संसदीय चुनाव

निर्वाचन आचारसंहिता : हेट स्पिच जस्ता भ्रामक टिप्पणी गर्न नहुने

निर्वाचन आचारसंहिता : हेट स्पिच जस्ता भ्रामक टिप्पणी गर्न नहुने

काठमाडौं : निर्वाचन आयोगले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका व्यक्तिहरूको भावना, इज्जत तथा प्रतिष्ठामा आँच आउने प्रचारप्रसार गर्न रोक लगाएको छ।
प्रतिनिधि र प्रदेश सभा चुनावका लागि आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारका कुनै किसिमका प्रचारप्रसार गर्न गराउन रोक लगाइएको छ।
राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले यस्ता व्यक्तिहरूको भावना, इज्जत तथा प्रतिष्ठामा आउन सक्ने प्रचारप्रसार गरे आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताले ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको छ। बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने र कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न नहुने आचारसंहितामा लेखिएको छ।
चुनावमा अन्य : समानुपातिक तर्फ दुई जना उम्मेदवार, मतदानमा प्राथमिकता दिइने
सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न आचारसंहिताले रोक लगाएको छ। ‘सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने,’आचारसंहितामा लेखिएको छ।
कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन हुँदैन। आफूलाई लाभ र अरू कसैलाई हानि नोक्सानी पुर्‍याउने र आम मानिसलाई झुक्क्याउने बदनियतका साथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे दुष्प्रचार मानिनेछ। तर, निर्वाचन सम्बन्धी रिपोर्टिङमा भएका गल्तीलाई दुष्प्रचार नमानिने आचारसंहितामा उल्लेख छ।
‘हिजडा’ भनेर सरापेका कांग्रेस मकवानपुरका सभापति लामाले मागे माफी, आचारसंहिता उल्लङ्घनमा परेन उजुरी
आचारसंहितामा द्वेषपूर्ण अभिव्यक्ति भन्नाले प्रत्यक्ष वा परोक्ष रूपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैङ्गिकता, उमेर, अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इङ्गित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढवा दिने किसिमका वचन, लिखत वा व्यवहार सम्झनु पर्ने लेखिएको छ।
आचारसंहितामा लेखिएको छ,‘मिथ्या सूचना भन्नाले निर्वाचन सम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानि नोक्सानी पुर्‍याउने नियत राखी वा नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी वा नबुझी सम्प्रेषित गरिएको भ्रामक सूचना वा जानकारी सम्झनु पर्छ।’
फेसबुक, मेसेन्जर, भाइवर, ट्विटर, युट्युब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक,, ह्वाटस एप, इमो, वीच्याट, लिङक्ड्इन, टमलर जस्ता सामाजिक सञ्जालबाट आचारसंहिता विपरीतका गतिविधि गर्न आचारसंहिताले बन्देज लगाएको छ।
निर्वाचन आचारसंहिता असोज १२ बुधवारदेखि लागू हुने निर्णय आयोगले गरेको छ। (३ः१५ मा थप गरिएको)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.