तेस्रोलिंगीमाथि कुटपिट

भ्रामक हल्लाले दुर्व्यवहार र हिंसा

भ्रामक हल्लाले दुर्व्यवहार र हिंसा

सिराहा : सिराहामा बच्चा चोरको बिगबिगी भएको हल्ला फैलियो। स्थानीयले बाबा जी टाइपका, सडकतिर बस्ने, केटा केटी जस्तो बनेर हिँड्नेलाई देख्यो कि कुटपिट गर्न थाले।
विष्णुपुर गाउँपालिका लक्ष्मीपुर चोकमा दुई जना तेस्रोलिंगीमाथि कुटपिट भयो। कुटपिटको भिडियो सामाजिक सञ्जालमा पोस्ट हुन थाले। भिडियो हेरेर पीडितले कारबाहीको निवेदन दिए।
एक जना पक्राउ परे भने सात जना अझै फरार छ। थप अनुसन्धान भइरहेको र फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ।
प्रहरीले तेस्रोलिंगीलाई रेस्क्यु गरेको तस्बिरसहित फेसबुकमा मकवानपुर हेटौडाका ध्रुवकुमार दुलालले ‘जनहितको लागि जारी नेपालको तराईतिर बच्चा चोरको बिगबिगी छ। सक्दो सेयर गरी सचेत बनौँ आज पुलिसले समातेको हो’ भन्ने स्ट्याटस पोस्ट गरे।

फेसबुकको स्ट्याटसलाई स्क्रिन सट गरेर नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले ‘ध्रुवकुमार दुलालजी यिनीहरूले बच्चा चोरेको प्रमाणित गर्नुहोस् कुन दिन कसको बच्चा चोरे के अपराध गरे के तपाइसँग प्रमाण छ’ भनेर पोस्ट गरिन्। शङ्काको भरमा आरोप लगाई मान्छेमाथि गरेको अमानवीय दुर्व्यवहार र हिंसाले सम्पूर्ण तेस्रोलिंगीको आत्म सम्मानमा चोट पुगेको र मन रोएको गुरुङले स्ट्याटसमा व्यक्त गरिन। उनले यस्ता अपराध सहेर बस्न नहुने पनि उल्लेख गरिन्।
फरक लैङ्गिक पहिचान भएकै आधारमा निराधार आरोप लगाई कुटपिट गर्ने अधिकार कसले दियो? उनले प्रश्न गरेकी छन्। ‘उहाँहरूप्रति भएको अन्यायविरुद्ध हामी जहाँ गए पनि आवाज उठाउँछौ जे गर्न पनि तयार छौँ’उनले चेतावनी दिइन।

दुलाल र गुरुङको स्ट्याटसलाई स्क्रिन सट गरेर नील हिरा समाजका उपनिर्देशक रहेका सञ्जय शर्मा (रोजन काठमाडौं)ले फेसबुकबाटै घटनाको वास्तविकता नबुझी यस्ता पोस्टहरू नगरिदिन अनुरोध गरे। यो तस्बिरमा भएका व्यक्तिहरू लहानका तेस्रोलिंगीहरु भएको र उनीहरू वास्तविक दोषी नभएको लेखे।
दुलालले आफ्नो स्ट्याटस स्क्रिन सट भएर सामाजिक सञ्जालमा फैलिएपछि हटाए। ‘एक जना साथीले यी त बच्चा चोर होइनन्, तेस्रोलिंगी हुन् भनेपछि स्ट्याटस हटाए,’उनले पहिचानसँग भने,‘तराईमा बच्चा चोरको बिगबिगी भएको हल्ला सुनेको थिए, तर साथीले भनेपछि थाहा पाए त्यो फेक न्युज रहेछ।’
उनले स्ट्याटसमा तेस्रोलिंगी लेखेका थिएनन्। तस्बिर कुटपिटमा परेका तेस्रोलिंगीको राखेका थिए। ‘मलाई उनीहरू तेस्रोलिंगी भन्ने थाहा थिएन,’उनले भने,‘पछि टेलिकमकै साथीले भनेपछि स्ट्याटस नै हटाइदिए।’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले उनको स्ट्याटस स्क्रिनसट गरेर दिएको चेतावनी र अनुरोधबारे भने आफूलाई जानकारी नभएको उनले बताए।
कुटपिट तेस्रोलिंगीमाथि समाचारमा पारलैंगिक

घटना भदौ २६ गतेको हो। नयाँ पत्रिका दैनिकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमाथि बच्चा चोरको आरोपमा कुटपिट भएको समाचार प्रकाशित गर्‍यो। नील हिरा समाजले लहानमा पत्रकार सम्मेलन गरेर तेस्रोलिंगीमाथि कुटपिट भएको जानकारी दिएपछि आएको हो समाचार।
घटनापछि नील हिरा समाजले बच्चा चोर भन्दै दुई जना मुन्नी किन्नर र चन्दा किन्नर नाम गरेका तेस्रोलिङ्गी माथि निर्घात कुटपिट गरेको विज्ञप्ति निकाल्यो।

