काभ्रे (पहिचान) बैशाख २१ – ‘यो लकडाउन कहिले खुल्छ ? खुलेपछि फेरि बन्द हुँदैन नि ?’ काठमाडौं लाजिम्पाटको एउटा रेस्टुरेन्टमा भेटिएकी आयना लामा (परिवर्तित नाम) ले सोधिन् ।
२६ वर्षे लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रकी एक तेस्रोलिंगी हुन् । आफ्नो ‘पार्टनर’ राघव साहसँग लाजिम्पाटमा कोठा भाडा लिएर बसिरहेकी लामा लकडाउन खुलेपछि काम गरेर भरपेट खान पाइन्थ्यो कि भन्ने आशामा छिन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको डेढ महिना हुन लाग्यो । नृत्यांगना लामाको कोठामा लकडाउनको पहिलो साता नबित्दै खाद्यान्न सकियो । खाद्यान्न सकिएदेखि उनले साथीहरूको कोठामा खाना खाइरहेकी छिन् ।
नेपालमा पहिलो पटक भएको मिष्टर गे हेन्डसमका उपाधी विजेता मकवानपुरका विश्वराज अधिकारी संचालक रहेको रेस्टुरेन्ट इन्क्लुसिभ ग्यालेक्सीमा उनी साँझको खाना खान गइरहन्छिन ।
लकडाउन भएसँगै अधिकांश घर परिवारबाट टाढा भएका यौनिक तथा लैंगिक अल्पसंख्यकका कोठामा अरु दैनिक रोजीरोटी गर्ने श्रमिकको जस्तैखाद्यान्न अभाव भएको गुनासो छ । त्यसो त असुरक्षित र असंगठित क्षेत्रमा काम गरेर छाक टार्ने यो समुदायलाई संकट परेको छ ।
लामाको जस्तै समस्या रहेको छ, सिन्धुपाल्चोक घर बताउने ज्वाला थापाको पनि । ‘स्टेज’ कार्यक्रममा नृत्य देखाएर जीविका चलाउने थापा बाँच्नै मुस्किल भएको सुनाउँछिन् । भन्छिन्, ‘कोठामा रासन छैन, कसरी बाँच्ने ?’
आफूलाई सेक्स वर्कर (यौनकर्मी) भनेर चिनाउने सुस्मा रिजाल पनि कोठामा खाद्यान्न सकिएपछि साथीहरूको कोठामा जान थालेकी छिन् । लकडाउनले आफ्नो रोजीरोटी नै खोसेको उनको दुखेसो छ ।
रिजाल भन्छिन्, ‘बाहिर निस्कन पाएको छैन । खाना खान साथीकोमा जानुपर्छ, रोजीरोटी सकियो, तनाव छ ।’
घरबेटीको कहर
कोठामा खाद्यान्न सकिएपछि खाना खोज्दै साथीको कोठामा जान पनि उनीहरुलाई सजिलो छैन । कोठाबाहिर निस्कनेबित्तिकै घरबेटीले गाली गर्न सुरु गर्छन् । अझ कतिपय घरबेटीले त मूलगेटमै ताल्चा पनि लगाइदिने गरेका छन् ।
सुदीप गौतम भन्छन्, ‘साथीहरूकोमा खाना खान गयो, फर्केर आउँदा घरबेटीले चुकुल लगाइदिएको हुन्छ ।’
गत ११ वैशाखमा गौतमका घरबेटीले बाहिर निस्केको भन्दै गेटमा ताल्चा लगाइदिए । घरबेटीसँग हारगुहार गरेपछि मात्र उनी खानाका लागि बाहिर निस्कन सके ।
भोको पेटमा घरबेटीको गाली र किचकिच सुनेर झन् तनाव हुने गरेको बताउँछिन् कृति गुरुङ ।
गुरुङ भन्छिन्, ‘बाहिर निस्क्यो, भित्र आयो गाली गर्छन् । उनीहरूजस्तो भरिपूर्ण छैनौँ हामी । पेट भर्न भए पनि साथीहरूको कोठामा जानैपर्यो ।’
यो समुदाय माथि घरबेटीको कठोर व्यवहार यत्तिमै सकिँदैन । सरकारले घरबेटीहरूलाई भाडा मिनाहा गर्न अनुरोध गरेको छ । तर, काठमाडौंमा आफ्नै घर भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय बाहेक घर, परिवारबाट टाढा रहेर भाडामा बसेकाहरुलाई भने भाडा नतिरे घरबाट निकाल्ने धम्की आउन थालिसकेको छ ।
