गौरी नेपाली/पहिचान – जीबन चाहेर वा नचाहेर विताउनु पर्दोरहेछ वा वित्दो रहेछ । चाहेर नचाहेर विताएका विगत भने बाचुञ्जेलका साथी बन्ने रहेछन् । हो समयले घाउ निको पारे पनि घाउ लागेको कुरा चाँही विर्सन नसकिने रैछ । वर्तमानमा हिडीरहेकी छु म तर कहिलेकाही स्मरणमा विगत वर्तमान भएर हिड्न खोज्दोरहेछ । म तपाईहरुको पहिचान अनलाईन हेर्छु । मलाई असाध्य मन पर्छ किनकी मलाई माया लाग्छ यो समुदायको । मेरो सफल हुन नसकेको प्रेमकथाको नायक पनि तेस्रोलिंगी नै भएर पनि होला ज्यादा हेर्छु र पढ्छु यो अनलाइन । अन्य व्यक्तिका कथा व्यथा सुनिरहदा मलाई पनि आफ्नो अपुरो प्रेम र यसमा आएका उतार चडाव सुनाउने मन भएर आयो यो अनलाइन मार्फत् । मलाई पनि मेरो मन खोल्ने रहर भयो, अलिकति भएपनि मन हलुका बनाउने इच्छा जाग्यो ।
मेरो नाम रिता परियार, घर चितवन । सासू, ससुरा, श्रीमान, म अनि एउटा छोराको खुशी र सुखी परिवार छ मेरो । म विद्यालयमा पढाउछु । श्रीमान एउटा एन.जी.ओमा फाइनान्स अफिसर हुनुहुन्छ । हामी दुवै जना मिलेर घर व्यवहार चलाइरहेका छौँ । घरमा त्यस्तो कुनै अभाव छैन । भौतिक र मानसिक दुवै सुख दिएको छ मलाई मेरो परिवारले । तर पनि खै किन कहिलेकाही मेरो मन भने आफ्ना विगत सम्झन पुग्छ । हावा अनि तेज जत्तिकै तिव्र गतिमा पुग्छ मेरो मन त्यही विगतमा जहाँ अप्राप्तिको छटपटि छ, गुमाउनुको पीडा छ । यादहरुले हसाउँछन् अनि यादहरुले नै रुवाउँछन् । मलाई यिनै यादहरु वा भनौँ विगतको स्मरणले कहिलेकाही मुटु तरवारले रेटिएझै बनाउछ, छुरा रोपिएझैँ हुन्छ यो छाती । मैले पनि विगतमा कसैलाई मन पराएको थिए । तर उ मेरो श्रीमान बन्न सकेन । यद्यपी मेरो श्रीमानप्रतिको गुनासोले यस्तो भनेकी होइन । परिवार र श्रीमानप्रति गुनासो नहँुदा नहँुदै पनि उसगँ जोडिएको विगत याद आउँदो रहेछ । एक अर्कालाई चाहादा चाहदै पनि यहि समाजको गिद्धे नजरको त्रासले छुटाएको हाम्रो प्रेम सम्बन्ध सम्झदा आज पनि छाती चरक्क चिरिएर आउँछ, मुटु दुख्छ मेरो मन भतभती पोल्छ, उनको यादमा थाहै नपाई आशु पनि झरिदिन्छ , खै कति बेला आशु थाहै नपाई झरीदिन्छ …..।
सदैव सपना देख्न रात चाहिन्न रहेछ । विपनीमै सपना देख्ने मेरो कहिलेकाहीको स्वभावले मलाई यही विश्वास दिलाएको छ कि सपना देख्न रात चाहिन्न । पहिलो पटक मेरा मायालु दृष्टिले ठम्याएका उनको त्यही निर्दोष अनुहार जसलाई धेरै धेरै पटक मैले यो उज्यालो दिनमा कहिले कलात्मक त कहिले कथात्मक शैलीमा स्वप्नबद्ध गरेकी छु, कल्पनामा सजाएकी छु । यद्यपी यो मेरो सपना र कल्पना उसको प्राप्तिको लागि नभई वाचा बन्धनमा हारेको व्यक्तिको छटपटाहट हो । हो विक्रमसगँको मेरो प्रेम म आफैले पुरा गर्नबाट चुकेकी हुँ भन्ने