स्थानीय तह निर्वाचन

७९ मध्ये ६६ दलको मात्रै उम्मेदवारी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शून्य

७९ मध्ये ६६ दलको मात्रै उम्मेदवारी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शून्य

काठमाडौं : स्थानीय चुनावमा एक लाख ४५ हजार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। एक लाख ५३ हजार २२० उम्मेदवार मध्ये आठ हजारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगमा दर्ता भएका ७९ मध्ये ६६ दलले मात्रै दलीय उम्मेदवारी दर्ता गराएका छन्। ६ वटा राष्ट्रिय मान्यता प्राप्त र २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन्।
त्यस्तै, ४० वटा राजनीतिक दल यस पटकको निर्वाचनमा भाग लिन दर्ता भएका थिए। आयोगका अनुसार दर्ता भएकामध्ये वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपाल नौलो जनवादी पार्टी, समावेशी लोकतान्त्रिक पार्टी, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद र राष्ट्रिय विकास पार्टीले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्।
दल बाहेकमा १२ हजार भन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। आयोगका अनुसार १ हजार ९४४ जना महिलाले स्वतन्त्रमा उम्मेदवारी दिँदा १० हजार ८४५ जना पुरुष स्वतन्त्र उम्मेदवार बनेका छन्।
७५३ स्थानीय तहमा ‘अन्य’बाट एक जनाको पनि उम्मेदवारी नपरेको आयोगले जनाएको छ। १ करोड ७७ लाख मतदाता मध्ये १८३ जना अन्य लैङ्गिक पहिचानका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका कुनै एक जनाले पनि ‘अन्य’ लैङ्गिक पहिचानमा उम्मेदवारी नदिएका आयोगले जनाएको छ।
२०७४ को चुनावमा तेस्रोलिंगी आनिक राणाले वडा अध्यक्षमा उम्मेदवारी दिएकी थिइन। यो पटक कुनै दलले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई उम्मेदवारी बनाएनन्।
दलको टिकट लिन नसकेका उनीहरू मध्ये कसैले पनि स्वतन्त्र उम्मेदवारी समेत दिएनन्। चुनावमा खर्च गर्न नसक्ने भएकाले उम्मेदवारी नदिएको नेपालमा म्याग्दीबाट पहिलो पटक तेस्रोलिंगी पहिचानको नागरिकता लिएका बद्री पुन बताउँछन्।
दाङका बलबहादुर चौधरीले नागरिकतामा अन्य भएका कारण दलको टिकट नपाएको भनेर चुनाव आउनै लाग्दा २०७८ माघ तिरमात्रै अन्यबाट महिलाको नागरिकता लिए। तर दलले अहिले पनि उनलाई टिकट दिएन। उनले स्वतन्त्रमा पनि उम्मेदवारी दिइनन्।
पाल्हीनन्दनको उपाध्यक्षमा गीता सैथवारको उम्मेदवारी : नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्
२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा तेस्रोलिंगी उल्लेख गरेर स्वतन्त्र उम्मेदवारी दिने नवलपरासीका गीता सैथवार पल्हीनन्दन गाउँ पालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन्। तर यो चुनावमा उनको उम्मेदवारमा तेस्रोलिंगी छैन। जनमत पार्टीबाट सैथवारले महिला उल्लेख गरेर उम्मेदवारी दिएकी छन्। आफू किन्नर भएको बताउने उनी नेपालमा किन्नर र अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक)लाई कुनै दर्जा नभएको गुनासो गर्छिन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवार सुचीमा उनका पतिको नाम रामजी सैथवार छ। पूर्व वडा अध्यक्ष समेत रहेका रामजीसँग गीताको विवाह भएको पल्हीनन्दनमा जनमत पार्टीबाट अध्यक्षका उम्मेदवार शम्भु गुप्ता बताउँछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.