सेक्स वर्कर रिजाल आफूलाई घरबेटीले भाडा तिर्न नसक्ने भए घर जाँदा हुन्छ भनेको बताउँछिन् । रिजालले एउटा कोठाको भाडा सात हजार रुपैयाँ तिर्नुपर्छ । ‘जसरी भए पनि भाडा देऊ भन्छन्, नदिए त निकाल्छन् होला,’ रिजालले भनिन् ।
लकडाउन खुलेपछि काम गरेर भाडा तिर्छु भन्दा पनि घरबेटीले नमानेको बताउँछन् ज्वाला थापा । भाडामा बस्ने थापा एक्लो भने होइनन, ‘दुईचोटि भाडा मागिसक्यो । अहिले काम छैन, पछि दिन्छु भन्दा पनि मानेका छैनन्,’
आधा भए पनि भाडा देऊ भनेर आफूलाई घरबेटीले अत्याएको सुनाउँछिन् गुरुङ । ‘भएको पैसा खाना किन्नै सकियो । आधा भए पनि भाडा ल्याऊ भनेको भन्यै छन्,’ गुरुङ भन्छिन्, ‘खानै मुस्किल भइरहेको वेला भाडा कसरी तिर्नु ।’
पैसा नभएर पानीसमेत किन्न नसकेको समयमा घरबेटीले भाडा मागेर मर्नु न बाँच्नु बनाएको सुनाउँछिन् लामा । ‘पैसा नभएर पानीसमेत किन्न सकेका छैनौँ, घरबेटीले भाडा माग्छ, हामी त अब मरे पनि भयो,’ लामा भन्छिन् ।
राहतमा विभेद
स्थानीय सरकारले खाद्यान्न अभाव भएकालाई राहत वितरण गरिरहेको छ । तर, स्थानीय सरकारको राहत यो समुदायमा नपुगेको गुनासो आउन थालेको छ । पुगेकै राहतमा पनि उनीहरूमाथि विभेद गरिएको छ ।
स्थानीय सरकारले राहतका लागि नागरिकता अनिवार्य गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरैले पहिचान अनुसारको नागरिकता पाउन सकेका छैनन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संविधानले पहिलो पहिचान दिएको यो समुदायका १३ सय जनाले अन्य लैंगिक पहिचानमा नागरिकता लिइसकेका छन् । महामारीको यो विश्व संकटको समयमा पनि आफूहरूमाथि नागरिकताका नाममा विभेद भएको गुनासो उनीहरुको छ ।
आकाश (परिवर्तित नाम)सँग नागरिकता थिएन । तर, उनका पार्टनरसँग भने नागरिकता थियो । राहत वितरण गरेको थाहा पाएपछि उनी आफ्नो नागरिकता बोकेर राहत लिन गए । ‘तर, राहत सकियो भन्दै हामीलाई दिएनन्,’ आकाश भन्छन्, ‘हामीलाई सकियो भने पनि अरूलाई भने दिइरहेको थियो ।’
सामान्य समयभन्दा संकटको समयमा आफूहरूमाथि विभेद थप बढेको बताउँछन् थापा । थापा भन्छन्, ‘अरूवेला पनि विभेद नै गर्थे । अहिले त झन् बढी नै विभेद गर्न थालेका छन् ।’
नागरिकता नहुनेले त झन् राहत नै पाएका छैनन् । लामा र उनका पार्टनरसँग नागरिकता छैन । नागरिकता नभएकै कारण उनीहरूले राहत पाएका छैनन् । ‘नागरिकता ल्याऊ भन्छन्, हामीसँग नागरिकता छैन,’ लामाले भनिन् ।
नागरिकता भएकामाथि पनि चरम विभेद भएको सुनाउँछन् मिष्टर गे हेन्डसम अधिकारी । ‘मैतिदेवीमा वीरगन्ज घर भएका साथी थिए । उनको नागरिकताको लिंग शीर्षकमा अदर (अन्य) लेखिएको थियो । अदर लेखिएकै कारण उनलाई राहत दिइएन । यहाँ बस्न नसकेपछि उनी हिँडेरै घर गए,’ अधिकारी भन्छन् ।
राज्य संयन्त्रले राहतमा विभेद गरेपछि यो समुदायका मान्छे मिलेर विभिन्न संघसंस्थासँग हारगुहार गरेर केही दिनलाई पुग्ने राहत जम्मा गरे । हारगुहार गरेर जम्मा गरेको राहत पनि सबैलाई नपुगेको बताउँछिन् रिया बोहोरा ।
स्वास्थ्य समस्या
