काठमाडौं (पहिचान) असार १० – एचआइभी संक्रमण हुन नदिन र संक्रमितले पाउँदै आएको सेवा नरोक्न सरोकारवालाहरुले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको ध्यानाकर्षण गराएका छन् । केन्द्रका निर्देशक डाक्टर दीपेन्द्र रमण सिंहसँगको छलफलमा सरोकारवालाहरुले सेवा रोकिनु नहुने वताएका हुन् । बिश्व बैंकको सहयोगमा केन्द्रले सरोकारवाला संघ संस्था मार्फत एचआइभी संक्रमितको औषधोपचार, हेरविचार, स्याहार सुसार एवं संक्रमण हुन नदिन संचालन गरेको कार्यक्रम सकिन अब २० दिन मात्रै बाँकी छ ।
स्वास्थ्य मन्त्रालयले पैसाका कारण सेवा नरोकिने वताएपनि केन्द्रले आलटाल गरेको भन्दै सरोकारवालाले सेवा नरोकिने गरी तत्काल कार्ययोजना स्वास्थ्य मन्त्रालयमा पेश गर्न आग्रह गरे । संस्थागत हितका लागि होइन, अनि जागिरका लागि पनि होइन राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालका माधव अधिकारीले भने, ढिला भइसक्यो छिटो कार्ययोजना मन्त्रालयमा पठाउनु पर्यो । स्वास्थ्य सचिवले पैसाका कारण सेवा रोकिदैन भनेकाले सेवा निरन्तरताका लागि केन्द्रले पहल गर्नुपर्ने अधिकारीको भनाई छ ।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले सेवा निरन्तरता नभए एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीको बिचल्ली हुने वताइन । एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीका लागि हुँदै आएको सहयोग पटक पटक केन्द्रको तदारुकता नहुँदा रोकिने गरेको भन्दै ढकालले तत्काल कार्ययोजना पठाएर सेवा निरन्तर गर्न केन्द्रका निर्देशक सिंहलाई आग्रह गरिन् । समाजकै उपनिर्देशक परसुराम राईले दातृ निकायसँगको छलफलमा सरोकारवाला निकायलाई सहभागी नगराएको गुनासो गरे ।
उनले सेवा रोकिएका बेला एचआइभी संक्रमितलाई सहयोग कसले गर्ने प्रष्ट पार्न आग्रह गरे । समाजकी अध्यक्ष पिंकी गुरुङले केन्द्रको आलटाल गर्ने र झारा टार्ने काम बन्द हुनुपर्ने वताइन । सरोकोरवाला निकायको दवाव पछि केन्द्रका निर्देशक डाक्टर दीपेन्द्र रमण सिंहले आजै स्वास्थ्य मन्त्रालयमा कार्ययोजना पठाउन प्रतिवद्धता जनाए । स्वास्थ्य सचिवकोमा आजै फाइल पुग्छ सिंहले भने, सेवा रोकिनु हुँदैन भन्नेमा हामी सचेत छौ । नार्गाजुन डेभलपमेन्ट कमिटीका प्रतिनिधिले संक्रमण हुन नदिन केही नगर्ने तर संक्रमितलाई खुवाउन एआरटी बोकेर बस्नेहरु माथि निगरानी बढाउनु पर्ने माग गरे ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.