गौरी नेपाली/काठमाडौं (पहिचान) जेठ ८ -यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस सरसफाई कार्यक्रम तथा मैनवत्ति प्रज्वलन गरी मनाएको छ । काठमाडौं उपत्यकामा यो दिवस भव्यताका साथ विभिन्न सन्देशमुलक सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको भएपनि यसपटकको महाभुकम्प र त्यसको निरन्तरको पराकम्पनले गर्दा यो दिवसलाई सान्दर्भिक तवरले मनाउन यस किसिमको कार्यक्रम आयोजना गरिएकोे महासंघले जनाएको छ ।
समलिंगि तेस्रोलिंगीहरुमाथिको घृणा अन्त्यका लागि सामाजिक अभियान गर्ने मुख्य उद्देश्यका साथ सरसफाई कार्यक्रम गरिएको महासंघका राष्ट्रिय कार्यक्रम संयोजक सिमरन सेरचनले जानकारी दिइन । लाजिम्पाटमा हाल केयर एण्ड सपोर्ट रहेको नील हिरा समाजको पुरानो भवन अगाडिको खुल्ला चौरमा झण्डै ८० जनाको टोलीले दिउसो २ वजेदेखि ३ः३० सम्म सरसफाई गरेको थियो । यो स्थानमा बैशाख १२ को भुकम्प र यसको पराकम्पनबाट प्रभावित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु पनि पालमा वस्दै आएका छन् । भुकम्पको पीडामा परेका यस समुदायका व्यक्तिलाई पालमा नै बस्न पनि जुनसुकै स्थानमा सहज नभएपछि उपत्यका र बाहिरका यस समुदायका व्यक्तिहरु यस चौरमा वस्दै आएका छन् ।
![20150521_153758[1]](https://pahichan.com/np/wp-content/uploads/2015/05/20150521_1537581-300x169.jpg)
पालको यस्तो वसाई लम्विएपछि यहाँ विस्तारै फोहोर बढ्न थालेको थियो । रोगको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरसफाईको कार्यक्रम गरिएको हो । सरसफाईको कार्यक्रम सकिएपछि घृणा तथा हिंसामा परि ज्यान गुमाएका सम्पुर्ण यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरु, भुकम्पमा परि ज्यान गुमाएका यो समुदायका व्यक्ति तथा अन्य व्यक्तिहरुको सम्झनामा एक मिनेट मौन धारण गरि मैनवत्ति प्रज्वलन गरिएको थियो । मैनवत्ति प्रज्वलनको सम्बोधन यौनिक तथा लैंगिक अल्पसंख्यहरुको महासंघ नेपालकी अध्यक्ष मनिषा ढकालले गरेकी थिइन ।
अन्य संस्थाले पनि मनाए समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस
सधै यो समुदायमा कार्य गर्ने सस्थांले मात्र मनाउदै आएको यो दिवस मनाउन यसपटक भने अन्य संस्थाहरु स्टेप नेपाल, स्याक्स, नारी चेतना समाज, सीएसी–भक्तपुर पनि अग्रसर देखिएका छन् । यो दिवस मनाउन भनेर साथसाथ प्रोजेक्टले यस वर्ष यि संस्थाहरुलाई आर्थिक सहयोग गरेपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मुद्दामा कार्य नगर्ने यि संस्थाहरुले पनि यो कार्यक्रम मनाएका हुन् । यि जस्तै सुनसरी, कास्की र कैलालीमा पनि मे १७ कै दिन यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसगँ मिलेर विभिन्न संस्थाहरुले विविध कार्यक्रम गरि यो दिवस मनाइसकेका छन् ।![20150521_150943[1]](https://pahichan.com/np/wp-content/uploads/2015/05/20150521_1509431-300x169.jpg)
काठमाडौंमा भने महाभुकम्पका कारण मे १७ कै दिन कार्यक्रम गरि यो दिवस मनाउन सकिएको थिएन । यो सँगै यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्य गर्ने उपत्यकाका परिचय समाज, क्रुसएड्स, पिङ्क ट्रयाङ्गल, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विद्यार्थी मञ्च, केयर एण्ड सपोर्ट, हाम्रो समान पहुँच जस्ता संस्थाहरुको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । विश्वमा यो दिवस मार्फत हप्तैभरी विभिन्न कार्यक्रम गरी समलिंगी तेस्रोलिंगीका समान अधिकारका लागि आवाज उठाउने गरिन्छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.