पार्टनरसँग बसिरहेका २७ वर्षे सुदीप गौतम निरन्तर हर्मन लिइरहेका थिए । तर, लकडाउनले गर्दा उनले हर्मन लिन पाएका छैनन् । तेस्रोलिंगी पुरुषले सुईबाट हर्मन लिन्छन्, तेस्रोलिंगी महिलाले हर्मनको औषधि खान्छन् ।
डाक्टरले तोकेको समयमा हर्मन लिन नपाउँदा स्वास्थ्य समस्या देखिएको बताउँछन् गौतम । गौतम भन्छन्, ‘छिटोछिटो रिस उठ्ने, जिउ र ढाड दुख्ने समस्या हुन थालेको छ । कतिखेर त मर्छु कि जस्तो लाग्छ ।’
समयमै हर्मन लिन नपाउँदा कतिपयमा डिप्रेसनको समस्या देखिएको बताउँछन् अधिकारी । उनी भन्छन्, ‘कति साथीहरू त डिप्रेसनमा गएका छन् । मर्छु भन्दै म्यासेज गर्छन्, हात काट्न थालेका छन् ।’
एचआइभी संक्रमितहरूले पनि नियमित औषधि सेवन गर्न पाएका छैनन् । एचआइभी संक्रमितले औषधि लिन टेकु अस्पताल वा वीर अस्पताल जानुपर्छ ।
‘टेकुमा अहिले अरू औषधि पाइँदैन,’ गौतम भन्छन्, ‘वीर अस्पतालसम्म पनि पुलिसले जान दिएको छैन ।’
यस्तै आर्थिक अभावले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडसमेत किन्न नसकेको बताउँछन् उनीहरु । ‘चार घन्टाभन्दा बढी लगाउन नमिल्ने स्यानिटरी प्याड दुई दिनसम्म लगाउनुपरेको छ, कतिले त खाने पैसा नभएर त्यो पनि किन्न सकेका छैनन्,’ गौतमले भने ।
एक्लिएका एलजीबीटीआई
सामान्य अवस्थामै समेत विभेदको सामना गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यकले यो महामारीमा थप विभेदको सामना गर्नुपरेको छ । राहतमा विभेद, घरबेटीको कहर, स्वास्थ्य समस्या, भोको पेटमा परिवारको पनि साथ नपाउँदा आफूहरू एक्लिएको बताउँछन्, उनीहरु ।
३० वर्षीया वर्षा )परिवर्तित नाम)लाई लकडाउनले कोठामा एक्लै थुनिनुपरेपछि आफ्नो मान्छे कोही छैन जस्तो लाग्न थालेको छ । वर्षा भन्छिन्, ‘हामीलाई कसैले हेर्दैन । आफ्नो मान्छे कोही छैन जस्तो हुन्छ ।’ चित्त बुझाउन उनी भन्छिन्, ‘यस्तै हो, हाम्रो जीवन ।’
लकडाउनले काठमाडौंमा एक्लिएकी रिजाललाई वेलावेला घर जाउँजस्तो लाग्छ । तर, घरमा समेत आफ्नो सम्मान नहुने थाहा पाएकी उनी घर पनि जान सक्दिनन् । ‘घर जान पाएको भए त हुन्थ्यो जस्तो लाग्छ, तर घरमा पनि अब उस्तै त हो नि,’ रिजाल भन्छिन् ।
परिवार र समाजसँग नजिक हुन संघर्ष गरिरहेको यो समुदाय कोरोना कहरसँग एक्लै–एक्लै संघर्ष गरिरहेको छ । यो समुदायका अधिकांश व्यक्तिका परिवारलाई उनीहरूको पहिचान थाहा छैन । त्यसैले पनि उनीहरू परिवारबाट टाढा बसिरहेको बताउँछन । संकटको वेला परिवारको न्यास्रो लाग्ने गरेको बताउँछन् अधिकारी ।
लकडाउन बढ्यो भने त आफू पागल नै हुन्छु कि भन्ने शंका लाग्न थालेको सुनाउँछन्, थापा । ‘यो लकडाउन बढ्यो भने त म पागलै हुन्छु होला । राहत छैन। पानी किन्नेसमेत पैसा छैन,’ थापाले भने ।
यो समुदायले अहिले भोगिरहेको विभेदलाई कोरोनाभन्दा खतरानाक भन्छन् अधिकारी । अधिकारी भन्छन्, ‘हामीले भोगिरहेको यो विभेद कोरोनाभन्दा खतरनाक (डेन्जर) छ ।’
यो सामग्री नयाँ पत्रिकाको अनलाइन संस्करणबाट लिइएको हो ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.