संसदीय चुनाव

गठबन्धनमा सिट बाँडफाँडको झमेला, एमालेलाई एक्लै लड्नु पर्ने बाध्यता

गठबन्धनमा सिट बाँडफाँडको झमेला, एमालेलाई एक्लै लड्नु पर्ने बाध्यता

काठमाडौं : मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको चुनाव केन्द्रित अभियानमा जुटेका छन् राजनीतिक दलका नेताहरू। चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका दलहरू उम्मेदवार चयन गर्नु अगाडि गठबन्धनमा जोडिने कसरत गरिरहेका छन्।
पाँच दलीय सत्ता गठबन्धनबाट एमालेका तत्कालीन उपाध्यक्ष बामदेव गौतम समेत चुनाव लड्ने भए पनि अध्यक्ष केपी शर्मा ओली पार्टीलाई पहिलो दल हुनबाट कसैले रोक्न नसक्ने दाबी गरिरहेका छन्।
स्थानीय तह चुनावमा माधव नेपाल, झलनाथ खनालको एकीकृत समाजवादीका कारण नतिजाले एमालेलाई दोस्रो दलमा पुर्‍याएको छ। २०७४ को चुनावमा नेकपा माओवादी सहितका कम्युनिस्ट शक्तिसँग चुनाव लड्दा पहिलो दल बनेर ४१ महिना प्रधानमन्त्री बनेका ओलीमाथि पूर्व एमालेबाटै चुनाव जितेर देखाउन चुनौती थपिएको छ। माओवादीसँग सम्बन्ध विच्छेद गरेका ओलीले जैविक एमालेका नेताहरूलाई पाखा लगाएका छन् भने कोही पदका लागि एमालेबाट फुटेर बनेको दलमा होमिएका छन्।
माधव कुमार नेपाल, झलनाथ खनाल सहितका जैविक एमालेले नेकपा एकीकृत समाजवादी पार्टी खोलेर नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रिया नै सुरु गरिसकेको छ। वैशाख ३० मा भएको स्थानीय तह चुनावी परिणामले गठबन्धनमा दलहरू थपिँदै जाँदा मङ्सिर ४ को चुनाव एमालेको पक्षमा नआउने विश्लेषण पार्टी भित्रै चल्न थालेको छ। तर खरो स्वभावका झापाली ओलीले सत्ता गठबन्धनलाई देशद्रोहीको आरोप लगाएर चुनावमा पहिलो दल बन्ने दाबी सुनाउन छाडेका छैनन्।
उनीसँग जैविक एमालेका नेताहरूले छाडे पनि पूर्व माओवादीका केही नेताले साथ दिएका छन्। रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका पूर्व माओवादी एमालेमा छन्। उनीहरूको प्रभाव भने पार्टीभित्र या बाहिर सुषुप्त छ।
एमाले अध्यक्ष ओली एक्लै चुनाव लड्ने हिम्मत कोहीसँग नभएको बताएर गठबन्धन टुटाउन लागिरहेका छन्। दलका नेताहरू पनि गठबन्धन टुटाउन देशी विदेशी शक्तिको चलखेल भएको आरोप एकापसमा लगाइरहेका छन्। कोही चीन तिर ढल्किएको र कोही भारत,अमेरिकातिर ढल्किएको आरोप नेताहरूले सार्वजनिक कार्यक्रममै खेप्नु परेको छ।
एमसीसी, एसपीपीदेखि नागरिकता विधेयकलाई राष्ट्र घात भन्नेहरू कोही सत्तापक्ष त कोही प्रतिपक्षमा छन्। सत्तामा हुँदा सबै निर्णय राष्ट्रवाद हुने र प्रतिपक्षमा हुँदा सबै राष्ट्र घात देख्ने दलका नेताहरू मङ्सिर चारमा हुने चुनावमा होमिएका छन्। एक्ला एक्लै चुनावमा जाँदा बहुमत ल्याउन नसकिने निष्कर्षका साथ सत्ता गठबन्धनमा आबद्ध दल सिट बाँडफाँड गर्ने छलफलमा छन्। तर सिट सङ्ख्यामै अल्झिँदा गठबन्धनमा सहमति हुन सकेको छैन।
१६५ निर्वाचन क्षेत्र मध्ये नेपाली काँग्रेसले ९० सिटमा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले बाबुराम र बामदेवलाई भित्र्याएपछि बार्गेनिङ पावर बढाएर ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सिट सङ्ख्या यकिन गरेर भनेका छैनन्।
गठबन्धनको राष्ट्रिय जनमोर्चाले पाउने सिटको पनि टुङ्गो लागेको छैन। जनमोर्चाकी सांसद दुर्गा थापा सिट सङ्ख्यामा गठबन्धनमा विवाद नहुने दाबी गर्छिन्। नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी जनमोर्चाकी सांसद पौडेलले अझै पनि प्रतिगमनको खतरा रहेकाले चुनाव पछिसम्म पनि गठबन्धन कायम रहने बताउँछिन्।