‘आज नील हिरा समाज लहान शाखा कार्यालयले पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा थप छानबिन गरी अपराधीहरू पत्ता लगाई आवश्यक कानुनी कारबाही गर्न निवेदन दर्ता गराउँदै हुनुहुन्छ,’समाजको फेसबुकमा लेखिएको थियो।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संस्था नील हिरा समाजले कुटपिटमा पर्ने तेस्रोलिंगी भएको पत्रकार सम्मेलन र विज्ञप्ति निकालेर जानकारी दिए पनि सेतोपाटी अनलाइनमा मुन्नी किन्नर र चन्दा किन्नर पारलैंगिक भनेर समाचार प्रकाशित भयो। ‘फेसबुकमा बच्चा चोरी हुने अफवाहको आतङ्क!’ शीर्षकमा प्रकाशित सेतोपाटीको समाचारमा मुन्नी र चन्दालाई पारलैंगिक पहिचान दिइयो।
बच्चा चोरेको आरोपमा लैङ्गिक अल्पसङ्ख्यकमाथि कुटपिट
नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मात्रै उल्लेख छ। समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी लगायतका व्यक्तिले संवैधानिक प्रावधान अनुसार आफूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्दै आएका छन्।
म तेस्रोलिंगी होइन : रुक्शाना
विद्यालय तहको शिक्षा र नील हिरा समाजमा काम गर्दासम्म सुरुमा आफूलाई तेस्रोलिंगी भनेर चिनाएका रुक्शाना कपालीले अहिले आफू पारलैंगिक भएको पहिचान दिइरहेका छन्। पारलैंगिक पहिचानमा कपालीले एड्भोकेसी गर्दै आएका छन्। उनले छुट्टै संस्था खोलेर पारलैंगिकको वकालत गर्दै आएका छन्।
कुटपिट गर्नेहरूमाथि अनुसन्धान जारी : प्रहरी
अनाहकमा तेस्रोलिंगीलाई कुटपिट गरेको आरोपमा मदन महतो पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए। ‘जिल्लामा बच्चा चोरको हल्ला फैलिएको १५ दिन नै भएको थियो,बाबा जी टाइपका र सडक पेटीमा बस्नेलाई कुटपिट हुन थालेको सूचना आएको थियो,’प्रहरी नायव उपरीक्षक बुढाथोकीले पहिचानसँग भने,‘हल्ला हल्लाकै भरमा बच्चा चोरको आरोप लगाएर अनाहकमा तेस्रोलिंगीलाई कुटपिट भएछ।’
उनले घटनाको सूचना आउने बित्तिकै प्रहरी टोली गएर रेस्क्यु गरेको बताए। कुटपिटबाट घाइते भएका तेस्रोलिंगी मुन्नी किन्नर र चन्दा राउतले भोलिपल्ट प्रहरी कार्यालयमा कारबाहीको निवेदन दिए। सुन र पैसा समेत हराएको निवेदनका आधारमा मदन महतोलाई पक्राउ गरे पनि अरू सात जना फरार रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका महतोलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको उनले बताए। ‘अभद्र व्यवहारमा थप अनुसन्धान भइरहेको छ,’उनले भने,‘अनुसन्धान सकेर फाइल जिल्ला प्रशासन कार्यालयमा बुझाउँछौ।’ प्रशासन कार्यालयले मुद्दाको छिनोफानो गर्ने उनले बताए।
इलाका प्रहरी कार्यालय विष्णुपुरले केटा मान्छे केटीको भेषमा आएर बच्चा अपहरण गर्ने हल्लाका कारण तेस्रोलिंगीमाथि कुटपिट भएको बताएको छ। प्रहरीले १५ दिन चलेको हल्ला अहिले हराएको जानकारी पनि दिएको छ। ‘भ्रामक हल्लाका कारण जिल्लामा एउटा घटना भयो,’डिएसपी बुढाथोकीले भने,‘अहिले त्यस्तो हल्ला छैन,वातावरण सहज छ।’
कुटपिट हुने डर
विष्णुपुर गाउँपालिका लक्ष्मीपुर चोकमा दुई जना तेस्रोलिंगीलाई बच्चा चोरको आरोपमा कुटपिट भएपछि अरू तेस्रोलिंगी डराएर बाहिर निस्कन नसकेको जीवन ज्योति समाज सिराहाका कार्यक्रम संयोजक लक्ष्मेश्वर यादवले बताए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्ने समाजका कार्यक्रम संयोजक यादवले पहिचानसँग भने,‘तेस्रोलिंगीको ड्रेसअप नै बेग्लै हुन्छ, उनीहरू बाहिर निस्कन अप्ठ्यारो मानिरहेका छन्।’
उनका अनुसार सिराहामा नौ हजारको सङ्ख्यामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्ति छन्। ‘उनीहरू सबै खुलेका छैनन्,’यादवले भने,‘खुलेर आउनेको सङ्ख्या पाँच हजार भन्दा धेरै छ।’
तेस्रोलिंगी देख्ने बित्तिकै बच्चा चोरको आरोप लगाएर कुटपिट भएपछि आफूहरू पनि सजग भएको यादवले बताए। ‘अफिसको परिचय पत्र देखाएर तेस्रोलिंगी हौँ भन्दा भन्दै चार पाँच सयको सङ्ख्यामा निर्घात कुटपिट भयो,’उनले भने,‘त्यसपछि अलि अप्ठ्यारो भएको छ, हामी सजक भएका छौँ।’
गाउँपालिकाको वडा नम्बर ५ लक्ष्मीपुरका वडा अध्यक्ष महेश रायमाझीले घटना भएको दिन आफू विराटनगरमा रहेको र थप जानकारी नभएको बताए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई घर बाहिर निस्कन अप्ठ्यारो भएको विषयमा भने उनी बोल्न चाहेनन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading