ र? के मेरो सपना अरूको जस्तो हुन सक्दैन? यी प्रश्नहरूले उनको मनमा नयाँ चेतना जगाए।
उनले आफूसँगै नै वाचा गरिन्, “म जसरी पनि पढ्छु, पढेर आफ्नो खुट्टामा उभिन्छु।” त्यही दृढ सङ्कल्पले उनको जीवनको दिशा परिवर्तन गरिदियो। बन्दनाले त्यसपछि पढाइलाई निरन्तरता दिँदै अघि बढिन्। उनी राम्रा र सकारात्मक सोच भएका साथीसँगको सङ्गतमा रहिन्। पढाइसँगै उनले आफ्नो क्षमता विकास गर्ने विभिन्न अवसरहरू पनि खोज्न थालिन्। समयसँगै उनको आत्मविश्वास बढ्दै गयो।
युवा सक्रियताप्रति पनि उनको रुचि बढ्दै गयो। समाजमा केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वासका साथ उनी बरहथवा युवा क्लबमा सदस्य बनिन्। क्लबमार्फत उनले विभिन्न सामाजिक गतिविधि, सचेतना कार्यक्रम तथा युवामैत्री अभियानहरूमा सक्रिय सहभागिता जनाउन थालिन्।
युवासँग काम गर्दा समाज बुझ्ने मौका मिल्यो बन्दनालाई। “पहिले म केवल आफ्नो पढाइमा केन्द्रित थिएँ, तर क्लबमा आबद्ध भएपछि समाजका धेरै समस्या नजिकबाट बुझ्ने अवसर पाएँ,” उनी भन्छिन्। युवा क्लबमा काम गर्दै जाँदा उनले नेतृत्व क्षमता, सहकार्य र सामाजिक उत्तरदायित्वका बारेमा धेरै कुरा सिकिन्। यसले उनलाई अझ सक्रिय र आत्मविश्वासी बनायो।

उनको सक्रियता यहीँ सीमित रहेन। पछि उनले गैरसरकारी संस्था “दिव्य विकास स्रोत केन्द्र” मा गणक कर्ताको रूपमा काम गर्ने अवसर पाइन्। यो अवसर उनको जीवनमा अर्को महत्त्वपूर्ण अनुभव बन्यो। संस्थामा काम गर्दा उनले विभिन्न समुदायका मानिसहरूलाई भेट्ने, उनीहरूका समस्या बुझ्ने र तथ्याङ्क सङ्कलन गर्ने अवसर पाइन्।
गाउँ–गाउँ पुगेर काम गर्दा समाजका धेरै यथार्थहरू नजिकबाट देख्न पाइयो भन्ने उनको अनुभव छ। “संस्थामा काम गर्दा झनै हौसला, प्रेरणा र साहस मिल्यो,” बन्दना सुनाउँछिन्। उनका अनुसार विभिन्न थरीका मानिसहरूसँग भेटघाट हुँदा सोच्ने तरिका पनि बदलियो। “धेरै मान्छेहरूसँग कुरा गर्दा मलाई लाग्यो,यदि चाहियो भने हामीले धेरै कुरा बदल्न सक्छौँ,” उनी भन्छिन्।
शिक्षामार्फत परिवर्तनको यात्रा संस्थाको कामले उनलाई अझै सचेत र जिम्मेवार बनाएको छ। अब उनी केवल आफ्नै भविष्यका लागि मात्र होइन, समाजका अन्य किशोर–किशोरीहरूको भविष्यका लागि पनि सोच्न थालेकी छिन्। “शिक्षा नै परिवर्तनको मुख्य आधार हो,” बन्दना भन्छिन्। “यदि किशोरीहरू पढ्न पाए भने उनीहरू आफ्नो निर्णय आफैँ गर्न सक्षम हुन्छन्।”
अहिले उनी आफ्नो समुदायका किशोर–किशोरीहरूलाई पढाइप्रति प्रेरित गर्ने प्रयास गरिरहेकी छिन्। उनी आफ्ना अनुभवहरू सुनाउँदै भन्छिन्, “यदि म शिक्षकले भनेको कुरा मनमा लिएर निराश भएको भए आज यहाँसम्म आइपुग्न सक्दिनथेँ। त्यसैले चुनौतीलाई अवसर बनाउनु जरुरी हुन्छ।”
परिवारले विवाहका लागि दबाब दिँदा पनि उनले आफ्नो लक्ष्यबाट पछि हटेकी छैनन्। बरु उनी आफ्नो पढाइ पूरा गरेर आत्मनिर्भर बन्ने लक्ष्यमा केन्द्रित छिन्। “पढेर सक्षम भएपछि मात्रै जीवनका ठूला निर्णय लिनुपर्छ भन्ने मेरो विश्वास हो,” उनी भन्छिन्। भविष्यमा उनले समाजसेवा र युवा सशक्तीकरणको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छिन्।

बालविवाह, लैङ्गिक विभेद र शिक्षा नपाउने जस्ता समस्याविरुद्ध काम गर्ने उनको लक्ष्य छ। बन्दना भन्छिन्, “म आफू सक्षम बन्न चाहन्छु र अरू किशोरीहरूलाई पनि सक्षम बन्न प्रेरित गर्न चाहन्छु।” उनको विचारमा समाज परिवर्तन एकैचोटि सम्भव हुँदैन, तर साना–साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। अहिले उनी पढाइसँगै सामाजिक सक्रियतामा पनि लागिरहेकी छिन्।
बरहथवा नगरपालिका–५ हाथिडण्डाको साधारण परिवारबाट उठेकी बन्दना महराको कथा केवल एक युवतीको सङ्घर्ष मात्र होइन, सपना, साहस र आत्मविश्वासको कथा पनि हो। शिक्षकको एउटा टिप्पणीले सुरु भएको उनको आत्मसंघर्ष अहिले प्रेरणादायी यात्रामा परिणत भएको छ।
आज बन्दना महरा केवल आफ्नो भविष्य बनाउने बाटोमा मात्र होइन, समाजका अन्य किशोर–किशोरीहरूलाई पनि शिक्षा, आत्मनिर्भरता र आत्मविश्वासतर्फ अघि बढ्न प्रेरित गर्ने पात्रका रूपमा चिनिन थालेकी छिन्। उनको दृढ सङ्कल्प र सङ्घर्षले एउटा सन्देश दिन्छ,परिस्थिति जस्तोसुकै भए पनि यदि लक्ष्य स्पष्ट छ भने सफलताको बाटो आफैँ खुल्दै जान्छ।
उनको जीवन कथाले अहिले धेरै युवाहरूलाई, विशेषगरी दलित समुदायका किशोरीहरूलाई, प्रेरणा दिइरहेको छ। सपना देख्न र त्यसलाई पूरा गर्नका लागि दृढ इच्छाशक्ति चाहिन्छ भन्ने उदाहरणका रूपमा बन्दना महरा एउटा प्रेरणादायी उदाहरण बनिरहेकी छिन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.