निर्वाचन आचारसंहिता

‘हिजडा’ भनेर सरापेका कांग्रेस मकवानपुरका सभापति लामाले मागे माफी, आचारसंहिता उल्लङ्घनमा परेन उजुरी

‘हिजडा’ भनेर सरापेका कांग्रेस मकवानपुरका सभापति लामाले मागे माफी, आचारसंहिता उल्लङ्घनमा परेन उजुरी

काठमाडौं : नेपाली कांग्रेस पार्टी कार्यालय मकवानपुरका सभापतिको कार्यकक्षमा गत मङ्गलवार भातृ संस्था तरुण दलले तालाबन्दी गर्‍यो। ताला लगाएकै समयमा पुगेका पार्टी कार्यकर्तालाई सभापति लामाले ‘हिजडा’ भनेर सरापेका थिए।
‘के हेरिरहेको हिजडाहरू’ भन्ने सभापति लामाको अभिव्यक्तिमा निर्वाचन आचारसंहिता आकर्षित हुने हल्ला चलेपछि बिहीबार शब्द फिर्ता लिँदै माफी मागेका छन्।
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मुखमा लामाले सार्वजनिक स्थलमा गालीगलौज गरेको भिडियो सार्वजनिक भएपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले विरोध जनाएको थियो।
देशको सबैभन्दा जेठो, प्रजातान्त्रिक र प्रमुख पार्टीको जिल्ला नेतृत्वमा रहेका व्यक्तिले असभ्य हर्कत देखाएको भन्दै आम तहमा पनि विरोध भएको समाचार हेटौडाका स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका थिए।
निर्वाचन आयोगले होच्याउने, अपमान गर्ने द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने निर्वाचन आचारसंहिता लागू गरेको छ।
आचारसंहितामा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नु पर्ने आचरणमा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न वा गराउन नहुने लेखिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको भावनामा आँच आउने गरी चुनाव प्रचार गर्न नपाइने, झोला बोक्न र ट्याटु खोप्न प्रतिबन्ध
वैशाख ३० मा हुन लागेको चुनावका लागि आयोगले जारी गरेको आचारसंहिता विपरीत अभिव्यक्ति दिएका लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई भेटेर आफूले बोलेको शब्द फिर्ता लिँदै माफी मागेका फ्रेण्ड्स हेटौडाका सदस्य रुयल सुनारले बताए।
सुनारका अनुसार सभापति लामाले आवेशमा बोलेको शब्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई ठेस पुगेको महसुस गर्दै भेटेरै माफी मागेको बताए।

सभापति लामाले कांग्रेसका कार्यकर्तालाई परिवारको सदस्य सम्झेर बोलेको शब्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई अपमान हुने गरी असर परेकोमा क्षमा मागे,’सुनारले लामाको भनाई उद्धृत गर्दै भने,‘आफूले यो समुदायलाई सधैँ सम्मान गर्ने, परिवारको सदस्य सोच्ने गरेको तर, आवेशमा आफूबाट गल्ती हुन पुगेको महसुस गरे।’
फ्रेण्डस हेटौँडाको कार्यालयमै पुगेर माफी मागेका लामाले स्थानीय तह निर्वाचनको घोषणापत्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समेट्न प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।
नेकपा एसले तेस्रोलिंगी तथा अल्पसङ्ख्यकलाई ध्यान दिने, जसपाले लिएन संविधानको जस
उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग अन्तरक्रिया समेत गरेका फ्रेन्ड्स हेटौँडाका सदस्य रुयल सुनारले जानकारी दिए। ‘आफ्नो गल्ती महसुस गरेर उहाँहरू आफै अफिससम्म आउँदा खुसी लाग्यो,’सुनारले भने,‘सम्बन्ध अझै राम्रो भएको महसुस भएको छ।’ एउटा अभियान बोकेर हिँडेको समुदायलाई विभेद नगर्दिन फ्रेण्ड्स हेटौँडाले अनुरोध पनि गरेको छ।
हेटौँडा उप–महानगरको मेयर गठबन्धनका अन्य दललाई नछोड्न नेतृत्वलाई दबाब दिने भन्दै काँग्रेसका स्थानीय कार्यकर्ताले मङ्गलवार पार्टी कार्यालयमा ताला लगाएका थिए। पार्टी अनुशासन विपरीत कार्यालयमा ताला लगाएको भन्दै सभापति लामाले कार्यकर्तालाई नालायक, हिजडा जस्ता शब्द प्रयोग गरेर सरापेका थिए।
लामाले बोलेको शब्दको आलोचना भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भयो भनेर उजुरी परेको छैन। माफी मागेको समाचारमा आए पनि आचारसंहिता उल्लङ्घन भयो भनेर उजुरी नपरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading