मतदानमा ‘अन्य’ पहिचान

सहज रूपमा भोट खसाल्न पाएको प्रतिक्रिया, ७७ केन्द्रको मतदान स्थगित, पाँच दिनभित्र मतगणना सक्ने आयोगको कार्य योजना

सहज रूपमा भोट खसाल्न पाएको प्रतिक्रिया, ७७ केन्द्रको मतदान स्थगित, पाँच दिनभित्र मतगणना सक्ने आयोगको कार्य योजना

काठमाडौं : स्थानीय तह चुनावमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले सहज रूपमा मतदान गरेका छन्। निर्वाचन आयोगले ‘अन्य’ लैङ्गिक पहिचानका मतदातालाई छुट्टै लाइनको व्यवस्था भने गरेको थिएन।
तर, निर्वाचन अधिकृतसँगको समन्वयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले लाइन नबसी भोट खसाल्न पाएको नील हिरा समाजकी कार्यकारी निर्देशक मनीषा ढकालले बताइन।
आयोगले पहिलो पटक आफ्नो समुदायका मतदातालाई सहज रूपमा मत खसाल्ने व्यवस्था गरेको ढकालले बताइन।
‘२०७४ मा भएको चुनावमा महिला या पुरुष मध्ये कुन लाइनमा बसेर मतदान गर्ने भन्ने द्विविधा हुन्थ्यो,’ढकालले भनिन्,‘यो पटक लाइन नबसी सहज रूपमा मतदान गर्न पाइयो।’
आयोगले स्थानीय तह निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान भएको अनुमान गरेको छ। मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको आयोगले जनाएको छ।
प्रमुख आयुक्त दिनेश थपलियाले स्थगन भएका मतदान केन्द्रमा छिट्टै पुन मतदान गर्ने तयारी गरेको बताए। हिमाली जिल्ला, दुर्गम, आवागमनमा अप्ठ्यारा भएका जिल्लाहरूमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन गर्ने उनले जानकारी दिए।
आयोगले ७७ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ। १६ जिल्लाका २८ पालिकाका ४३ वटा स्थलका ७७ केन्द्रको मतदान स्थगित भएको प्रमुख थपलियाले जानकारी दिए।
राजनीतिक दल र उम्मेदवारकाबीचमा भएको आपसी विवादले उग्ररुप लिएपछि केही ठाउँमा प्रहरीले बल प्रयोग गरेको छ। हावाहुरी र पानी पर्दा कतिपय स्थानीय तहमा मतदाता उपस्थित नहुँदा मतदान स्थगित भएको थपलियाले बताए।
आयोगले मतदान केन्द्रमा त्रिपाल र टेन्टको व्यवस्था नगर्दा कतिपय स्थानीय तहमा हरिबिजोग भएको छ। दिउँसो हावाहुरी र पानी परेपछि देशका कतिपय मतदान केन्द्रको मतदान केहीबेर रोकिएको थियो।
सप्तरी, बझाङ, बाजुरा, बारा, काभ्रे र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मत पेटिकामाथि आक्रमण गरेका छन्। मतपेटिका जलाउने र मतपेटिका नै बोकेर खेतखेतै भाग्नेसम्मका गतिविधि भएका छन्। कतै मतपेटिकामा लात्ती प्रहार भएको छ भने कतै लाइन मिलाउन गाडेका बाँसका लौरी उखेलेर आक्रमण भएको छ।
देशभरका ४७ स्थानमा झडप तथा हुलहुज्जत हुँदा बल प्रयोग गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रौतहटको यमुनामाइ गाउँपालिका २ भिडियाही टोलमा स्थानीयले खेतैखेत बोकेर भागेका मतपेटिका प्रहरी फिर्ता ल्याइएको छ।
काभ्रेको पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमापनि मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित कार्यकर्ताहरूले कुर्सी टेबल सहित मतदानका सामग्री तहसनहस बनाएका थिए।
धनुषा र कैलालीमा एक व्यक्तिको नामबाट अर्कैले मतदान गरेको पाइएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रबाट फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य शिवोदेवी सदाका छोरा पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ त्रिनगर मावि मतदान केन्द्रको बुथ नम्बर ‘क’ मा नाम भएकी डेजी शाहको नामबाट मत खसिसकेको जानकारी गराउँदै मतदान अधिकृतले प्रवेश गर्न नै दिएनन्।
मतदानका क्रममा मतसंकेत सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। कानुन अनुसार मत सङ्केत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन कानुनमा व्यवस्था छ। सोही व्यवस्थाअनुसार किन कारबाही नगर्ने भनेर आयोगले सोधेको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।
‘अन्य’ लिंगीको छुट्टै लाइन नहुने, पुरुष वा महिलामा बस्न असहज लागे विशेष व्यवस्था

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.