आत्मबोधले पिरोल्छ मलाई । अनि घरी घरीको उसको याद, उसको कल्पना र सपना पनि यसैका लागि हो । मरो जीवनका पाइलाले उसको गोरेटो नहिडे पनि मेरो जीवन सुखी छ । धेरै माया र विश्वास गर्ने श्रीमान पाएको छु, परिवार पाएको छु । र पनि जीवनमा कहि कतै घटेका घटना र तिनसगँ बुनिएका सपनाले कता कता पिरोल्न चाँहि खोज्दोरहेछ । मैले नसम्झन पनि चाहेको हुँ उसलाई , कोशिस धेरै गरेको हुँ विर्सनलाई । तर आफ्नै मनलाई ढाट्न भने नसकिने रैछ । सबैले उसलाई अपहेलना गरेको बेला धेरै माया गर्छु भन्ने मैले नै साथ दिन सकिन भन्ने पीरलोले मलाई चिमोटीरहेको छ ।
आज ६ वर्ष वितिसकेछ उसलाई पहिलो पटक भेटेको । २ वर्षको हाम्रो प्रेमलाई पूर्णविराम लगाई मैले विबाह गरेको नि ४ वर्ष भएछ । उसलाई प्रथम पटक भेट्दाको उसको अनुहार, त्यो निर्दोष मानव अनुहार आजसम्म पनि मेरो स्मरणमा बरोबर आउने गर्छ । भर्खरै स्नातक दोस्रो बर्षको परीक्षा सकाएर तेस्रो वर्षको कक्षा सुरु हुन लागेको थियो मेरो । समयको सदुपयोग र कम्प्युटर सीपको विकासका लागि भनेर कम्प्युटर कक्षा जान थालेको थिए । त्यही मैले पहिलो पटक विक्रमलाई देखेको थिए । उसको हसिलो र सुन्दर चेहेराले आकर्षित गरेको थियो मलाई । उसलाई देखेपछि मेरो जीबनसाथीको परिकल्पना उसकै जस्तो आवरणमा गरेथे मैले । उसगँ बोल्ने मन भएर पनि बोल्न सकेकी थिइन त्यो पहिलो भेटमा । कम्प्युटर कक्षा सकिएपछि भने घरसम्म पुग्दा र घर पुगिसकेपछि पनि उसगँ बोल्न नसकेकोमा आफैसँग रिस उठेको थियो । भोलिपल्ट उसगँ बोल्ने प्रतिबद्धता गर्दै आफ्नै मनलाई सम्झाए पनि । भोलि कुर्न धेरै गाह्रो भएको थियो मलाई । समय पनि सुस्त वितेझै लाग्दै थियो । जीवनमा पहिलो पटक यस्तो महशुस गर्न थालेको थिए । एउटा अञ्जान व्यक्तिप्रति यति छिट्टै किन यस्तो महशुस भइरहेछ भनेर आश्चर्य पनि लाग्दै थियो ।
भोलिपल्ट उसैलाई हेर्नका लागि हतारिएको मेरो मनले समयभन्दा २० मिनेट पहिला कक्षामा पु¥यायो मलाई । केही समय पछि ऊ पनि आईपुग्यो । उसलाई देख्ने वित्तिकै मन आकासियो तर फेरी लाज र संकोच भरियो ममा । अनि उसको उपस्थितिले मलाई लज्जावती बनाइदियो । उनी आफै अगाडि आएर बोले मसगँ –“सञ्चै हुनुहुन्छ ?” उनको अनुहार जति सफेद थियो त्यति नै उनको बोलि पनि रहेछ । त्यसपछि हामीले परिचय ग¥यौ साथै फूर्सद भएसम्म गफ पनि गर्न भ्यायौ । मैले मेरो आफ्नो बाल्यकालदेखिका कुरा भन्न भ्याए उसलाई त्यहि पहिलो हाम्रो कुराकानीमा । ऊ मेरा बारेमा के सोच्छ भन्ने पनि ख्याल नगरी मैले त्यतिका कुरा गरिरहे । तै पनि उसले चासोपूर्वक सुन्यो । मचाहि भित्रभित्रै बढो प्रफूल्लित मुद्रामा थिए उसगँ बस्ने, कुरा गर्ने बहाना पाएकोमा । उसले भने मैले मौका नदिएर हो वा उसले बताउन नखोजेर हो भन्ने कुराको टुङ्गो नै नपाई आफूले पढाइ विचमै छाड्नुपरेको र अहिले पुनः पढाइ गर्न थालेको कुरा झट्ट भनिहालेको थियो । कक्षा १२ मा शिक्षा विषय पढ्दै काम पनि गर्ने बताएको थियो उसले । जे होस् अधिकांस मेरै कुरा मात्र सुनाएर छुट्टीएथ्यौ हामी ।