बाबुराम र वामदेवलाई भित्र्याएको नेकपा माओवादी केन्द्रले गठबन्धनको काँग्रेससँग बार्गेनिङ बढाएपछि काँग्रेसले पनि लोकतान्त्रिक समाजवादी पार्टीलाई भित्र्याउने तयारी गरेको छ। पूर्व काँग्रेसी महन्थ ठाकुरलाई काँग्रेसमै फर्काउने प्रयास प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई भित्र्याइसकेको काँग्रेसले अब महन्थ ठाकुरको पार्टीलाई ल्याएर गठबन्धनसँगको बार्गेनिङ पावर बढाउने तयारी थालेको हो।
देउवाले महन्थको पार्टीले राखेका माग सम्बोधन गरेर नागरिकता विधेयक संसद्बाट पारित गराएर फकाइरहेका छन्। प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउन भने बाँकी छ।
गठबन्धन दलभित्र सिट सङ्ख्यामा कुरा नमिले २०७४ मा जस्तै माओवादी केन्द्र एमालेसँग मिल्न जाने शङ्का काँग्रेसलाई छ। त्यसैले गठबन्धन कार्यदलको बैठकले सिट बाँडफाँडको टुङ्गो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको काँग्रेस नेता समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
गठबन्धनविरुद्ध अर्को उपगठबन्धन बन्ने सम्भावना देखेपछि कार्यदल सिट सङ्ख्या बाँडफाँडको सहमति जुटाउन असफल बनेको छ। अब यो जिम्मा शीर्ष नेतृत्वले टुङ्गो लगाउनु पर्ने जिम्मा पाएका छन्।
काँग्रेस भित्रै लफडा
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि बुझाउने कार्यतालिका बनाएको छ। आयोगमा बन्द सूचि बुझाउन दलहरूले आ-आफ्ना पार्टी पार्टीमा छलफल सुरु गरेका छन्। एमालेले भदौ अन्तिमसम्म उम्मेदवार नाम टुङ्गो लगाउने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन्।
स्थानीय तहमा ३२७ पालिकाको प्रमुख जितेको काँग्रेसभित्र भने साठी चालिसको लफडा सुरु भएको छ। शेरबहादुर देउवासँग पार्टी सभापतिमा पराजित शेखर कोइरालाले आफ्नो पक्षका ४० प्रतिशत सांसद समानुपातिकको बन्द सुची र प्रत्यक्ष तर्फको उम्मेदवार पाउनु पर्ने माग गरेका छन्। शेखर समूहले सभापति देउवाविरूद्व खबरदारी सभा नै गरेको छ भने गुटगत भेला जारी राखेको छ।
१६५ निर्वाचन क्षेत्रलाई एक निर्वाचन क्षेत्र मानेर हुने समानुपातिक तर्फको बन्द सूचि बुझाउन दलहरूभित्र रस्साकस्सी चलिरहेको छ। दलहरूले पाएको मतका आधारमा ११० जना सांसद समानुपातिकबाट निर्वाचित हुन्छन् भने प्रत्यक्षतर्फका १६५ सांसद निर्वाचित भएर २७५ सदस्यीय प्रतिनिधि सभाको गठन हुनेछ। प्रतिनिधि सभाले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख चयन गर्नेछ। सरकारको नेतृत्व लिनका लागि १३८ सिट आवश्यक पर्छ।
काँग्रेस प्रत्यक्ष र समानुपातिकतर्फको मतका आधारमा एकल बहुमत ल्याउन गठबन्धनमा टुटाउन चाहँदैन। तर गठबन्धनका नाममा एकलौटी उम्मेदवार तय हुने भयले शेखर पक्षलाई छटपटी भने भएको छ।
वामपन्थीमा पहिलो हुने माओवादीको दाबी
गठबन्धनको नेकपा माओवादी केन्द्र पनि काँग्रेससँगको गठबन्धनबाट वामपन्थी दलहरूको पहिलो शक्ति बन्ने दाउमा लागिरहेको छ। शान्ति प्रक्रियापछि पहिलो संविधान सभा चुनावमा पहिलो दल बनेको माओवादी केन्द्रमा पूर्वमाओवादीहरूलाई भित्र्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिरहेका छन्। चुनावको मिति नजिकिँदै जाँदा प्रचण्डले राजनीतिक द्वन्द्वमा मारिएका राम वृक्ष यादवको २८ स्मृति दिवसमा पार्टी बिग्रेको सुनाउँदै अब सुध्रने मौका आएको बताएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading