"/>
निर्वाचन

चुनावी गतिविधिको नियमन सामाजिक सञ्जालमार्फत, सञ्चारमाध्यमलाई पत्राचार गर्ने

चुनावी गतिविधिको नियमन सामाजिक सञ्जालमार्फत, सञ्चारमाध्यमलाई पत्राचार गर्ने

काठमाडौं : मङ्सिर ४ मा हुने चुनावको प्रचारप्रसार तीव्र भएको छ। उम्मेदवारहरू चुनाव जित्नु अगाडि नै फुलका माला लगाएर मत माग्न हिँडेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्।
लाइक र कमेन्ट बटुलिरहेका उम्मेदवारहरू जसरी पनि चुनाव जित्ने अभियानमा होमिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएका तस्बिर र भिडियोलाई धेरै जनासम्म पुर्‍याउन उम्मेदवारले बुष्ट गराइरहेका छन्।
चुनाव जितेको पाँच वर्षसम्म एकपटक पनि जनताको पिर व्यथा बुझ्न टोलसम्म नपुगेका उम्मेदवारहरू निर्वाचन नजिकिएसँगै मतदाताको चुलोसम्म पुगेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन्।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोहोरिन एमालेका योगेश भट्टराई मतदाताको भान्सामा जुत्ता लगाएर पुगे। युवाहरूसँग क्यारम बोर्ड खेले। एमालेकै गोकर्ण विष्टले कार्यकर्तामाझ मकै भटमास खाँदै गरेको तस्बिर राखे। एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले मोटरसाइकल चढेरै चुनाव प्रचार प्रसारमा लागेको तस्बिर राखिन।
निर्वाचन आचारसंहिता : हेट स्पिच जस्ता भ्रामक टिप्पणी गर्न नहुने
चोटिलो भाषण गरेर चर्चा कमाएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले खोला तरेको फोटोले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लाकुरीभन्ज्याङ पुगेर पिङ मच्चाएको तस्बिर राखेका छन्।
काँग्रेस महामन्त्री गगन थापाले फेसबुकमा भिडियो सन्देश राखेर अबको १० वर्षपछि राजनीतिबाट बिदा लिने घोषणा नै गरेका छन्। राप्रपाका रवीन्द्र मिश्र पनि सामाजिक सञ्जालबाटै वातावरण बनाउन सक्रिय छन्।
चुनाव जित्न उम्मेदवारहरूले फेसबुक, युट्युब, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाललाई हतियार बनाइरहेका छन्। फेसबुकमार्फत नै आफ्ना एजेन्डा सुनाइरहेका उम्मेदवारको तस्बिरमा लाइक र कमेन्ट गर्ने सरकारी कर्मचारी, शिक्षक लगायतलाई कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ।
आयोगले रेकर्ड राख्ने
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले फेसबुकको नियमन हुने बताए। ‘अब सामाजिक सञ्जाल फेसबुक मार्फत कसैले पनि मिसइन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पीचसँग रिलेटेड कुनै पनि कार्य त्यहाँ गर्नुभयो भने त्यसको नियमन हुन्छ,’उनले भने,‘कारबाहीको विषय यहाँ उल्लेख नगरौँ,नियमनपछि हुने जे हो त्यही हुन्छ।’
निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सामाजिक सञ्जालमार्फत हुने गतिविधिको रेकर्ड राखेको जनाएको छ। फेसबुकको मेटा कम्पनीसँग आयोगले समझदारी नै गरेको छ भने टिकटक र ट्विटरसँग सहकार्यको हात फैलाइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्। सामाजिक सञ्जालमा उम्मेदवारले गर्ने खर्चको हिसाब आयोगले राख्न थालेको छ।
प्रमुख आयुक्त थपलियाले आयोगको रेकर्ड र उम्मेदवारले बुझाउने खर्च विवरणको रिपोर्टमा तलमाथि भए चुनावसकिएपछि कारबाही गर्ने चेतावनी दिए। ‘निर्वाचन सकिएको एक महिनाभित्र खर्चको विवरण बुझाउनुहुन्छ,’उनले भने,‘त्यो विवरण पेस गर्दा हामीले फेला पारेको तथ्यांकभन्दा फरक पर्‍यो भने कारबाहीको विषय बन्न सक्छ।’
भ्रामक हल्लाले दुर्व्यवहार र हिंसा
आयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको अनुगमन एवं नियमन गर्न खोलेको प्रेस अफिसमा रहेका सेना र प्रहरीका प्रतिनिधिबारे प्रष्टीकरण पनि दिँदै आएको छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न प्रेस अफिसमा सेना र प्रहरीका साइबर ब्युरोका प्रतिनिधिलाई विज्ञको रूपमा राखेको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएपछि आयोगले दिनहुँ जसो प्रष्टीकरण दिँदै आएको हो।
प्रमुख आयुक्त थपलियाले आमसंचारमाध्यमहरुले आफैँ स्वअनुगमन र स्वनियमन गर्नुपर्ने बताए। ‘तपाईँहरू कहाँ चिठ्ठी पक्कै आउँछ,यो निर्वाचनमा स्वनियमन र स्वअनुगमनको प्रणाली अवलम्बन गरेर निर्वाचनलाई सहयोग गरिदिनुहोला भन्ने चिठ्ठी आउन सक्छ,’प्रमुख आयुक्त थपलियाले भने,‘अरू खाले चिठी हामीबाट अपेक्षा नगर्दा राम्रो।’
निर्वाचनको बेलामा प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यमका निम्ति छुट्टै आचारसंहिता जारी गरेर काम गर्न सक्ने व्यवस्था छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बसेर काम गरिसकेका प्रमुख आयुक्त थपलिया यसबारे जानकार छन्। चुनावको मौकामा चौका हान्ने उम्मेदवारले मतदातालाई प्रयोग गरे जस्तै आयोगले पनि सामाजिक सञ्जालका नाममा आमसंचारमाध्यमहरुलाई अनुगमन र नियमनको नाममा थ्रेट दिन खोजेको भन्दै विरोध भइरहेको छ। प्रमुख आयुक्त थपलियाले पनि त्यही आशङ्कालाई बल पुग्ने अभिव्यक्ति दिँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.