यो हाम्रो एउटै मन पनि छिनमै रुने, छिनमै हास्ने हुदोरहेछ । छिनछिनमा बद्लिने स्वभाव हुनेरैछ । आफ्नै मन पनि बुझ्न कठिन हुने रैछ । अघिल्लो दिनको यहि मन कति छटपटीले भरिएको थियो, विक्रमसगँको भेटपछिको यहि मन कति प्रफुल्लित छ । अघिल्लो दिनको त्यो गरुङ्गो भारीजत्तिकैको मन परिवर्तन भएर कपास जतिकै हलुका भएको थियो अनि उड्दैथ्यो आकाशमा । जे होस् ममा अनौठो सञ्चार भइरहेको थियो । कताकता आफैलाई भुलेर सधै हिड्ने बाटोहरु पनि अल्मलिए झै लाग्ने हुदैथिए । ती थाहै नपाइ बहने पवन नयाँ लाग्दै थिए….यी परिवर्तित सवेंग अनि महशुसले मलाई कसैसगँ प्रेम भएको शंकाको उत्पत्ति गराउदै थिए अनि म आफैलाई सोध्न थालेको थिए के यो माया हो…………..??
घरमा पुग्ने वित्तिकै उसलाई बोल्ने पालो नदिएकोमा आफैदेखि रिस उठ्यो । म त उसको बारेमा उत्सुक थिए तर सोध्ने हिम्मत नगरी एकोहोरो आफै मात्र बोलिरहेछु । उसले के सोच्यो होला भन्ने आशंका उत्पन्न भएथ्यो मनभरी अनि पुन भोलि यो गल्ति सच्याउने सोचले मन बुझाउँदै थिए । उसगँको तेस्रो दिन पनि याद छ मलाई । किनकी यही दिन मैले उसको वास्तविक अवस्थाको ज्ञान पाएको थिए । क्लासमा केही केटी साथीहरु उसकै बारेमा कुरा गरिरहेको मैले सुनिरहेको थिए । उनीहरु विक्रमलाई त्यो त केटी होे पो हो रे त, नाक पनि छेडेको छ भन्दै थिए, अनि फेरी त्यही समूहबाट हिजडा होला नि त भन्दै विक्रमलाई हासोको पात्र बनाउदै थिए उनीहरु । मलाई अचम्म लाग्यो । उ क्लासमा आएदेखि नै मन पराउने मैले नै यति धेरै ठम्याइ गरेकी थिइन । जे होस् उनीहरुको कुराले मलाई पीडा भयो । यो पीडा आफैलाई भनेझै गरेर गढ्यो मेरो मनमा । मेरा लागि उनीहरु खराब मान्छेको सुचीभित्र दरिए पनि । अनि विक्रमको झनै माया लागेर आयो । उसलाई अझ मायाको खाचो छ भन्ने महशुस गरे मैले र उसलाई झनै बढी माया, साथ र सहयोग गर्ने अठोट मनबाट आउदै थियो ।
मैेले उसका लैंगिकताका बारेमा थाहा पाईसकेको सायद उनी अनविज्ञ भएर होला उनले मलाई गफै गफमा आफु पनि केटी भएको बताए । त्यो सब बताइरहदा उनलाई पीडा परिरहेको महसुुस मैले गरेको थिए । मैले उनलाई अकंमाल गर्दै हाम्रो मित्रतामा लैंगिकता भन्ने कुरा गौण हो भने र यस्तो कुराले आफूलाई कमजोर नबनाउन पनि आग्रह गरे । मेरो माया सायद उनले बुझेर होला, उनको अनुहारमा एक किसिमको सुनौलो चमक पाए मैले । उनले आजसम्म म जस्तो साथी नपाएको भन्दै खुशी प्रकट गरे । उनको अनुहारको रंगले मलाई झनै ठूलो युद्ध जितेझै महशूस गरायो । उनी खुशी भएकाले वा भनौ उनको विश्वास जित्न सकेकोमा म आफू पनि खुशी महशुस गर्न थाले । अरुलाई खुशी दिन सकेमा मान्छे स्वत खुशी हुने रैछ । मेरो खुशी अब विक्रमको खुशीमा निर्भर हुदै गइरहेको थियो । उनी पनि अब मसगँ बढी घुलमिल गर्न रुचाउने भएका थिए ।
पढाइमा बाहेक अन्य तिर खासै मन जादैनथ्यो मेरो तर विक्रमसगँको भेटपछि म उसको यादमा, उसगँको सामीप्यतामा बढी रमाउने भएको थिए । अर्थात म कसैको प्रेममा परेको थिए र यो अब दोहोरो हुन थालेको थियो । मेरो परिवारको आर्थिक अवस्था त्यति राम्रो होइन । त्यसैले मसगँ पढ्नु बाहेकको विकल्प नभएर होला म सानैदेखि पढ्नमा लगाव राख्थे । विक्रम पनि मेरो पढ्ने स्वभाव खुव मन पराउथ्यो । यसर्थ पनि म झन् बढी पढ्थे । पढाइ राम्रै भएकै कारण विद्यालय तहदेखि नै छात्रबृत्ति कोटामा पढ्न पाएको थिए । उनी जागीरे भएकाले मेरो अभावलाई बुझेर होला मेरा लागि चाहिने स्टेशनरी किनीदिन्थे उनी । मचाही उनलाई त्यसो नगर कमाएको थोरै भएपनि बचत गर भन्थे उनी चाही तिमीलाई लगानी गर्न सकेमात्र मेरो बचत हुन्छ भन्थे ।
म जति उनको ख्याल गर्ने भएको थिए, त्यति नै बढी उनी मेरो ख्याल राख्थे । मैले एक दिन वाबाआमा घरमा नभएको दिन पारेर उनलाई खाना खान बोलाएकी थिए । उनी आएका पनि थिए । घरमा म र मेरो भाइ बहिनी थियौ । खाना खानेवित्तिकै बाबा आइपुग्नुभयो । को केटालाई घरमा ल्याइस भनेर बाबाले गाली गर्नुहुने त्रासले सताएको थियो मलाई त्यति बेला । तर विक्रमले त्यतिबेला आफ्नो बास्तविक नाम विनिता भन्दै आफू खेलाडी भएकाले कपाल काटेको र केटा पहिरन लगाउने गरेको तर आफु केटी नै भएको बताउदै बाबासगँ कुरा ग¥यो । बाबालाई उसले विश्वस्त र खुशी दुवै पा¥यो । मेरो त्रास एकैछिनमा शुन्यतामा विलायो । अव उनी मेरो घरमा निर्वाद रुपले आउने जाने भइसकेका थिए । उनी केही समय लैंगिकताकै कारण पारिवारिक बहिष्करणमा परेकाले घरसगँ उनको सम्बन्ध त्यति सुमधुर थिएन । यसर्थ हाम्रो घरमा उनको उपस्थिति बाक्लिदो थियो । यसक्रममा एक दिन मेरी बहिनीले हाम्रो सम्बन्धका बारेमा थाहा पाई । उसलाई यो अस्वभाविक लागेछ । बेलुकीको खाना खाने समयमा बहिनीले परिवारका सबैका अगाडी विक्रम र मेरो सम्बन्धको खुलासा गरी । मैले त्यतिबेला के गर्ने सोच्न सकिन । सबै जना मिलेर मलाई गाली गर्न थाले । विक्रमलाई त झन् धेरै अपहेलित शब्द प्रयोग गरे उनीहरुले । मलाई त्यो सह्य भइरहेको थिएन । यसर्थ मैले पनि बिक्रमलाई असभ्य भाषा प्रयोग गरेकोमा आपत्ति जनाउदै उनीहरुसगँ झगडा गरे । बाबाले अब पनि उसगँ सम्बन्ध अगाडी बढाए छिट्टै मेरो विबाह कुनै केटासगँ गराइदिने धम्की दिनुभयो ।
