गठबन्धन नहुँदा गोरखाका कांग्रेस उत्साहित

गठबन्धन नहुँदा गोरखाका कांग्रेस उत्साहित

411
SHARES

गोरखा – गोरखा क्षेत्र नं २ का मतदाताले १२ वर्षपछि नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिन्हमा भोट हाल्न पाउँदा ज्यादै उत्साहित भएको बताएका छन्।

विसं २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखामा कांग्रेसको तर्फबाट तत्कालीन गोरखा क्षेत्र नं २ (पालुङटार, सिरानचोक, अजिरकोट) क्षेत्रबाट रविकला खनाल र क्षेत्र नं ३ (बारपाक सुलिकोट) क्षेत्रबाट हरिबहादुर घले उम्मेदवार थिए।

विसं २०७२ सालमा निर्वाचन क्षेत्रको पुनर्संरचना भएसँगै तीन क्षेत्रबाट दुई क्षेत्र कायम रहेको गोरखा क्षेत्र नं २ का बासिन्दाले १२ वर्षपछि नेपाली कांग्रेसको रुख चिन्हमा भोट हाल्न पाउँदा उत्साहित भएको बताएका हुन्। हाल कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका पूर्वसांसद प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्।

गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका पूर्णबहादुर गुरुङ १२ वर्षपछि कांग्रेसको उम्मेदवारलाई भोट हाल्न पाएकोमा ज्यादै खुसी लागेको बताउँछन्। “विगतका निर्वाचनमा गठबन्धन हुँदा आफ्नो उम्मेदवारलाई भोट हाल्न पाएनौ, यसपटक आफ्नो उम्मेदवार पाएका छौँ,”उनले भने।

विसं २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आँखा चिन्हमा भोट हालेका गोरखा–२ का बासिन्दाले विसं २०७९ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई हँसिया हतौडा चिन्हमा भोट हालेका थिए।

माओवादी केन्द्रले हाल उक्त पार्टी र चुनाव चिन्ह छोडेको छ भने पूर्वप्रधानमन्त्री डा भट्टराईले निर्वाचन लड्ने भन्दै उम्मेदवारी मनोनयन गरेर अन्तिम समयमा फिर्ता लिएका छन्।

गोरखा अजिरकोट गाउँपालिका–३ काफलडाँडाका सुरेश दवाडी धेरैपछि रुख चिन्हमा भोट हाल्न पाइएको बताउँछन्। “दुई निर्वाचनमा पूर्वप्रधानमन्त्रीलाई भोट हाल्यौँ, यसपटक आफ्नो उम्मेदवारलाई भोट हाल्न पाउँदै छौँ,”उनले भने।

आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, रास्वपाबाट कवीन्द्र बुर्लाकोटी र नेकपा (एमाले)बाट चक्रे मिलन उम्मेदवार छन्।

उक्त क्षेत्रमा गोरखा नगरपालिकाको वडा नं ८, ९, १०, ११, १२, १३ र १४, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका रहेका छन्। उक्त क्षेत्रमा हाल एक लाख ८ हजार ६३० मतदाता रहेका छन्।

समाचार शेयर गर्नुहोस्
411
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.