अधिकारमा ठूलो फड्को मार्यौ : निर्देशक ढकाल

अधिकारमा ठूलो फड्को मार्यौ : निर्देशक ढकाल

काठमाडौं (पहिचान) साउन २४ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले डेढ दशकको अवधीमा यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार प्राप्तिको महत्वपूर्ण उपलब्धी हाँसिल गरेको बताएकी छिन् । काठमाडौं जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रममा निर्देशक ढकालले समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजले आउन लागेको नयाँ संविधानका प्रारम्भिक मस्यौदामा यौनिकताका आधारमा विभेद गर्न पाइदैन भन्ने शब्द उल्लेख गरेर संविधानमै अधिकार सुरक्षित गरिनु आफ्नो संस्था र समुदायका लागि ठूलो उपलब्धि भएको बताइन् ।

संविधानको प्रारम्भिक मस्यौदाको मौलिक हक अन्तरगत समानताको हकमा यौनिक अभिमुखिकरणका आधारमा कसैलाई पनि विभेद गर्न नपाइने उल्लेख छ । राज्यले समलिंगी तेस्रोलिंगीलाई ओ उल्लेख गरेर राहदानी दिन सुरु गर्नु, अन्य उल्लेख गरेर नागरिकता प्रदान गर्नु अर्को ठूलो उपलब्धी भएको उनको भनाई छ । “राज्यले म जस्ता तेस्रोलिंगीलाई नागरिकता र पासपोर्ट दिन सुरु गरेको छ । यो हाम्रो संस्थाको एचिभ्मेण्ट हो ।” निर्देशक ढकालले भनिन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले समलिंगी तेस्रोलिंगीलाई सहयोग स्वरुप बजेट विनियोजन गर्नु पनि समाजको उपलब्धी भएको उनले बताइन् । विभिन्न सरकारी तथा दातृ निकायको सहयोग र आफ्नै पहलमा यी उपलब्धी हासिल गर्न सकिएको ढकालले बताइन् । उनले गर्त आर्थिक वर्ष २०७१/७२ मा नील हिरा समाजले विभिन्न दातृ निकायबाट आएको बजेट अधिकार प्राप्तिका कार्यक्रम सँगै एचआईभि रोकथाम र उपचार सेवा, आयआर्जन, सीपविकास जस्ता कार्यक्रममा खर्च गरेको जानकारी दिइन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले ठूलो परिमाणमा वैदेशिक  सहयोग भित्राउने गैरसरकारी संस्थाहरु पारदर्शी हुन नसकेको बताए । सामाजिक सेवामुलक कामका लागि भन्दै दर्ता हुने गैरसरकारी संस्थाहरुले समाज सेवामा भन्दा पनि नाफा मुलक काममा आँफुलाई केन्द्रित गर्ने गरेको भन्दै प्रजिअ अर्यालले त्यस्ता संस्थाहरुको नविकरण नगर्ने चेतावनी दिए । वैशाख १२ गते गएको भूकम्पले देश तहशनहश भएका बेला गैरसरकारी ससंस्थाहरुले प्रभाबकारी भूमिका निर्वाह गर्न नसकेको उनको गुनासो थियो ।
कार्यक्रममा कतिपय संस्थाहरुले आफ्नो संस्थाको वार्षिक आय व्यय स्पष्ट पार्न नसकेपछि प्रजिअ अर्याल सँगै राजनीतिक दलका प्रतिनिधिहरुले गैरसरकारी संस्थाहरुलाई पारदर्शी भएर लक्षित वर्गसम्म पुग्नेगरी काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा नील हिरा समाजले भने सहयोगी संस्था तथा स्रोत स्पष्ट उल्लेख गर्दै बजेटबारे पारदर्शी जानकारी दिएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.