मेरो तेस्रो बर्षको नतिजा आइसकेको थिएन । यसर्थ मैले परिवारबाट टुक्रनु मेरा लागि असंभब थियो । यसर्थ बरु विस्तारै परिवारलाई मनाउने कोशिस गर्दै कामको खोजी गर्नुपर्ला भन्ने सोचले । मैले अब उसगँ बढी घुलमिल गर्दिन भने । रातभर ऐठन भयो मलाई । मेरो परिवार र समाजले हामी दुवैले चाहेको सम्बन्धलाई स्वीकार्दैनथ्यो । हामी छुट्टिन पनि सक्दैनथ्यौ । अगाडी बढ्न पनि थुप्रै बाधाहरु थिए । रातभर सोचाइमा नै प¥यो यो मेरो मन अनि आशु झर्नमै व्यस्त रह्यो मेरा आखाँ । मैले विक्रमलाई भेटेर अब केही समय कम भेटघाट गरौँ त्यो पनि परिवारलाई थाहा नदिएर भन्नुपर्ला भन्ने सोचे । सोच्दा सोच्दै कतिबेला निदाएछु पत्तो भएन ।
भोलिपल्ट विहानै अचानक विक्रम घरमा आइपुग्यो । म उठेको पनि थिइन । मेरी बहिनीले उसलाई ठुलो स्वरले गाली गरेबाट म विउझिए र हतार हतार बाहिर निस्किएर हेर्छु त घरका सबै भएर उसलाई विभिन्न आरोप लगाउदै गाली गर्न थालेका रहेछन् । मैले छिमेकीले थाहा पाएभने विक्रमको बेइज्जत गर्लान् भन्ने डरले यो स्थिति साम्य पार्न विक्रमलाई तिमी यहाँबाट जाऊ भने । यसले गर्दा मेरो परिवार पनि शान्त होलान् भन्ने आश मैले गरेकी थिए । मैले त्यति भनेपछि उसले मलाई हेर्दै आखाँबाट आशु झार्दै गयो । मैले सबैका अगाडी स्पष्टीकरण दिन सकिन उसलाई । पछि तुरुन्तै भेटेर सम्झाउने उद्देश्यले त्यस्तो भनेको थिए । स्थिति शान्त भएपछि मैले उसलाई फोन गरे उसको मोबाइल अफ रहेछ । आजसम्म पनि त्यो मोबाइल अफ छ । पछि म उसलाई भेट्न उसको कोठामा गएको थिए तर ऊ त त्यहाबाट छाडेर काठमाडौ गइसकेको जानकारी पाए । मैलै उसलाई त्यसपछि भेट्ने मौका आजसम्म पनि पाइन । मैले धेरै पटक उसको मोबाइलमा सम्पर्क गर्ने प्रयास गरे तर आजसम्म पनि त्यो प्रयास सफल हुन सकेको छैन । मेरो त्यही एउटा वाक्यले उसले मलाई प्रेममा घात गरी भन्ने सोचेर होला आज सम्म पनि उसले पनि मसगँ सम्पर्क गर्ने कोशिस गरेन ।
हो समयले घाउ निको पार्छ । तर घाउको गरिराइ अनुसार खाटो जीवनभर पनि बसिरहन सक्छ । मेरो त्यो प्रेमलाई म जीवनभर विर्सन सक्दिन । उसगँको विछोडका सुरुवाती दिनहरुले मलाई धेरै पीडा दिन्थ्यो । आज त्यस्तो पीडामा त छैन म । तर उसलाई विल्कुल विर्सेर म रहन सक्दिन । अनि उसको यादले जीवनलाई दुखी तुल्याएको पनि छैन । हो मलाई पनि चोट लागेको हो अब निको नहुने खाटो मात्र बाकी छ । दुनियाले देख्दा आज म सुखमा छु । मेरो आफ्नो परिवार छ । थाहा छैन उनी कहाँ कुन अवस्थामा छन् । यहि एउटा छटपटिले मलाई सुखी परिवार भएर पनि सन्तुष्टसँग भने बाच्न दिएको छैन । यो समाजको अस्वीकृतिले यसरी उसले अनि मैले पीडा भोग्नुपर्यो ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.